
चितवन, मंसिर २ । डेंगु तथा स्क्रब टाइफसको संक्रमण बढिरहेकाबेला चितवनमा कीटजन्य रोगको अवस्था पत्ता लगाउन विज्ञद्वारा अध्ययन थालिएको छ ।
चितवनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने पटिहानीमा यसको अध्ययन (भेक्टर सर्भे) थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्लामा कीटजन्य रोग बढ्दो छ ।
‘तीन दिनदेखि यहाँ कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन भइरहेको छ’–कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भने–‘हेटौंडाबाटसमेत विशेषज्ञ टोली संलग्न छन् ।’
चितवनको पटिहानीमा गएको वैशाखमा डेंगु रोगका कारण एकजनाको ज्यान गएको थियो । सोही क्षेत्र आसपास तथा छितामाई क्षेत्रमा अध्ययन भइरहेको केसीले बताए ।
मुख्यगरी डेंगु, मलेरिया, जापनिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययन भइरहेको जनाइएको छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टर टोली परिचालन भएका छन् ।
उक्त तालिम केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालयले एकीकृत सर्भे सुरु गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिए ।
नेपालमा सबैभन्दा बढी स्क्रब टाइफस र डेंगु रोगको संक्रमण चितवनमा छ । जिल्लामा अहिलेसम्म डेंगुबाट ६२१ जना बिरामी भएका छन् ।
स्क्रब टाइफसबाट ४७१ जना बिरामी परेका छन् । मलेरियालगायत रोगसमेत चितवनमा देखिँदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्