
काठमाडौं, मंसिर ७ । सरकारी चिकित्सक संघ नेपालले सरकारी अस्पतालमा बहिरंग सेवालगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सन्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ ।
मन्त्रालयले अतिरिक्त सेवाका लागि चिकित्सकलाई थप सुविधाको व्यवस्था नगरी हचुवाका भरमा यस्तो सूचना निकालिएको संघले आरोप लगाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै संघका महासचिव डा. विष्णुरथ गिरीले अन्य सरकारी कार्यालयजस्तै नियमानुसार १० बजेदेखि ५ बजेसम्म सन्चालन गरेर साँझ ५ बजेपछि के गर्ने भन्नेबारेमा सूचनाले केही उल्लेख नगरेको र त्यो सूचना गैरजिम्मेवार रहेको टिप्पणी गरे ।
अहिले सरकारी अस्पतालमा चिकित्सकले एक हप्तामा कम्तीमा ४९ घन्टा सेवा दिइरहेको बताउँदै उनले बिहान र साँझको ‘वार्ड राउन्ड’समेत जोड्दा सेवा अवधि त्यसभन्दा बढी रहेको जिकिर गरे ।
विज्ञप्तिमा श्रम ऐनले साप्ताहिकरुपमा ४८ घन्टाभन्दा बढी काम लगाउन नपाइने व्यवस्था गरेको भन्दै संघले अतिरिक्त सेवाका लागि सरकारबाट चिकित्सकलाई थप सुविधा व्यवस्था हुनुपर्ने बताइएको छ ।
अन्य सरकारी कार्यालयमा सरकारले ‘आचरण सुधार्न’ शतप्रतिशत ‘प्रोत्साहन भत्ता’को व्यवस्था गरेको जनाउँदै संघले एक हजार २०० भन्दा बढी सरकारी चिकित्सकलाई भने २०४० सालको संरचनामा चलाइरहेको आरोप पनि लगाएको छ ।
मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्थामा बहिरंग सेवालगायत अन्य सेवा बिहान १० बजेदेखि बेलुका १० बजेसम्म सन्चालन गर्न गत शुक्रबार निर्देशन दिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले जनशक्ति थप्ने काम अस्पतालको भएको बताए ।
उनले जे सुविधा दिइएको छ, त्यहीभित्र नै बसेर काम गर्नुपर्छ भन्दै सेवा सुविधा थप्ने विषयमा मन्त्रालयले छलफल गर्ने बताए ।
निर्देशनानुसार स्वास्थ्य संस्था खोलिएको नपाइएकामा वा चिकित्सक नबसेकामा कारबाही हुने मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्