८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डाक्टर गोविन्द साधु हुन, जादु होइनन्


0
Shares

-संजिव कार्की

साधु सन्त, महन्त, आफ्ना लागि हैन अरुका लागि जिउँछ्न, मर्छन । मानवताबादलाई जीवनपयोगी बनाउन सक्दो गर्छन । लोभ, लालच, इर्श्या, तनाव घर,परिवार ,बाचा ,बन्धनबाट मुक्त फकिर र संसारिक हित भन्दा माथि अर्को कुनै स्वार्थ नभएको भनेर बुझ्ने आम धारणा छ । साधु हुन् र साधु देखिनु दुई भिन्न कुराहरु हुन् । नदेखिनेहरु पनि साधु छन । देखिनेहरु साधु भेषमा छन आचरण र ब्यबहारमा छैनन् । छन् भने कुनै नियोजित स्वार्थ लुकाएर हिडेका छन । अदृश्य स्वार्थसंग साधु सन्तको मुखुण्डोलाई सौदाबाजी गरिरहेका छन । साधुले व्यापार गर्दैनन्, जादु देखाउँदैनन भ्रम छर्दैनन,अनि झुटा सपना बाड्दैनन । हामीलाई थाहा छ, खप्तडबाबाले कुनै व्यापार गरेनन झुठको सपनाको खेति गर्न उक्साएनन । स्वामी प्रपन्नाचार्यले (काले राई ) पनि कुनै स्वार्थलाई बोकेर हिडेनन । योगी नरहरिनाथ आदिले मानव कल्याण र जनहितलाई नै आध्यात्मिक भएर सेवा गरिरहे । अध्यात्मको ठुलो केन्द्र अनि परम्परागत आस्था विश्वास र भरोसाको कारण हामी साधु सन्त प्रति संधै आदर भाव राख्छौ, सम्मान गर्छौ आस्था र विस्वास प्रकट गर्छौ ।जुन सुकै धर्म ,सम्प्रदाय ,समुदाय धनि, गरिव जो मान्छेहरु भए पनि साधु सन्त प्रतिको विश्वास कसैमा पनि कमी छैन प्राय साधु सन्तको भेषमा हुनेले अपमानित हुनु परेको छैन देशको जुनसुकै भूगोल क्षेत्र जाति र समुदाय जहाँ गए पनि । सकेको दान दक्षिणा र सहयोग र सेवा गर्ने हाम्रो अटुट शृंखला र परम्परा ,संस्कृति र आदत हो । हाम्रो मौलिक संस्कार हो ।

जोगीलाई त्यतिबेला सम्म श्रद्दा र बिस्वास गरिन्छ जतिबेला सम्म ऊ श्रद्दा गर्न लायक हुन्छ । मलाई के विस्वास छ भने सुद्ध जोगी सबै किसिमका प्रोटोकलहरु भन्दा माथि हुन्छ, मानिन्छ, बुझिन्छ त्यहाँ कुनै रास्ट्रपति , प्रधानमन्त्री, मन्त्रि र अरु बिशिस्ट पदले प्रोटोकल हेर्नुपर्छ भन्ने कम्तिमा मलाई चै लाग्दैन । भलै यो मेरो व्यक्तिगत विश्वासको कुरा भयोै । उसलाई भेट्न सकिन्छ बुझ्न सकिन्छ उसबाट केहि जीवन र जगत सम्बन्धि केहि नयाँकुरा सिक्न सकिन्छ । तर जब बिसुद्ध योग, बिज्ञान, व्यापार ,ब्यबसाय , राजनीति अनि धर्म भनेर अधर्म र निहित उदेश्य बोकेर आउछ त्यो सर्वथा अपाच्य निन्दनीय र घृणित हुन्छ । लाग्दैछ योग बिज्ञान र पतंजली आयुर्वेदको नाममा बाबा रामदेव मन्द बिष सहित प्रबेश गर्दैछन । हाम्रा देशका रास्ट्रपति, प्रधानमन्त्री, मन्त्रि बिभिन्न दलका नेता कुनै उत्पादनको ब्रान्ड एम्बासडर झैँ प्रतित हुँदैछन । लाग्छ यिनलाई सम्झाइ दिने बुझाई दिने कसले हो ?

बिभिन्न बिषय बिशेषज्ञ आकर्षक तलव सेवा र सुबिधा दिएर राखेको के चाकडी बजाउन या कसैलाई रिझाउन कसैलाई भरथेगको लागि जागिर खुवाउन मात्र राखिएको हो ? एउटा व्यक्ति आफैमा सर्वगुण सम्पन्न र हरेक बिषयको ज्ञाता हुन् नसक्ने हुनाले नै राज्यका उपल्लो तहमा पुग्नेहरुको लागि विशेष प्रबन्ध गरिएको हुन्छ तर हाम्रो देशमा आफन्त र कार्यकर्ता भर्तीको रुपमा मात्र देखिन्छ । के कार्यकर्तामा पनि राम्रा असल र खुवी भएका राख्न सकिन्न ? हाम्राको लागि नभएर राम्राको लागि त्यो अबसर दिन सकिन्न ? जब राम्रा मान्छेले अबसर पाउँँछन त्यहिबाट कुलमानहरु आफ्नो काम देखाउन सक्छन । हाम्रै आफ्नै सिंह दरबार भित्र रहेको बैद्यखाना थला परेको छ, जिर्ण छ । सरकारी उपेक्षाको शिकार भएको छ । त्यता तिर दृष्टि खोइ ? रामदेवको पतंजली प्रिय हुने अनि आफ्नो देशमा दुईसय पचास बर्ष देखि संचालनमा रहेको वैद्यखाना अपहेलित हुनुपर्ने , १५० प्रकारका औसधि उत्पादन गर्ने क्षमता र दक्षता भएको औषधालय आज १५ प्रकारकाऔसधि निकालेर जेनतेन प्राण धानीरहेको छ ।

राज्यको संरक्षण र दायित्वबाट तिरस्कृत हुनुपर्ने । यदि बैद्यखाना मार्फत या बैध्य्खानाको साझेदार भएर नयाँ बिधि र प्रबिधि सहित बैद्यखानालाई अरु आधुनिकीकरण गरि यसको विस्तार र ब्यबस्थापनमा टेवा पुग्ने गरि आएको भए केहि सोच्न सकिन्थ्यो होला । त्यो देशको हितमा भएमा यहाँ त नेपाली घरेलु मझौला र कुटिर, अनि उस्तै परे अरु ठुला उद्योग धन्दालाई बिस्थापित गर्ने गरि आएको बहुराष्ट्रिय कम्पनीको हाराहरिकै कम्पनीलाई कुन स्वार्थ र कुन उदेश्यका साथ हाम्रा शासकहरु प्रचारप्रसार गर्दैछन ? आफ्ना उद्योग धन्दा कलकारखाना बेचेर खाने कांग्रेसबाट त केहि अपेक्षा गर्न सकिन्न नसकिएला तर राष्ट्रवादी, देशभक्त एमाले , माओवादी राप्रपा के हेरेर बसेका छन ? कुनै पनि ब्यापारीले आफ्नो सामानको गुणस्तर अनि यसको लाभलाई नराम्रो भनेर भन्छ र ? आफ्नो हैन ग्राहक कै भलाई र हितको लागि भनेर नै बोल्छ भन्छ । खुलेआम नाफामुलक भन्दा बरु त्यसलाई त्यसकै स्तर र ब्यबहारबाट बुझ्न सकिन्छ तर नाफा सबै कल्याणकारी काममा लगाउने बचन मोहनी लगाएर स्वार्थ सिद्ध गर्न मात्र हो । हाम्रो जडिबुटीको दोहन गर्न आँखामा छारो हाल्ने काम भन्दा अरु केहि होइन । सिंह दरबार बैद्यखानालाई अरु बिकलांक र क्षतबिक्षत पार्न मात्र हो । रामदेव धर्म र योगको नाममा हाम्रो बहुमुल्य जडीबुटीलाई कौडीमा किनेर हामी माथिनै महंगोमा बेच्ने प्रपन्चमा छन । उनको ध्यान योग बिज्ञान सम्मत छ । ग्रहण गरौं तर व्यापार गर्ने उनको धेयलाई समयमा नै चिरौ । आजको सानो भुल भोलिको लागि अपराध नबनोस । सत्ता अन्धो हुन्छ सत्ताको फुलो परेको आँखामा विवेकको आँखाले खबरदारी गरौं ।

अब जादु गर्न नजान्ने , योगीको भेष धारण नगरी योगी देखिने ,सबै संसारिक मान्छेहरु भन्दा भिन्न तर समाज हितकै लागि काम गर्ने एक जना डाक्टर गोविन्द केसी जो भेषले हैन ब्यबहारत जोगी हुन् । जसलाई लोभ, लालच छैन सामान्य जीवनयापन पछि जे जति कमाइ हुन्छ बचाएर दीनहिनको लागि सेवामा खर्चनुमा स्वर्गीय आनन्द देख्छन । अबिबाहित सम्पतिको नाममा पैत्रिक निरन्तरतामा प्राप्त केहि रोपनी पाखो बारी भन्दा बाहेक केहि छैन । बिना छलछाम जे जति कमाइ हुन्छ त्यसमा नै रमाउने पहिलो प्राथमिकता आफ्ना बिरामी अनि आफुले पढाउने बिधार्थीलाई ठान्ने डाक्टर केसी स्वभाबैले जोगी हुन् । अल्पहारी , शाकाहारी अनि खाने बस्ने र हिंड्ने कुनै टुंगो नभएका मान्छे डाक्टर केसी अरुको लागि सपना देख्छन । अनि भोकै बसेर राज्यलाई ठुलै चुनौतिको पहाड खडा गरिदिन्छन । उनको नैतिक बल सामाजिक लोककल्याणकारी छवी अनि निस्कलंक सेवाभावले राज्य संधै त्राहिमाम हुन्छ । हतियार देखाएर राज्य लुट्नेहरुलाई डाक्टर केसी आफ्नो भोके हतियार देखाएर आफ्ना माग सहित एउटा कुनामा निराहार सुतिदिन्छ्न ।

२०६९ असार देखि सुरु भएको राज्यसँग लडाईको अनन्त शृंखला २०७३ कार्तिक २८ देखि आज सत्रौं दिन चल्दैछ । राज्य केसी लाई नन्दलाल बनाउन अग्रसर छ । राज्य केसी को मागलाई नाजायज भन्न पनि सक्दैन । दबाब बढी भएपछि सम्झौता गर्छ तर धोकाले भरिएको सम्झौता गर्छ । आज सम्म राज्यले के सी लाई ९ पटक झुक्याइ सक्यो , राज्य सम्झौता पालन गर्न इमान्दार छैन राज्य माफिया दलाल अनि भ्रस्टहरुको पैसामा कठपुतली बनेको छ । अरुको के कुरा बिधार्थी हकहित र अधिकारको लागि लड्ने भनिएका बिधार्थी संघ, संगठनहरु मेडिकल क्षेत्रमा मौलाएको माफिया तन्त्र र देखा देखि लुटको बारेमा नबोल्नु रहस्यमय छ । बर्षमा ४/५ अरबको लुट मच्याउनेहरु प्रति किन बिधार्थी संघ ,संगठनहरु मौन छन्च ? अर्को फि लिन पाइदैन भनेर बोल्नेहरु मेडिकल क्षेत्रको ब्रम्हलुटमा हिस्सेदार त छैनन् कतै ? डाक्टर गोविन्दले देखेको सपना रातारात पुरा हुँदैन । उनि संग जादुको छडी पनि छैन । तर राज्यका हरेक निकाय बिभिन्न तह र तप्काका मान्छे इमान्दार र नैतिकवान हुने हो भने समस्या सामान्य भएर समाधान निस्कन्छ । यहाँ गार्हो अब डाक्टर केसी लाई कसरी बचाउने र प्राप्त उलब्धिलाई कसरी जोगाउने भन्ने हो । सरकार आलटाल गर्दै गोविन्दको मृत्यु चाहिरहेछ । डाक्टर गोविन्द भेषले साधु होइनन न जादुगर नै हुन् तर ब्यबहार साधु झैँ छ । साधुको भेषमा डकैत बस्त्र साधुको धारण गर्ने ब्यबहार राक्षसको गर्ने साधु बिरालोहरु देखि होसियारी अपनाउन सकिएन भने देश भेषले, साधु कर्मले राक्षसको हातमा नजाला भन्न सकिन्न ।