१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


एक बलात्कृत किशोरी: जो न्यायिक निकायबाटै तिरस्कृत बनिन्


0
Shares

-युवराज गौतम, ईमेज

काठमाडौं, पुस ६ । करिब २२ दिन अघि काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजुमा बलात्कारको शिकार बनेकी एक किशोरी प्रशासनिक तथा न्यायिक निकायबाटै तिरस्कृत बन्न पुगेकी छिन् ।

घ्याङफेदी–६ नुवाकोट स्थायी घर भएका हाल काठमाडौंको तारकेश्वर–२० मा बस्ने २८ बर्षीय बुद्धीमान तामाङले ‘कोठा सार्न सघाउने’बहानामा १३ बर्षीया निज किशोरीलाई कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारका सदस्यहरुले बताएका छन् ।

छापा–३ नुवाकोट मै स्थायी घर भइ परिवारसँगै बस्दै आएकी किशोरीलाई पञ्चेटार टोखामा बस्ने नाताले सानिमा पर्ने राम्री तामाङले दुई महिना अघि ‘राम्रो काम लगाइदिन्छु’ भनी काठमाडौं ल्याएकी थिइन् ।

सानिमाको घरमै बसेर काम सघाउँदै आएकी किशोरीलाई ‘कोठा सार्न सघाइदेउ’ भनी अपरिचित बुद्धीमान तामाङको कोठामा सानिमाले नै पठाएको र दिनभर कोठामा बन्दी बनाइ बलात्कार गरेको पीडित किशोरीले इमेजखबरलाई बताइन् ।

किशोरीकी आमा निर्मला तामाङका अनुसार डर र धम्कीका कारण छोरीले करिब दश दिनसम्म घटनाका बारेमा कसैलाई सुनाउन नसकेको बताइन् । ‘२०७३ मंसिर १२ गते छोरी घर आएकी थिइ, २२ गते काठमाडौं जा भन्दा रोएर मान्दै मानिन्,’ उनले भनिन,‘कारण बुझ्दै जाँदा छोरी बलात्कृत भएको थाहा भयो ।’

सानिमाले नै बुद्धीमान तामाङलाई बोलाएर मोटरसाइकलमा पठाएको पीडितको भनाइ छ । ‘कोठा सार्ने काम केही रहेनछ, कोठाभित्र लगेपछि जबरजस्ती गर्न थाल्यो, मुख थुन्यो, गुहार माग्नै सकिन,’ पीडित किशोरीले भनिन,‘घटनाका बारेमा अरुलाई सुनाइस भने मारिदिन्छु’ समेत भन्यो ।’

प्रहरी जाहेरी लिनै मान्दैन्

घटनाका बारेमा परिवारलाई थाहा पाएपछि पहिलो पटक महानगरीय प्रहरी बृत्त बालाजुमा आमा निर्मला तामाङले छोरीको न्यायको लागि गुहार मागिन् । जाहेरी दिन भनी २०७३ मंसिर २४ गते उनी प्रहरी बृत्त बालाजुमा पुगिन तर प्रहरीले जाहेरी लिनै मानेन । प्रहरी बृत्तका प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले ‘राजीखुशी र सहमतिमै यौन क्रियाकलाप भएको हो’ भनी जाहेरी दिनु नपर्ने भनी फिर्ता पठाए । आमा निर्मला तामाङका अनुसार पछिल्लो पटक प्रहरीले खाली पेपरमा सहीछाप लगाउन भनेपछि आफूहरु अचम्ममा परेको बताइन ।

समाचार प्रकाशनका लागि ईमेज च्यानलमा बलात्कृत किशोरीका परिवार आए पछि हामीले प्रहरी वृत्त बालाजुका डिएसपी सन्तोष तामाङसंग सम्पर्क गर्दा पीडित परिवारले जाहेरी दिन नमानेको बताएका छन् । उनले बलात्कारको आरोपीलाई दुई दिन थुनामा राखेर आफन्तको रोहवरमा मुक्त गरेको बताए । अहिले बलत्कारीको खोजी गरिरहेको समेत तामाङले दावी गरेका छन् ।

यता पीडितका आफन्त भक्तबहादुर तामाङ भन्छन, ‘बुद्धीमान तामाङ र सानिमा राम्री तामाङकै मिलेमतोमा प्रहरीले उजुरी लिन मानिरहेको छैन्’,उनले भने,‘हामी छोरीलाई न्याय दिलाइपाउँ भनि धेरैपटक हारगुहार गरिरहेका छौं तर घटनालाई प्रहरीबाटै ढाकछोप गर्ने प्रयास गरिन्छ ।’

पीडितका परिवारले अपराधीलाई कारबाहीको पहल गर्न र छोरीलाई न्याय दिलाइपाउँ भनी माइती नेपाल तथा राष्ट्रिय महिला आयोगमा समेत उजुरी दिएका छन् । कतैबाट पहल नभए महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएर अपराधीलाई कारबाही र पीडितलाई न्याय दिलाएरै छाड्ने परिवारले अठोट लिएको छ ।

घटना रहस्यमय

पीडित किशोरीलाई बुद्धीमान तामाङसँग पठाउने सानिमा राम्री तामाङ बैदेशिक रोजगारीबाट फर्किएर सानोतिनो व्यावसाय गर्दै आइरहेकी महिला हुन् । गाउँकी किशोरीलाई काठमाडौं ल्याएर रोजगारी दिलाउँने तर घरायसी काममा लगाएको विषय गम्भीर बनेको छ ।

त्यतिमात्र नभई किशोरीसँग अपरिचित बुद्धीमानसँग ‘कोठा सार्ने’ निहुँमा पठाउनुको पछाडी अनेक कारणहरु रहेको परिवारजनहरुको दावी छ । त्यस्तै प्रहरीले जाहेरी नलिने तर खाली पेपरमा सहीछाप गर्न खोजेको विषय झनै गम्भीर भएको परिवारजनको भनाइ छ ।

‘सहमति र राजीखुशी’ भन्ने प्रहरीको शब्द झनै गम्भिर भएको बताइन्छ । यद्यपी, नुवाकोटबाट चेलीबेली बेचविखन, मानव तस्करी लगायतका गम्भिर प्रकृतीका घटनाहरु व्यापक हुने गरेको प्रहरीकै तथ्याङले बताउँदै आइरहेको छ ।