
-संजिव कार्की
जब–जब सज्जनहरु आ–आफ्नै कारणले आफ्नै पारामा मस्त रहन्छन व्यस्त रहन्छन तव तव दुर्जनहरु बिभिन्न षडयन्त्रको तानाबाना बुन्दै आफ्नो दाउपेच पुरा गर्न अहोरात्र खट्ने गर्छन । जब षड्यन्त्रको नमिठो गन्ध आउन थाल्छ तब यो देशलाई माया गर्ने केहि मान्छेको छाती पोल्न, दुख्न थाल्छ । मनमा बिकृति र विसंगति देखेर औडाहा हुन् थाल्छ । आफ्नो माटोको माया अनि कर्तब्यबोधले आफु एक्लै भए पनि लड्ने लडीछाड्ने अठोट गरेर सत्याग्रहको बाटो रोज्न पुग्छ । जसले जसरि व्याख्या व्यवधान गरे पनि आफ्नो निष्ठाको धर्म पुरा गर्न धर्म योद्दा डाक्टर केसी अहिले दशौं चरणको अन्न पानी छोडेर गरिने आन्दोलनमा छन् । उनी आफ्नो शनक र पागलपनमा अभाव बिपन्न गरिब निमुखाको आवाज र सपना देख्छन । एकाध प्रयासमा थाक्ने, गल्ने, झुक्ने अनि केहि असफलता देखिनै खुट्टा छोड्ने हामी उनको उच्च कोटीको अठोट विरलाकोटी नैतिक साहास निरन्तरता अनि खबरदारीलाई गिज्याउने , होच्याउने र उडाउने गर्छौ । बेमौसमी खेति, बिना लगनको पोते ,असम्भव प्रयास अनि कुइनोले पहाडसंग पौठेजोरी खेलेको भनेर गिल्ला गर्छौ । सब अपमान पीडा बेदना पचाएर एक सन्त पुरुष निष्ठाको अभिषेकमा छन्यी, आफ्नो प्राणआहुति गर्न संधै जोखिम मोल्न तयार छन । तर हामी साथ दिन हिच्किचाउन विवस छौ ।
बारम्बारको अनशनले लखतरान कमजोर र मक्की सकेको त्यो काया कतिन्जेल यसरि रहन सक्छ चल्न सक्छ ? केसी को अनशन कहिल्यै पनि साइत हेरेर, पण्डित डाकेर, पुजारी भाकेर, देवी देउरालीलाई फूलपाती, अक्षता, धुप बत्ति बालेर गरिएको हुन्न । तसर्थ हरेक अनशन असमयमा भयो भनेर हाम्रो गुनासो ननिस्किएको चरण छैन । हामी गुनासो गरिरहन्छौ । केसी अनशन बसिरहन्छन । सत्य न्याय र देशभक्तिले केसीलाई अन्न पानि छोड्न बाध्य पार्छ तर हामीलाई आफ्नो कर्तव्यबोध गर्न साइत चाहिन्छ ।
डाक्टर केसीको त्यो बृद्ध र जिर्ण शरीर, बर्षौ अघि अल्सरले हरितन्नम बनाएको पेट ,दशौ चरणको अनशनसम्म आइपुग्दा कस्तो भयो होला ? एक दिन भोकोm केहि छिन भोको हुँदाको कल्पना गरेर हेरौ । केसी अनसन कसका लागि बसेका हुन् ? यिनको व्यक्तिगत स्वार्थ लाभ हानि के हो जगजाहेर नै छ । गरिबको छोराले पनि सजिलै आफ्नो क्षमताको आधारमा डाक्टरी पढ्न पाओस । राज्यमा सबै नागरिकले समान तवरले स्वास्थ्य सेवा पाउन । कोहि कसैले पनि सामान्य रोग लागेको कारणले अकालमा ज्यान गुमाउन नपरोस । सामान्य दिसा–पिसाब, रगत ,खकार जाँच्दा घर–खेत बेच्ने स्थिति नबनोस । दक्ष र निपूर्ण डाक्टरी सेवा सबैको पहुँचमा होस् । राज्यले स्वास्थ्यलाई व्यापार–ब्यबसाय गरि पैसा कमाउने उद्योग– धन्दा र कलकारखाना नठानोस । डाक्टरी सर्टिफिकेट पैसाले किन्ने अनि पैसा हुनेले मात्र पढ्ने असमानता अन्त्य होस् । लोककल्याणकारी राज्यले कसैलाई लाखा कसैलाई पाखा नगरोस । सहर, गाउँ दुर्गम ,सुगम ,पुर्व पश्चिम उत्तर दक्षिणको भेदले भौगोलिक दुर्बलता र अनुकुलताको आधारमा राज्यले भेद नगरोस । राज्यमा सबै नेपालीको बराबरी पहुँच होस् । प्रभाव होस् । राज्य संयन्त्र प्रभावकारी बनोस । भ्रस्टहरु पाखा परुन । सज्जन र असल मान्छेले राज्यको बन्दोबस्तीमा आफुलाई पुर्याउन सकुन । के यी मागहरु अपवित्र अनि देशघाती हुन् ? सबैले ठण्डा दिमागले सोचेर केसी लाई साथ् दिने बेला भएन र ?
सरकार संधै केसी को माग प्रति उपेक्षा गर्छ । जब जनजनको दबाब झेल्न कठिन हुन्छ अनि सम्झौताको एउटा नाटक रचेर थुम्थुम्याउन अग्रसर हुन्छ । माग पुरा गर्ने बाचा गर्छ तर बाचा बन्धनको धर्म र मर्मलाई पुरा गर्दैन । कथन कदाचित यस पटक केसी को नश्वर शरीरले यो बोझ थाम्न सकेन भने नसक्ने प्रबल सम्भावना बढ्दैछ केसी मृत्युको प्रिय बने भने यो अस्वाभाविक र दर्दनाक मृत्युको भागीदार हामी सम्पूर्ण नेपाली पनि हुन पुग्छौं । अझ सचेत नेपाली त केसी हत्याको अभियुक्त नै मानिने छ । हत्याको अभियोग बोक्नु पर्नेछ । सरकार पनि कलंकको अक्षम्य कालो पोतेर रहने छ नै । हामी केहि जान्ने–बुझ्ने नेपालीहरु समेत यो दुर्घटनाबाट चोखो बन्न सक्दैनौं ।
माग सरकारले पुरा गर्ने हो तर सरकारलाई माग पुरा गराउन दबाब दिने हामीले हो । अझ युवाहरु जो भोलि यो देशको बागडोर सम्हाल्न लालायित छन उनीहरुले हो बढी जोडबल गर्ने । सडकमा गएर गगनभेदी नारा लगाएर माग पुरा गर्ने हाम्रो ऐतिहासिक भूमिकामा हामी चुक्यौ भने भोलिको पुस्ताले हाम्रो नाकमा लागेको कालो धब्बालाई हेरेर थुक्नेछ । नालायक मेरा अग्रज र आमा–बा, दाइ–दिदीहरु भनेर । गोविन्द केसी यतिकैमा ढले भने हामीले नाक जोगाउने मौका पाउने छैनौ । लाज स्वयं हाम्रो बेबकुफी प्रति लज्जित हुनेछ । मर्माहत हुनेछ । अब भोलि आफुले आफुलाई अनि आफ्ना सन्ततिबाट आफुलाई धिक्कार्नबाट बचाउन पनि केसी लाई मृत्यु वरण गर्न नदिने संकल्प गर्नु पर्छ ।
स्वास्थ्य क्षेत्र जस्तो अतिनै सम्बेदनशील विषयमा सबै क्षेत्र तह र तप्काका मान्छे बोल्न ढिला भैसक्यो । देशका बुद्धीजीवि ,युवा विद्यार्थी, समाजसेवी बिभिन्न क्षेत्रमा ख्यातिप्राप्त सज्जन र असल मान्छेहरु ,कवि कलाकार, लेखकहरु ,लब्धप्रतिष्ठित मान्छेहरु ,घातक मौनतालाई चिर्दै बाहिर निस्कनु पर्यो । के भोलि कुनै अयोग्य डाक्टरले दिने सेवाबाट आफ्ना कोहि आफन्त छोराछोरी, बाबु आमा, दाजुभाइ ,दिदीबैनी, श्रीमती भाउजु बुहारी , गुमाउने स्थिति बन्यो भने त्यो कहालीलाग्दो पीडा सहने कि ? त्यो स्थिति नै आउन नदिने ? यो यक्ष प्रश्न आफुले आफैलाई गर्दै मानवताका पुजारी गोविन्द केसी लाई बचाएर आफ्नो धर्मको रक्षा गरौं, भोलिको अनिस्ट टारौं, घटाऔ ।
आज केसीलाई मर्न दिनु भनेको यो देशका निमुखा, गरिव ,असहाय, केटाकेटी, बृद्ध बृद्धा बालबालिका अनि भोलिका उज्याला नक्षत्रहरुको आवाज बन्द हुनु हो । मानवियता माथिको बर्बर दमन हो । हामी जंगली हुँदै जानुको पराकास्ठ हो । समय हुँदै सोचौं आजको हाम्रो सानो भूमिकाले भोलिको ठुलो संकट अबगाल टर्छ भने किन भोलि पछुताउने ? आज नै गरौं जे गर्नु पर्ने हो । जति गर्न सकिन्छ । असल मानवको खडेरी छैन । अझै आशाबादिता जगाउने ठाउँ र मान्छेहरु छन भनी भोलिको पुस्ताको सुम्मनत भविष्यको लागि पनि छाती फराकिलो बनाऔ । धारिलो बौद्दिक हतियार हुनेहरू आफ्नो हतियार लिएर मैदानमा आउन जरुरि भैसक्यो । अन्यथा मुलुक माफिया दलाल, कालोबजारी, बिचौलिया भाट र स्वार्थ लम्पटहरुको पन्जामा ,मुठ्ठीमा कैद हुनेछ । हाम्रो स्वास्थ्य कसैको निगाह दान र दयाको पात्र बन्नेछ ।
डाक्टर केसी केहि गरि तलमाथि भइहाले भने तिनलाई मेडिकल क्षेत्रको सहिद घोषणा गरौंला । शोक सभा गरौंला ,नाराबाजी गरौला । शालिक निर्माण थालनीको उद्घोष गरौला । कतै हाम्रो मौनता यतातिर उन्मुख त हैन ? यदि डाक्टर गोविन्द केसी मरे भने उनकी बृद्ध र रोगी आमा अनि केहि आफन्त केहि समय रोलान तर न्याय सत्य अनि निष्ठाको लडाई धेरै समय मुर्छित हुनपुग्नेछ । देश शोकाकुल हुनेछ संधै संधैलाई । भोलिको पुस्तालाई गोविन्द भोकै मर्दा म पनि साक्षी थिए उनको मृत्युको तर मैले कुनै भूमिका खेल्न सकिन । हामी नेपाली स्वार्थको लागि जुट्छौ तर निस्वार्थीलाई पागल भनेर तड्पाई तड्पाई मारेको हेरि बस्छौ भनी कसरी भन्ने ? भोलि चुकचुकाउने हैन आजै केहि गरौ । डाक्टर केसी जोगाऔ । संधै र फेरि फेरि, बारम्बार जन्मिरह्दैनन् डाक्टर केसी हरु ।
प्रतिक्रिया दिनुहोस्