
चितवन, मंसिर ५ । चितवन तर्फको नारायणी किनारमा प्राय जसो सांगितिक माहोल हुने गरेको छ । तर शुक्रबार साँझ त्यस स्थानमा नभई गैंडाकोट स्थित नारायणी नदी छेउमा रहेको होटल रिभर क्राउनको परिसरमा सांगितिक माहोल जम्यो ।
रोटरी क्लव अफ भरतपुरको आयोजना र रोटर्याक्ट क्लव अफ भरतपुरको सह–आयोजनामा भएको ‘रोटरी गजल साँझ २०७३’ ले त्यहाँ यस्तो माहोल खडा गरेको थियो । कार्यक्रममा गायक आनन्द कार्कीको एकल प्रस्तुती रहेको थियो ।
जब रात छिपिदै गयो तब माहोल निकै रमाईलो बनेको थियो । उनले ‘जे जे हुन्छ यहाँ पर्दा पछाडी नै’, ‘नारायणघाटैमा कति चाडै माया बस्यो एकै रातैमा’लगायत दर्जनौ गीतहरु प्रस्तुत गरेर उपस्थिति सयौंलाई नचाए ।
यस कार्यक्रमबाट संकलन भएको रकम फरक क्षमता (सुस्त मनस्थिति तथा शारीरिक अशक्तता) भएका विद्यार्थीहरु र सीमानन्तकृत समुदायको शिक्षा, स्वास्थ्य तथा क्षमता अभिवृद्धिका लागि खर्च गरिने रोटरी क्लव अफ भरतपुरका अध्यक्ष बसन्त रानाभाटले जानकारी दिए ।
कार्यक्रममा रोटरीका पूर्व अध्यक्ष डा.तिलचन्द्र भट्टराईले कार्यक्रमको उद्देश्य बारे जानकारी गराएका थिए भने डा.आईपी ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्