
काठमाडौं, मंसिर २७ । चर्चित अभिनेत्री एवं निर्माता–निर्देशक रेखा थापाको राप्रपा पार्टी प्रवेशप्रति कलाकार एवं निर्माता–निर्देशक दीपकराज गिरीले चोटिलो व्यंग्य गरेका छन् ।
अभिनेत्री थापा सोमबार औपचारिकरुपमा राप्रपामा प्रवेश गरेकी हुन् । थापा राप्रपामा प्रवेश गर्न लागेको खुलासा भने आइतबार नै भएको थियो ।
केहीअघिमात्रै राप्रपामा प्रवेश गरेकी गायिका कोमल वलीले आइतबार नै सामाजिक सन्जाल फेसबुकमा थापाको राप्रपा प्रवेशबारे खुलाएकी थिइन् ।
कलाकार गिरीले पनि आइतबारै फेसबुक स्टाटसमार्फत् नै थापाप्रति व्यंग्य गरेका हुन् ।
अभिनेत्री रेखा थापा यसअघि माओवादीसँग सम्बद्ध थिइन् । यद्यपि, थापाले सोमबार राप्रपा प्रवेशका क्रममा भने यसअघि आफूले कुनैपनि पार्टीको सदस्यता नलिएको बताएकी छन् ।
‘रेखाजी राप्रपामा जाने रे… यो समाचार सुनेर म त खुसी भएँ’–दीपकराज गिरीले फेसबुकमा लेखेका छन्’–हामी कलाकार एउटै फिल्ममा झुन्डिएर बस्ने बानी हुँदैन ।’
‘फिल्म चेन्ज, हिरो चेन्ज । फिल्म ‘माओवादी’को ठाउँमा फिल्म ‘राप्रपा’ । हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा’–दीपकराज गिरीले अगाडि लेखेका छन्–‘दलहरूले विचार गर्नुपर्छ, टीका लगाउनेहरूलाई आफ्नो नसम्झ, टिक्नेहरूलाई आफ्नो सम्झ ।’
गिरीको यो स्टाटस सामाजिक सन्जालमा निकै चर्चितसमेत बनेको छ ।
प्रतिक्रिया दिनुहोस्