
-गणेश बानियाँ, ईमेज
रग्दा गाविसमा टेलिफोन सुविधा नहुँदा स्थानीयलाई पाँच घण्टासम्म पैदल हिँडेरै खबर पुर्याउनुपर्ने बाध्यता छ । देशका सबै गाविसमा टेलिफोन सेवा विस्तार गरेको दाबी सरकारले गर्ने गरेको छ
तर जाजरकोटको उत्तर–पूर्वी रग्दामा फोन सेवा नहुँदा स्थानीयले सास्ती पाउने गरेका छन् । रग्दा गाविसका तात्र, बासकोट, घरङ्गा, रावतगाउँ, ध्यारगाउँ, रोली, चौखा लगायतका बासिन्दाले अहिलेसम्म टेलिफोनको सुविधा उपयोग गर्न पाएका छैनन् ।
यहाँका बासिन्दालाई एउटा गाउँबाट अर्को गाउँमा खबर पुर्याउन तीन घण्टादेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ ।
गाउँमा सञ्चारको आधारभुत माध्यम रेडियो र टेलिफोन सेवा नहुँदा यहाँका बासिन्दा गाउँमै रहेको स्वास्थ्य संस्था, प्रहरी कार्यालय, पशु सेवा कार्यालय र गाविसबाट पाउने सेवासुविधाबाट वञ्चित भएका छन् ।
सरकारको नयाँ कार्यक्रम तथा नीति नियमका बारेमा सेवाग्राही र सेवा प्रदायकबीच सञ्चार सम्पर्क नहुँदा समन्वयको समस्या पर्ने गरेको छ ।
सेवा प्रदायक र सेवाग्राहीबीचको समस्याको अभावकै कारण कतिपय काम गर्नसमेत समस्या भएको प्रहरी निरीक्षक गणेशमान खड्का बताउँछन् ।
स्थानीयबासिन्दाले पटकपटक टेलिफोन सेवा विस्तार गर्न माग गर्दै आएका छन् । तीन वर्षदेखि गाउँ परिषद्मा फोन सेवाका लागि टावरको माग गर्दासमेत सुनुवाई नभएको स्थानीय राजनीतिकर्मी नेत्रबहादुर सिंह बताउँछन् ।
सरकारी संघसंस्थाबीच नै समन्वय नहुँदापनि स्थानीयले सास्ती बेहोर्नुपरेको छ । गाविसले वितरण गर्ने सामाजिक सुरक्षा र वृद्धभत्ता लिन ४/५ घण्टा हिँडेर सम्बन्धित ठाउँमा पुग्दा पनि रित्तो हात फर्कनुपरेको गुनासो स्थानीयको छ ।
स्वास्थ्य सेवा पाउनसमेत स्थानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी छन् या छैनन् भन्ने बारेको जानकारी बिनै सेवाग्राही पुग्दा रित्तो हात फर्कनु परेको छ ।
जाजरकोटको रग्दा गाविस जस्ता विकट क्षेत्रमा सेवा प्रदायक संस्थाहरुको आँखा पुग्न सकेको छैन । त्यस्ता विकट क्षेत्रका सर्वसाधारणमाझ सेवा विस्तार गर्न सरकारले नै आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्