
-शिवहरी भट्टराई, ईमेज
सप्तरी, मंसिर ७ । सप्तरीको फत्तेपुर गाविसस्थित स्वास्थ्य चौकीमा भएको चरम लापरवाहीका कारण सेवाग्राही मारमा परेका छन् ।
पारदर्शीताको अभाव र अनियमितताको आरोप खेप्दै आएको स्वास्थ्य चौकी पर्याप्त औषधी अभावमा अहिले रेफर केन्द्र जस्तै बनेको छ ।
भनिन्छ स्वास्थ्य नै धन हो । तर धन नभएका निमुखा जनताको लागि स्वस्थ रहनु चुनौतिको बिषय बनेको छ ।
गरिव तथा विपन्न वर्गका लागि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न बनेको सप्तरीको फत्तेपुर गाविसमा रहेको स्वास्थ्य चौकीमा हुने गरेको लापरवाहीले सेवाग्राही मारमा पर्ने गरेका छन् ।
उदयपुर जिल्लाबाट समेत ठुलो संख्यामा सेवाग्राही आउने यो स्वास्थ्य चौकी व्यवस्थापन अभावमा गौचरण बन्दै गएको छ ।
यस्तै पर्याप्त औषधी नहुंदा स्वास्थ्य चौकी रेफर केन्द्रको रुपमा परिणत हुंदै गएको छ भने सेवाग्रहीले निशुल्क प्र्राप्त गर्नुपर्ने औषधीबाट बञ्चित हुने गरेका छन् ।
फत्तेपुर स्वास्थ्य चौकीमा भइरहेको औषधी अभावबारे चौकीका इन्चार्ज सुरेन्द्र यादव यसतो बताउँछन् ।
पेट दुख्ने, ढाड दुखेको, टाउको दुखेको लगायत धेरै फरक किसिमका रोगहरुमा सिटामोल मात्र दिने तथा बिरामी नजांची नजिकका क्लिनिकमा रेफर गर्ने गरेको आरोप खेपिरहेको छ स्वास्थ्य चौकीले । अझ कर्मचारीहरु समयमा उपस्थित नहुंदा घण्टा कुर्नुपरेको सेवाग्राहीको गुनासो छ ।
सेवा सुबिधा चुस्त दुरुस्त बनाउन गठित व्यवस्थापन समितिका सदस्यहरु स्वास्थ्य चौकीको अधिकांश निर्णयहरुका बारेमा अनभिज्ञ रहेका छन् ।
कर्मचारी नियुक्ति, औषधी व्यवस्थापन, सेवा प्रवाह आदिका विषयमा व्यवस्थापन समितिमा कुनै छलफल नै नगरी निर्णय हुने गरेको तथा लामो समयदेखि बैठक नै नबसेको समिति सदस्यहरुको गुनासो छ । स्वास्थ्य चौकीका कार्यक्रमहरु पारदर्शी नभएको तथा एकलौटी निर्णय गरेर अनियमितता गर्ने गरेको उनीहरुको आरोप छ ।
अझ एउटै कर्मचारीलाई दुइ फरक स्वास्थ्य केन्द्रमा नियुक्ति दिएपछि स्थानीय जनता समेत रुष्ट बनेका थिए । व्यवस्थापनलाई आगामी दिनहरुमा सुधार गर्दै जाने सप्तकोशी नगरपालीकाका कार्यकारी प्रमुख राजेन्द्र प्रसाद पोखरेल बताउँछन् ।
स्वास्थ्य चौकीमा २४ घण्टै प्रदान गरिने बर्थिङ सेन्टरमा प्रसव पिडामा रहेका गर्भवतीलाई सुताएर ल्याउने स्ट्रेचर समेत उपलब्ध नभएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
प्रसुति सेवामा प्रयोग हुने भ्याकुम लगायतका अत्यावश्यक सामाग्री नहुंदा विपन्न वर्गका सेवाग्राही महंगा अस्पतालमा जान बाध्य छन् ।
अत्याधिक समय लोडसेडिङ खेपिरहेकोे स्वास्थ्य चौकीमा इनभर्टर नहुंदा उपचारमा समस्या हुने गरेको छ । काम गर्ने उपयुक्त वातावरण नहुंदा सेवा प्र्रवाह थप जटिल बनेको कर्मचारीहरु बताउंछन् ।
स्वास्थ्य चौकीमा उपलब्ध औषधीका बारे लेखिएको बोर्ड र नागरिक वडापत्रका अक्षर मेटिएर सेतोपाटी बनेका छन् भने लामो समयदेखि मर्मत संम्हार नगर्दा सहयोगमा प्राप्त भएको एम्बुलेन्स समेत काम नलाग्ने अवस्थामा पुगेको छ ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील बिषयमा हुने गरेका लापरवाही प्रति निरन्तर अनुगमन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्