९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


स्वास्थ्यमन्त्री गगन थापाले पहिलो महिनाको तलब कोषलाई दिए


0
Shares

                                                                               फाइल फोटो
काठमाडौं, मंसिर ७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्तिबाल अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् ।

मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्नेक्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत् बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भनी त्यतिबेला नै घोषणा गरेका थिए ।

सोहीअनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।

उनले अस्पतालमा उपचार गर्न आउने विपन्नलाई सहयोग गर्नका लागि सम्भ्रान्त एवं सम्पन्न वर्गलाई आह्वान गरेका थिए ।

अस्पतालमा अर्बुद रोगपीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको सो कोषलाई अर्थ अभावका कारण कुनैपनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट वन्चित हुनु नपर्ने भावनाका साथ सशक्त बनाउन निर्देशन दिएका थिए ।

सो निर्देशनअनुसार नै अहिलेसम्म कुनैपनि बालबालिका अर्थाभावका कारण उपचारबाट वन्चित हुनु नपरेको अस्पतालका निर्देशक डा. अजित रायमाझीले बताए ।

उनका अनुसार गत वर्ष पुराना पाँच सय ८४ र नयाँ ४५ जनाको उपचार गरिएको थियो । अंकोलोजी वार्डमा २६ शैय्या छन् । सन् १९९७ मा बेलायतीले सुरु गरिदिएको कोषमा अहिले रु चार करोड छ ।

मन्त्री थापाको सहयोग र समर्थनले आफूहरुलाई हौसला बढेको बताउँदै उनले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास गरे ।

मन्त्री थापाले कान्ती अस्पतालकोमात्र नभइ अन्य अस्पतालमा स्थापना भएका कोषलाई पनि प्रभावकारी र मजबुत् गराउन आग्रह गरेका छन् । रासस