१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


युवा संघ अध्यक्ष तिवारीको हत्या विरुद्ध प्रदर्शन, शव अझै उठाइएन


0
Shares

युवा संघले खैरेनीका मनोज पुनले गोली हानेको आरोप लगाएको छ । मनोजले तिवारीलाई पटक पटक ज्यान मार्ने धम्की दिएको र केही महिना अघि समेत आक्रमणको प्रयास गरेको युवा संघका लुम्बिनी अञ्चल उपाध्यक्ष कुलेन्द्र पुनले जानकारी दिए ।

मनोज पुनले घटनापछि अज्ञात नम्बरबाट अन्य ब्यक्तिहरुलाई समेत ज्यान मार्ने धम्की दिएको बताइएको छ । जसका कारण स्थानीय वासिन्दा त्रसित बनेका छन् ।

रुपनदेहीमै ईटा उद्योग संचालन गर्दै आएका तिवारीमाथि ६ महिना अघि उद्योगमै आक्रमण भएको र सो घटनामा मुछिएका मनोज फरार रहेको बताइएको छ । रुपन्देहीका एसपी रबिन्द्र बहादुर धानुकले आक्रमणकारीको खोजी तिव्र पारिएको बताएका छन् ।

फोनबाट धम्की दिने मनोज पुनलाई पक्राउ नगरेसम्म शव नउठाउने भन्दै युवा संघ कार्यकर्ता तथा स्थानीय वासिन्दाले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।

तिवारी पाँच नम्बर प्रदेश विभाजन विरुद्धको आन्दोलनमा सक्रिय रहँदै आएका थिए । घटनापछि युवा संघले रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा ब्यापक प्रदर्शन गरेको छ भने ती जिल्लाहरुमा पुनः बन्द आह्वान गरेको छ ।

रुपन्देहीको देवदह नगरपालिका–६ स्थित खैरनी बजारमा दिउँसो साढे तीन बजे तिवारीमाथि गोली प्रहार भएको थियो । नजिकैको देवदह मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो ।

पछाडिबाट हानिएको गोली अगाडि छातिबाट निस्किएको बताइएको छ । रातो पल्सर मोटरसाइकलमा गएका दुई जनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

गोली हान्नेहरुको खोजी भईरहेको र पहिचान हुन नसकेको रुपन्देही प्रहरीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन् ।