
काठमाडौं, मंसिर १३ । किशोरावस्था पोषण सर्वेक्षणले नेपालका ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरीमा कुपोषण रहेको देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशभर गरेको अध्ययनअनुसार अन्य जिल्लाको तुलनामा तराईमा कुपोषणको जोखिम बढी रहेको देखिएको छ ।
यस्तै, मध्यपश्चिम तराईका गर्भवती महिलाहरुमा प्रति १० जनामा तीनजना महिलामा रक्तअल्पता रहेको पाइएको छ भने ३७ प्रतिशत गर्भवती नभएका महिलाहरुमा पनि रक्तअल्पता रहेको छ ।
कपिलवस्तु जिल्लामा दुई वर्ष उमेर समूहसम्मका बालबालिकाहरुमा दादुराको संक्रमण बढी देखिएको छ भने दादुरा खोप लगाएका २६ प्रतिशत बालबालिकाहरुमा पनि दादुराको संक्रमण भेटिएको अनुसन्धानले देखाएको छ ।
काठमाडौंमा गरिएको अध्ययनअनुसार ६ देखि ३६ महिना उमेर समूहका ६४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा देखिएको छ ।
त्यस्तै, अनुसन्धानले जाजरकोटमा इन्फलुइन्जाको प्रकोप उच्च रहेको देखाएको छ ।
यस्तै, सन् २०१५ मा एक वर्षमुनिका शिशुको मृत्युदर एक हजार जन्ममध्ये धादिङ जिल्लामा १७, भोजपुरमा २९ र सिन्धुपाल्चोकमा २१ शिशुको मृत्यु भएको देखाइएको छ ।
मातृमृत्युदर धादिङ र सिन्धुपालचोक जिल्लामा २० देखि ३४ वर्ष उमेरका महिलाको बढी रहेको छ भने भोजपुरमा ३४ वर्ष बढी उमेर समूहका महिलाहरु रहेको अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्