
दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्यचौकीबाटै गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई ‘हजुरको गर्भ जाँच गर्ने दिन आयो’ भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए ।
गर्भवती महिलालाई पाँचपटक स्वास्थ्यचौकीले फोन गर्ने गर्दछ । गर्भवती भएको ४ महिना, ६ महिना, ८ महिना, ९ महिना र गर्भवतीलाई सुत्केरी हुने मिति पुग्यो भने स्वास्थ्यचौकीले फोन गर्ने गरेको छ ।
‘सुरक्षित मातृशिशु अभियानअन्तर्गत् स्वास्थ्यचौकीले यो सेवा केही महिना पहिलेदेखि सुरु गरेको हो, यसले गर्दा पछिल्लो समयमा गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ’–रावतले भने ।
त्यसैगरी, गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कंदा उपहारस्वरुप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की पनि दिने गरिएको छ ।
यतिमात्र होइन, स्वास्थ्यचौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिने गरेको छ । उनीहरुलाई स्वास्थ्य संस्थामा बस्दा खाजाकोसमेत व्यवस्था गरेको छ ।
घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातौं दिन घरमा नै पुगेर आमा र बच्चाको स्वास्थ्यकर्मीले चेकजाँच गर्ने व्यवस्था मिलाएको रावतले बताए ।
चेकजाँच गर्न जाने स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्यचौकीले खाजाको व्यवस्थासमेत मिलाएको छ ।
रावतका अनुसार गर्भवती र सुत्केरी महिलाका लागि लाग्ने यो खर्चको व्यवस्थापन स्वास्थ्यचौकीले आन्तरिकरुपमा आफैं व्यवस्था गर्ने गर्छ ।
‘यो सेवाका लागि हामीलाई कतैबाट बजेट आउँदैन, स्वास्थ्यचौकीले सन्चालन गरेको एम्बुलेन्सको आम्दानीको केही प्रतिशत र अन्य जनस्वास्थ्य र स्वास्थ्यचौकीको सहकार्यको खाताबाट संकलन भएको रकमबाट गर्भवती र सुत्केरीका लागि खर्च व्यवस्थापन गरेका छौं’–रावतले भने ।
योसँगै हाल स्वास्थ्यचौकीमा सुत्केरी गराउन आउनेको संख्यामा पनि बृद्धि भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्