९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग


0
Shares

                                                                                          फाइल फोटो
मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्यमन्त्री गगन थापाले सन्चालक समिति अध्यक्ष डा. प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा. चीनबहादुर पुनलाई तीन दिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन् ।

मन्त्रालयका चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार आर्थिक अनियमितता गरेको, प्रशासन चुस्त–दुरुस्त नभएको, विकिरणयुक्त फोहर व्यवस्थापन नगरिएको, कार्यालय समयभित्र चिकित्सक र कर्मचारीले बाहिर काम गरेकोजस्ता कुरा स्पष्टीकरणमा सोधिएको छ ।

अस्पतालको रु ३० करोडभन्दा बढी बेरुजुसमेत देखाइएको बुझिएको छ ।

यसअघि मंसिर २८ गतेको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा चार सदस्यीय छानबिन टोलीले सो अस्पतालमा अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो ।

अस्पतालका समूहगतरुपमा बाँडिएका कर्मचारीसँग सो टोलीले छुट्टाछुट्टै र सामूहिक छलफल गरी अस्पतालको यथार्थ अवस्थाबारे जानकारी लिएको थियो ।

अस्पताल सन्चालक समितिको बैठक गत चैत २४ गतेयता बसेको छैन । अस्पतालको ऐनमा अध्यक्ष र ६ जना सदस्य नेपाल सरकारले नियुक्ति गर्ने प्रावधान छ ।

यसअघि नियुक्त भएका अध्यक्ष मन्त्रिपरिषद र ६ जना सदस्य मन्त्रिस्तरीय निर्णयबाट भएकामा सर्वाेच्च अदालतले नेपाल सरकार भनेको मन्त्रिपरिषद भन्ने व्याख्या गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्ति खारेज गर्न निर्देशन दिएपछि सन्चालक सदस्य रिक्त भइ बैठक बस्न नसक्दा अस्पताल व्यवस्थापन कठिन भएको अध्यक्ष न्यौपानेले स्वीकारे ।

स्पष्टीकरणको जवाफ बुधबार (भोलि)सम्ममा बुझाउने उनले बताए । कार्यकारी निर्देशक पुन पनि जवाफ बुझाउन काठमाडौं गएका छन् ।

सन्चालक समितिको बैठक नबस्दा अस्पतालको बजेट अनुमोदन नभएपनि आर्थिक नियमावली मिचेर पाँच महिनामा रु १४ करोड खर्च भइसकेको लेखा शाखाले जनाएको छ । रासस