
-हरिविनोद अधिकारी
भन्यो रे कृष्णले कि हे अर्जुन तिमी फलको आशा नगरेर आफ्नो काम पो गर न । भाग्य, कर्म र परिणामको पुञ्ज हो मान्छे । न भाग्यमात्रले हुन्छ, न कर्मले मात्र हुन्छ र न परिणाम चाहँदैमा आफूले चाहेजस्तो हुन्छ । कसैले चाहेर पनि हुँदैन, नचाहेर पनि हुँदैन र नचाहँदैमा हुनुपर्ने कुरा नभई पनि छोड्दैन र नहुनुपर्ने कुरा चाहँदैमा हुन पनि सक्दैन । तर मान्छेद्वारा नै यी सबै कुरा सम्पादन हुन्छन् । यिनै हुन् मान्छेका विशेषता अर्जुन । तिमीलाई केको विषाद आइलाग्यो ? यसो केके भन्दै थियो कृष्ण , जेठाजुले सञ्जयलाई सोध्नु भयो–होइन, के भन्छ यो वसुदेव पुत्र ? कुरो बुभ्mने नै गर्दैन त ? अनि अर्जुन के गरिरहेको छ त सञ्जय ?
एकछिन अघिमात्र सञ्जयले सबै योद्धाहरुको व्यक्तिगत विवरण दिँदै थिए, कस्को छोरो, कतिओटा युद्धमा कहिले जितेको, कहाँ कोसँग शिक्षा लिएको आदि आदि । भन्नमात्र जेठाजु दृष्टिविहीन हुनुहुन्छ, तर सबै थाहा छ र स्मृति कस्तो तगडा छ भने नाम भन्ने बित्तिकै त्यो योद्धाका बाबु, बाजे, घरपट्टि, मावल पट्टि सबैको विवरण उहाँले पो सञ्जयलाई सम्झाउनु हुन्छ त भनेको ।
सञ्जयले विनम्रताका साथ भन्ने गर्थे-महाराज, मलाई मात्र जे देखिन्छ युद्धभूमिमा , त्यसको मात्र विवरण दिनु भनिएको छ । न त म त्यो भन्दा बढी भन्न सक्छु, न त त्योभन्दा कम भन्नसक्छु । न विवेचना गर्न सक्छु , न भविष्यका वारेमा भन्न सक्छु , न अतीत नै । वर्तमान त्यो पनि त्यही कुरुक्षेत्रमा भएको युद्ध विवरणमात्र । त्यो पनि महाराजलाई मात्र । गान्धारीलाई पनि महाराज भएको ठाउँमा जो जो आउँछन् तिनलाई मात्र सुनाउने मेरो कर्तव्य हो । सुनाउँछु ।
जेठाजुलाई परिणाम थाहा थियो जस्तो गरी खुइय्य गर्दै भन्नुभयो–यो कृष्णले त बरबाद नै पार्छ कि क्या हो हँ ?आफू हतियार पनि लिन्न भन्छ अनि हतियार फालेर नलड्ने भन्ने मेरो भाइको छोरालाई कर्तव्य पूरा गर तिमी भन्छ । के कर्तव्य पूरा गरोस् त्यो अर्जुनले, बिचरा । बाबुको त स्याहार राम्रो पाएन, सधैँ दुःखमा हुक्र्यो । तैपनि कसो कसो द्रोणाचार्य गुरुसँग धनुषवाण हान्न सिक्यो । भन्थे दुर्योधनहरु कि कर्णले मात्र अर्जुनलाई हराउन सक्छ । सक्न त निषाद कुमार एकलव्य पनि अर्जुनसँग लड्न सक्ने थियो रे, तर गुरुले खोइ किन हो, त्यसको दाहिने हातको बुढी औँलो नै गुरु दक्षिणा भनेर माग्नु भयो रे ।
अँ भन त सञ्जय , अहिले अर्जुन के गर्दैछ अनि कृष्ण के भन्दैछन् ? सञ्जयले आँखा खोइ कता हो हेर्दै भन्दै थिए–कृष्णले भन्यो रे अर्जुन , समयभन्दा ठूलो कोही पनि छैन । हामी सबै निमित्त हौं । आज तिमीले यो युद्ध नगरे पनि कसैले त यो सम्पादन गर्छ नै । यत्रा मान्छे जम्मा भएका छन् , के तिनलाई थाहा छैन र यहाँ को को जम्मा भएका छन् भनेर ? सबै लालायित छन् यो धर्मयुद्धलाई सफल गराउन । भाग्य, कर्म र परिणामको समष्टिरुप नै यो युद्धको सफलता हो । युद्ध त सुरु भएकै छ, अस्तित्वको लडाईं सुरु भएको छ । तिमी अस्तित्वका लागि कत्रा कत्रा अपमान सहेका छां । जब बेला आयो परिणामको आशा नगरिकनै कर्म सम्पादन गर्नेबेला, त्यो बेलामा तिमी किन लाछीजस्तो भएर अलमल्लमा परेका छौ । भन्दै थियो रे कृष्णले कि फलको आशा त गर्दै नगर तर त्यसको अर्थ कर्म गर्न नै छोड्नु भनेको चाहिँ होइन । अनि जेठाजु कड्किएर भन्न थाल्नुभयो-यो गाईको गोठमा बस्ने गोठालोलाई के थाहा युद्ध भनेको ? कहाँ एघार अक्षौहिणी सेना , कहाँ सात अक्षौहिणी सेना । त्यसैले अर्जुनले डराएर नलड्न खोजेको, तर यो ग्वाला त केके भन्छ भन्छ ? वास्तवमा कंशले ठिकै गर्न खोजेको रहेछ यसलाई सानैमा सिध्याएर आफू सुरक्षित हुनका लागि । कंश त सुरक्षित हुन सकेन , जरासन्ध पनि सुरक्षित हुन सकेन । अब मेरो दुर्योधनलाई समाप्त पारेरमात्र यसले शान्तिको सास लिनेवाला जस्तो छ। अर्जुनलाई किन उचाल्छ हँ सञ्जय यो छट्टु ? मलाई आजैदेखि यो मान्छे अब मन पर्न पो छाड्यो । तर के गर्नु? मेरा भतिजाहरु यसैेले भनेको मात्र मान्छन् । खोइ भन्दैन त , युद्ध छाडौँ भनेर त ? कि भन्यो हँ सञ्जय, सुन त राम्रोसँग । यदि यो कृष्णले भन्ने हो भने त मेरा भतिजाहरुले राज्य त के यो सँसार नै छोड्छन् ।
वास्तवमा व्यास आउनु भएको थियो अलि पहिले यसो भन्न कि अब युद्धको तयारी हाम्रा सन्तानले पूरा गरे । लड्ने नै भए । यदि तिमीले, धृतराष्ट्रले आफ्ना छोराहरुलाई तह लगाएको भए पहिलेदेखि नै , सायद यो युद्ध टथ्र्यो होला । तर जे हुने हो हुन्छ हुन्छ । अब यो युद्ध हेर्नका लागि म तिमीलाई दिव्य चक्षु दिन्छु । यस्तो युद्ध न भयो, न हुनेछ । त्यसैले म तिमीलाई दिव्य शक्ति दिन्छु । तर जेठाजुले भन्नु भयो रे–महामने, म यसै त आँखा देख्ने होइन, त्यो सन्तानहरुको विनाश हेर्न किन चाहियो मलाई ती दिव्यशक्ति ? अब सँसारमा केही बाँकी रहने छैन । सबै मेरा छोराहरुको विरुद्धमा होलान् । पितामह पनि हुुनुहुन्छ दुर्योधनसँग तर मन जति पाण्डुपुत्रहरुसँग छ भन्दछन् शकुनिहरु । भैगो मलाई चाहिँदैन त्यो युद्ध विभीषिका हेर्ने क्षमता , मलाई त यो युद्ध नै नभए हुन्थ्यो पो भन्ने लागेको छ त पिताजी । जब जेठाजु एक्लै भेट्नु हुन्थ्यो व्यासलाई , बाबु छोराको जस्तै वार्तालाप हुन्थ्यो रे दिदीले भन्नु भएको । तर जब औपचारिकतामा भेट हुन्थ्यो, व्यासले पनि राजालाई जस्तै व्यवहार गर्ने अनि जेठाजुले पनि राज्यको अरु योगीलाई जस्तै आदर सत्कार गर्ने तर आप्mनो पदअनुसार मात्र । व्यासले भनेको कुरालाई सिधै काट्नु त हुन्नथ्यो तर मनमा कता कता पाण्डुलाई राजा बनाउने त यिनै बाबु त हुन् हजुरआमालाई उचालेर भन्ने , अनि भीष्मसँग अलि बढी नै रुष्टता देखिन्थ्यो तर राज्य सम्पूर्ण भीष्मको भरमा चलेकोले बोल्न केही सक्नुहुन्नथ्यो तर असन्तुष्टिचाहिँ बढी नै भीष्मसँग अनुभूत गर्न सकिन्थ्यो । व्यासले जब यो युद्ध धर्मयुद्ध हो , अब नटर्ने नै भयो ,त्यसैले त्यसको प्रत्यक्ष विवरणचाहिँ तिमीले जान्नै पर्छ भने पछि सञ्जयलाई त्यो क्षमता दिएर जानु भएको थियो व्यासले । हो त्यही क्षमताका भरमा सञ्जयले जेठाजुलाई , अनि दिदीलाई , अनि मचाहिँ लुकेर सुन्ने हालचाल । फरक थियो उद्देश्य सुन्ने पनि । स्वाभाविकरुपमा म चाहन्थेँ मेरै सन्तानले युद्ध जितून् ।सकेसम्म युद्ध नै नहोस् । तर हुने त लक्षण पहिलेदेखि नै थियो । हामीले खपेका थियौँ । मेरा छोराहरु त आगोमा पोलिएका सुन झैँ थिए झन झन कसी लाग्दै गरेको । झन झन पहेँलो पहेँलो हुँदै गएका । दुर्योधनमा एउटा डरचाहिँ थियो जस्तो लाग्छ किनभने मलाई देख्दा जहिले पनि आदरभावले कुरा गर्ने र मानौँ उसले हाम्रा विरुद्ध कुनै षडयन्त्र नै नगरेको जस्तो देखाउने ।
एकपटक दुर्योधनले मेरा छोराहरुलाई राज्य नदिने कुराको तर्क गर्दा भन्यो रे-ती पाँचजना केटाहरु मेरा काकाका छोरा नै होइनन् , ती कुरु नै होइनन् , अनि किन दिने कुरुराज्य तिनीहरुलाई ? कुरुवंशीको पो अंश लाग्छ त यो राज्यमा ? पितामहले विस्तारै भन्नु भयो रे कि पाण्डुको राज्य हो यो वास्तवमा । आफैँले किन छोडेर गएको थियो उही जानोस् तर उसले स्वीकार गरेपछि ती उसैका छोरा हुन् ,हाम्रो नीतिमा ती राज्यका अधिकारी हुन् औपचारिकरुपमा । अनि दुर्योधनले अलि ठूलो स्वरमा के कुरा गरेको थियो रे पितामहले भन्नुभयो रे-अब म बाहेक कोही पनि कुरु बाँकी छैन हस्तिनापुरमा । कोही पनि अरु कुरु नै होइनन् भनेपछि सबै चुपचाप लागे रे । अनि अधिरथले बरु घरमा गएर भन्यो रे राधासँग म पनि त कुरुकै सन्तान हुँ तर राज्यविहीन सारथि । तर पनि अझै हस्तिनापुरको नै माटो सुँघेर बाँचिरहेको छु । त्यसो भए कर्ण पनि कुरुवंशी भयो त ? भएन किनभने ऊ त सूर्यवंशी प्रत्यक्ष हो । अरु चन्द्रवंशी हुन् कुरुहरु । म त केके पो सोच्न थालेँ । अन्तिम अवस्थामा एउटै कुरामा कहाँ पो केन्द्रित होइने रहेछ र ? अनि सञ्जयलाई त्यो क्षमता दिएकाले अहिले हामीलाई कुतुहलता साम्य भएको छ ।
अनि कृष्णले भनेछ-परिणामको आशाले कर्म गर्ने त लोभी हो । पशुजस्तै । घाँस देखेर हाम्फालेर जंगलतिर जाने अनि भड्खालोमा पर्ने बिच बाटोमा । मात्र हरियो घाँस परिणाम हो । ठिक त्यस्तै । कर्म गरेपछि परिणाम त त्यसको गर्भमा जहिले पनि विद्यमान हुन्छ । तर परिणामले स्वार्थी बनाउँछ । त्यसैले फलको अपेक्षा नगरी कर्ममा लिप्त हुनु नै मानवीय कर्तव्य हो । सूर्य , हावा , पानी , माटो , रुखले कर्म गरिरहेका छन् ,फल त अरुले पाएका छन् र पनि उनीहरु आफ्नो कर्तव्यबाट कहिले पनि च्यूत भएका छैनन् । उठ, कर्म गर, फलको अपेक्षा नगर । फल त आफैँ पाक्छ । झर्छ । तिम्रो भाग्यमा भए खान पाउँछौ । नत्र पाउँदेनौ । मैले भनेँ नि म नै सबै निमित्तको संयोजक हुँ । म नै भाग्य हुँ । म नै परिणाम पनि हुँ । सँसारमा पाइने जेजे उत्तम छन् , ती सबै मैसँग गाँसिएका छन् किनभने अस्तित्वको खोजीमा ममात्र अहिले नायक हुँ । मैले भनेको मान । जुरुक्क उठ र गाण्डीव उठाऊ । बाँचे हस्तिनापुरको राज्य , मरे स्वर्गको वास । तिम्रो त दुबै हातमा लड्डु छ । आज तिमीले कर्म गरेनौ भने पनि कोही न कोहीले गर्छ नै । आज तिमी निमित्त नायक भएर कर्म गर्यौ भने तिमै्र पुण्य गाउने छन् भावी सन्ततिले ।
जेठाजु माथिल्लो कपडाले आफ्नो मुख छोप्दै भनौँ रुँदै जस्तो शौचालय जाने निहुँमा सञ्जयलाई त्यहीँ छोडेर बाहिर जानु भयो । कोही त सँगै हुन्थे अघिपछि । त्यसबेलामा त कोही पनि लानु भएन । राजाको इच्छाबेगर को पो जाने सँगै । त्यो पनि युद्धपक्षको राजाको दरबार । चक्रवर्ती राजाको दरबार । हामीलाई लाग्यो उहाँ व्यासलाई एक्लै बोलाउन जानु भएको होला । किन यो कृष्ण अर्जुनलाई उचाल्छ भनेर सोध्न पनि होला कि ? तर कस्ले पो सोध्ने र महाराजलाई ? सञ्जय आँखा चिम्लेर केही भनिरहेका थिए र एकदम आत्तिएर ब्युँझिए जस्तो गरी आँखा खोलेर हेरे र भने–मैले त विश्वको दर्शन पो पाएँ कृष्णमार्फत् । साँच्चै कृष्ण त भगवानका अवतार नै पो हुन् कि ? भन्दै थिए त्यही बेला जेठाजु आउनु भयो र सोध्नुभयो–सिद्धियो कृष्णको चर्तिकला ? उठायो अर्जुनलाई युद्ध गर्न ? केके भन्यो त त्यो ग्वालाले मेरा छोराहरुलाई ? वास्तवमा यो नै रहेछ यो युद्ध गराउने मलाई आजबाट पूरा विश्वास भयो । मेरा छोराहरु त सोझा भाइका छोराहरुका अघिल्तिर । त्यो बेलामा सायद जेठाजुलाई म पर्दाभित्र छु भन्ने थाहा थिएन कि? या मलाई नै सुनोस् भनेर भनेको पनि हुनसक्थ्यो । तर दिदीलाई भने मेरा वारेमा नराम्रो कहिले पनि सुनाउनु हुन्न रे भन्नुहुन्थ्यो दिदी । कृष्णले आत्मा, जीवन, समाज, व्यक्ति, ईश्वर, अनीश्वर, पदार्थ, अपदार्थ सबै कुरा सुनाएर अर्जुनलाई भन्यो रे-अब यो धर्मयुद्ध लड्नै पर्छ । अपमान सहनुभन्दा युद्धमा मर्नु धेरै राम्रो । कर्ममा मात्र हाम्रो हक छ, परिणाममा कुनै हक छैन । त्यसैले तेह्र वर्षको तपस्यालाई आवेशमा आएर त्याग्नु हुन्न । परिणाम त कसैको हातमा पनि छैन , छ त परमात्माको हातमा । हिँड , अबेर भयो , लडाईँमा जाऔँ । अनि अर्जुन त जुरुक्क उठ्यो रे र पितामहलाई वाणको अभिवादन दियो र चरणनेर नै बाण हानेर । अनि भीष्म खुसी हुनुभयो रे कस्तो अनुशासनमा बसेको रहेछ अर्जुन अझै पनि भनेर ।
त्यो बेलामा अर्जुनको रथ हाँकेर कृष्णले नै सबै योद्धाहरुको माझमा लगेर राखेको रहेछ । अर्जुनले भनेछ रे-हे कृष्ण , हेरौँ न को को कता कता लागेका रहेछन् ? दुर्योधनले हामीलाई अन्याय गरेको थाहा पाई पाई हामीलाई असहयोग गर्ने को को रहेछन् ? लगेर जब रथ बिचमा राखेपछि पो कृष्णलाई भन्न थालेको रहेछ त अर्जुनले कि म लड्न चाहन्न । एउटा कुरा के थियो भने अर्जुनलाई यही युद्धका लागि भनेर हनुमान पनि आएका थिए सहयोग गर्न । तर माथि झन्डामा बस्ने । त्यसको कारण थियो युद्धको टोहो गर्ने । रामको अवतारको शेष पछि हनुमानमा वैराग्य आएको थियो । तर भाइ भीमलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेमा हनुमानको पनि चासो थियो । अनि हनुमानलाई यो अभूतपूर्व तर अन्यायका विरुद्धको धर्मयुद्ध हेर्नु पनि थियो , अर्जुनलाई सुरक्षा दिँदै भावी युद्धको विजयी बनाउनु पनि थियो । रामका भक्त हनुमानलाई कृष्णको अवतारको पूर्ण स्वरुपको दर्शन गर्नु पनि थियो रे । खोइ कृष्ण नै विष्णुको पूर्ण अवतार हो रे पनि भन्थे ।यसो उसको हालचाल, हाउभाउ, र चमत्कारिक स्वभाव हेर्दा हो जस्तो पनि लाग्थ्यो । फेरि वसुदेव दाइको नै त छोरो हो , कसरी भगवानको अवतार भयो होला भन्ने पनि लाग्थ्यो । अनि कृष्णले उपदेश दियो रे त्यही युद्धभूमिमा कि जसले धर्मको रक्षा गर्छ , उसैलाई धर्मले पनि रक्षा गर्छ । जब जब अधर्मले पापको घडा भरिन्छ , म त्यहाँ गएर धर्मको पक्षमा काम गर्छु । धर्म भनेको गर्नुपर्ने कामको विवरण हो रे । ईश्वरले नै विश्वको सृष्टि , रक्षा र सँहार गर्छन् भनेछ । अनि व्यक्तिको जीवन त अत्यन्त महत्वपूर्ण हुन्छ र ईश्वरलाई व्यक्तिले मात्र सँसारलाई चिनाउने हो पनि भनेछ । मानव जीवनलाई एउटा लुगा र आत्मालाई कहिले ननासिने तत्व पनि भनेछ रे । ईश्वरले नै निम्नस्तर र उच्चस्तर जीवनलाई सम्पादन गर्ने हुन् पनि भन्यो रे । त्यस्ता कुरा त्यसलाई कसरी आएको । जेठाजुलाई ती केही पनि मन परेको जस्तो लागेन तर सञ्जयचाहिँ भन्दै थिए । के के पो भन्दै थिए सबै त मैले पनि बुझिन तर सँसारलाई पानीको फोका र मानव जीवनलाई सँसारको सबैभन्दा महत्वपूर्ण र विवेकपूर्ण अवस्था पनि भन्दै थियो रे कृष्णले । अर्जुन हात जोडेर भुइँमा घुँडा मारेर बसेको थियो रे , अनि कृष्ण अर्जुनलाई उठाउँदै सबै कुरा पनि भन्दै थियो रे अनि हनुमानचाहिँ माथि बसेर ध्यानपूर्वक कृष्णका कुरा सुन्दै सुन्दै मुस्कुराउँदै हातमा गदा लिएर कृष्ण र अर्जुनको रक्षामा पनि तल्लिन थिए रे । मोक्ष र मानव जीवनको रहस्य बताउँदा भन्थ्यो रे कृष्णले-सबैभन्दा चेतनशील प्राणी मान्छे हो तर त्यहाँ पनि तल्लो तहको विचार र माथिल्लो तहको विचारको बास हुन्छ भन्थ्यो रे । अनि त प्रकृतिमा उत्पत्ति , सँरक्षण र नाश हुँदै कल्प कल्प दोहोरिँदै जान्छ तर मानवले मात्र सँसारको वारेमा जानकारी राख्छ, रक्षा गर्छ र सँहार गर्छ । सँहारले मोक्षलाई निम्ता दिन्छ र उत्पत्तिले विनाशलाई निम्त्याउँछ । विनाश र मोक्ष एक सिक्काका दुई पाटा हुन् पनि भन्यो रे । उसको उपदेश योग हो रे । जीवन र मोक्षलाई जोड्छ रे र ऊचाहिँ योगेश्वर हो रे ।
जेठाजुलाई यी सबै कुरा मनपरेका थिएनन् । भन्नुहुन्थ्यो रे-यो कृष्ण नभएको भए मेरा छोराहरुले युद्ध त्यसै जितेका । के गर्यो के गर्यो त्यो वसुदेव पुत्रले , देवकी पुत्रले कि आफ्ना दाजुभाइलाई मार्न फेरि तयार भयो अर्जुन । यदि अर्जुनमात्र तयार नहुँदो हो त युधिष्ठिर त्यहीँबाट फेरि बनबास जाने थियो र फेरि कहिल्यै फर्कने थिएन । तर दैवको इच्छा कसले पो टार्न सक्छ र ?
दैवको कुरा गर्दा फेरि कर्णको सम्झना आयो । कर्ण कसरी अंगराज भयो भन्ने कुरा पनि कम रोचक रहेनछ । म त मूच्र्छा परेँछु त्यही रङ्गशालामा जहाँ मेरा छोराहरु , जेठाजुका छोराहरु र अरु गुरुकुलका विद्यार्थीहरुको शस्त्रास्त्रको प्रयोग गरिँदै थियो । द्रोणाचार्य , कृपाचार्यजस्ता गुरुहरुले आफ्ना विद्यार्थीहरुले सिकेका कुराहरुको प्रयोेग गरेको देखाउँदै हुनुहुन्थ्यो , त्यही बेलामा कर्णको धनुर्धारिताको कुरा आयो । सबैले भन्थे राधेय पनि कौन्तेय अर्जुन जस्तै धनुर्धारी छ । मलाई त थाहा थियो यी दुवै मेरा कोखबाट नै जन्मेका हुन् । एउटा सूर्यको छोरो हो सूर्यवंशी, अर्को इन्द्रको छोरो हो चन्द्रवंशी । कुरुको सन्तानमा गणना हुने भएकाले अर्जुन चन्द्रवंशी, सूर्यको प्रत्यक्ष छोरो भएकाले सूर्यवंशी । म दुवै वंशकी माता , साझा माता । तर कुरो के आयो भने राजवंशको बालक नभई कसरी रंगशालामा प्रतिस्पर्धा गर्न पाउँछ राधेयले ? एक सारथिको छोरोको के हैसियत हुन्छ राजाका छोराहरुसँग प्रतिस्पर्धा गर्नका लागि ? सबैभन्दा भीम नै मच्चिई मच्चिई कराई रहेको थियो भन्थ्यो–आयो त्यो सूतपुत्र भने म गदाले पिटी पिटी मार्छु त्यसलाई । तर सम्पूर्ण दर्शकदीर्घा भने कर्णको रणकौशल हेर्न लालायित थियो र मलाई पनि त्यो कौशलता हेर्न साह्रै इच्छा थियो । हामी दरबारका रानीहरुले कहिले पो हेर्न पाउँछौँ र बाहिरी दुनियाँ ? त्यो दिन राजकीय निम्तो थियो मेरा छोराहरुको पनि रणकौशल हेर्न पाउने गरी राजघरानाको बेग्लै स्थानमा बसेर हेर्ने । हामीले देख्थ्यौँ तर अरुले हामीलाई नदेख्नेगरी राखिएको हुन्थ्यो । यस्तो पर्दा हुन्थ्यो कि हामीले पारदर्शिताको आधारमा सबै देख्थ्यौँ तर हामी महिलाहरु त्यहाँ छौँ भन्ने कुरा अरु कसैलाई पनि थाहा हुँदैनथ्यो । अनि एकाएक त्यहाँ हलचल भयो , के भयो कसैले थाहा पाएन तर पूरै रंगशालामा एउटा हलचल मच्चियो ।
अर्जुनसहितका मेरा छोराहरु युद्ध कौशलसँगै साँच्चै युद्ध गर्न तम्सिएका ? तर को सँग ? कौरबसँग ? या आफैँहरुसँग ? तर चारैतिर धुलाम्मे । वाणका टंकार सुनिन्छ र हुँकार सुनिन्छ । एउटा तुफान आएको छ पूरै रंगशालामा र त्यो तुफान कसरी कसले किन ल्यायो थाहा भएन तर एउटा कुरा भने मलाई थाहा भयो कर्णको जन्म तल्लो कुलमा भएकाले , क्षत्रीको कुलमा या ब्राह्मणको कुलमा नभएकाले यो तुफान कर्णले ल्याएको रहेछ , युद्धको चुनौतीका लागि पाण्डवका विरुद्ध । उचाल्ने रहेछन् कौरबहरु । शकुनिसहितका राजाहरु । पूरै रंगशाला दुई भागमा बाँडिएछ र दुर्योधनले कर्णलाई तत्काल अंग देशको राजाको राज्याभिषेक गरेको रहेछ । कर्णका वारेमा उठेको प्रश्नसँगै मलाई के भयो के भयो , म मूच्र्छा परेँछु । हाहाकार भएछ म मूच्र्छित भएपछि । तर राज्याभिषेक रोकिएन छ र राजाको बाबुको रुपमा अधिरथले अभिषेक दिएछ । सूर्य भगवान अपलक त्यो दृश्य हेर्दै थिए रे । त्यो बेलामा अघिपछिभन्दा घाम पनि चर्को लागेको थियो रे । सायद सूर्य पनि नजिकै आएर छोराको राज्याभिषेक हेर्दै थिए कि ? तर म त वैद्यको निगरानीमा पुगेँछु । कर्ण अंगराज भएछ । आफूलाई कुरुवंशी अन्तिम पुरुष मान्ने अधिरथचाहिँ राजाको बाबुको रुपमा फेटा बाँधेर अभिभावक बनेछ । मैले त्यो केही पनि देख्न पाइन । अर्जुनको रणकौशलपछि मच्चिएको तहल्का कर्णको राज्याभिषेकपछि शान्त भएछ किनभने अब कर्ण कसैको सारथिको छोरोमात्र थिएन , हस्तिनापुरको अधीनस्थ अंग देशको एउटा सावैभौम राजा भएको रहेछ । पछि नेपालहुँदै राज्य विस्तार गर्न पूर्व अंग , बंग र कलिँग पुगेको थियो रे आफ्नो राज्यको पनि निरीक्षण गर्नका लागि । जसरी पाण्डुले राज्य विस्तार गर्नुभएको थियो ,त्यो साम्राज्यमा पछि समस्या आउन थालेपछि दुर्योधनले कर्णलाई त्यसको सुरक्षाका लागि पनि राज्याधिकारी बनाएको हुँदोहो । तर इमान्दार कर्णले आफू सूर्यवंशी हुँदाहुँदै पनि चन्द्रवंशीहरुको राज्य विस्तारमा ठूलो योगदान दिएको थियो भन्ने बुझ्न मलाई धेरै समय लागेको थियो ।
किन मेरो ध्यान एकै ठाउँमा केन्द्रित हुँदैन ? के यमराज नजिक आउनु भएकाले ममा भय पैदा भएको हो त ? मलाई त भयको कुनै आभास भएको छैन किनभने यदि मैले चाहेमा कृष्ण तुरुन्त सहयोगका लागि आउने थियो तर मैले उसलाई दुःख दिन नै चाहिँन । अब मलाई के चाहियो र ? तर हाम्रो परिवारको उत्पत्तिका वारेमा भने जब जब सम्झन्छु, भीष्मको उत्पत्ति, बुढी सासुको उत्पत्ति, अनि व्यासको नै उत्पत्ति.., (क्रमशः)
प्रतिक्रिया दिनुहोस्