१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


जनताको आवश्यकतानुसारको योजना बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार २३ । प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय सरकारले जनतालाई केन्द्रमा राखेर जनताको आवश्यकतानुसारको योजना बनाउनुपर्ने बताएका छन् ।

शनिबार धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभा समापन कार्यक्रममा बोल्दै उनले कतिपय स्थानीय सरकारमा अधिकार र क्षमताको अन्तरविरोध देखिरहेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।

अधिकार र क्षमताबीच सन्तुलन मिलेन भने दुरुपयोग हुनसक्ने बताउँदै उनले त्यसतर्फ स्थानीय सरकार सजग हुनुपर्नेमा जोड दिए ।

उनले अधिकार घर–घरमा पुर्‍याउनु संविधानको मर्म रहेको उल्लेख गर्दै एक वर्षमा संविधानको मर्मअनुसार गरेका कामहरुको समीक्षा गर्न आवश्यक रहेको औंल्याए ।

मुख्यमन्त्री भट्टले जनतालाई अनुभूति हुनेगरी काम गर्नुपर्ने बताए ।

एक वर्षको अवधिमा जनताले विकासको महसुस गर्न पाए/नपाएको विचार गर्नुपर्ने उल्लेख गर्दै त्यसको समीक्षा गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले विकास र समृद्धिका लागि स्थानीय र प्रदेश सरकार एकापसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने पनि बताए ।