
काठमाडौं, पुस ३ । वरिष्ठ कलाकार रत्न बेहोसी बज्राचार्यलाई एक समारोहकाबीच लोकगायकको उपाधिबाट सम्मानित गरिएको छ ।
कलाकार परिषदले शनिबार राजधानीमा आयोजना गरेको ‘रत्न बेहासी सम्मान साँझ’मा उक्त उपाधि प्रदान गरिएको हो ।
ललितपुरको अग्नि पार्टी प्यालेसमा सम्पन्न उक्त समारोह सम्मानित रत्न बेहोसी र प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई कार्यक्रमस्थल प्रवेशद्वारमा स्वागत् गरी सुरु भएको थियो ।
बेहोसीको जीवनसम्बन्धी भिडियो बायोग्राफी प्रदर्शनपश्चात सुरजवीर बज्राचार्य, दबल शाक्य, भूपेन्द्र बज्राचार्य, नील शाक्य, किशोरकुमार शाही, अमर चित्रकार, राजेश महर्जन, नारायणदेवी महर्जन, रीना महर्जन र नारायणबहादुर महर्जन लगायतले लोकगायक बेहोशीया विभिन्न लोकप्रिय गीतहरुको मेडली प्रस्तुत् गरेका थिए ।
सम्मानकार्यमा वरिष्ठ कलाकार स्वयम्भूराज शाक्यले टोपी अर्पण गरे । आयोजकको तर्फबाट सञ्जय शर्मा राजोपाध्यायले नेवार परम्परागत शैलीमा माछा, अन्डा सगुन दिएका थिए ।
प्रमुख अतिथि श्रेष्ठले बेताली बाँधी, दोसल्ला ओढाइ, फूलमाला लगाएपश्चात सम्मानपत्र हस्तान्तरण गरेका थिए भने कार्यक्रमका संयोजक सुरज ब्यञ्जनकारले आयोजकको तर्फबार २५ हजार रुपैयाँ लोकगायक बेहोसीलाई हस्तान्तरण गरेका थिए ।
दर्शकदीर्घाबाटसमेत स्वतस्फूर्तरुपमा सम्मान गर्दै सहयोग हस्तान्तरण गर्नेक्रममा अमला उत्थान संगीत कोषबाट २५ हजार, रामगोपाल महर्जनबाट १० हजार, फ्रेन्ड सर्कल ब्याडमिन्टन क्लब, सातदोबाटोबाट १० हजार, कविना महर्जनबाट ६ हजार, माइला महर्जनबाट ५ हजार, तीर्थ महर्जनबाट ५ हजार, कृष्णगोविन्द महर्जनबाट ५ हजार रुपैयाँ गरी ९१ हजार रुपैयाँ लोकगायक बेहोसीको लागि सहयोग गरिएको थियो ।
सम्मान ग्रहणपश्चात हौसिएका लोकगायक बेहोसीले आफ्नो मन्तव्य राख्दै गीतसमेत प्रस्तुत् गरेका थिए ।
कार्यक्रमको दोस्रो भागमा सांस्कृतिक कार्यक्रमको सुरुवात कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको मन्तव्य एवं गीतबाट भएको थियो भने कार्यक्रममा वरिष्ठ कलाकार अमरराज शर्मा, स्वयम्भूराज शाक्य, लोकप्रिय गायक सानुबाबु महर्जन र निशा देसारले गीत प्रस्तुत् गरेका थिए ।
राजेशमान सिंहको लेखन तथा निर्देशनमा कलाकारहरु कृष्णभक्त महर्जन, सुरज श्रेष्ठ ‘बकंफुस्लु’ र अनिता ताम्रकारले ‘ध्याष्ट्रिक’ ख्यालः प्रस्तुत् गरेका थिए भने कलाकार महर्जनलगायत सञ्जय शर्मा राजोपाध्याय, मोहन ब्यञ्जनकार, कृपा बज्राचार्य निर्देशित नृत्यहरु पनि प्रस्तुत् गरिएका थिए ।
चर्चित संगीतकारहरु ईश्वर जोशी, मिलेश तण्डुकार, मिलन तण्डुकारले विभिन्न लोकप्रिय शास्त्रीय तथा लोकधुन प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्