१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


दुबईबाट ल्याइएको ३२ किलो सुनसहित तीन पक्राउ, यसरी भित्र्याइयो सुन (भिडियोसहित)


0
Shares

काठमाडौंको गौशालाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले बाँकेका गोपालबहादुर शाही, जनकपुरका सन्तोष काफ्ले र मोरङका दीलबन्धु थापालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले दुबईबाट अवैधरुपमा ल्याइएको ३२ किलो ८९ ग्राम सुन बरामद गरेको छ ।

बुधबार दुबईबाट नेपाल आएका शाहीले हेलिकोप्टरको पाटपूर्जाभित्र कालो टेप र कार्बन पेपरले बेरेर सुन भित्र्याएको प्रहरीले जनाएको छ ।

१०–१० तोलाको २८२ ओटा सुनको बिस्कुट, सुन र ह्वाइट गोल्डको १९ ओटा औंठी र १८ ओटा सिक्री प्रहरीले बरामद गरेको छ ।

बुधबार एअर अरेबियाको विमानबाट नेपाल आएका शाहीले दुबई विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन सफलतापूर्वक ‘पास’ गराएपनि विहीबार उक्त सुन अन्यत्र लैजानेक्रममा गौशालाको पिंगलास्थानबाट शाही र अरु दुईजना समातिएका हुन् ।

सीआइबी प्रमुख डीआइजी नवराज सिलवालले डलरको अभावमा सुनको तस्करी हुने गरेको पाइएको बताएका छन् ।

हवाईमार्गबाट अवैध सुन यति ठूलो मात्रामा भित्रिएको पहिलोपटक भएको पनि प्रहरीले जनाएको छ ।

उक्त सुन कसको हो भन्ने खुलिसकेको छैन ।

भिडियो हेर्नुहोस्