७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


हराएको रौनकता फिर्ता ल्याउनु पर्छ गाउँको


0
Shares

-संजिव कार्की

१८ ,२० बर्ष अघि सम्म प्रत्येक घर–घरमा आफूलाई चाहिने लसुन ,प्याज ,खुर्सानी ,साग ,सब्जी, तरकारी सबै आफ्नै करेसाबारीमा फल्थे । सिजनल फलफूल पनि बंगैचामा शोभायमान देखिन्थे । धान, कोदो, मकै, फापर, तोरी कोदोबालीले बारी झकिझकाउ हुन्थे । खेताला मेला–पर्व जात्रा पुजाको रौनक नै अर्को र रोमान्चकारी हुन्थ्यो, थियो । जो आजभोली छैन, भएको पनि घटेको छ । गाउँमा बलिया बाङ्गा बाहुबली मान्छे छैनन छन् त् कमजोर बृद्ध बृद्धा केटाकेटी महिला अशक्तहरु छन् । गाउँमा मरौ परौ पर्यो भने लाश काँधमा राखेर हिड्ने मान्छेहरुको ठूलो अभाव छ । मान्छे मर्दा समेत सहानुभूति दिने सहयोग गर्ने समबेदना प्रकट गर्ने मान्छेको अभाव र रिक्तता र शुन्यता छ । केहि सिमित मान्छेहरुले मात्र गाउँ धानेको छ ,चलेको छ । गाउँले जीवन चल्दैछ भन्ने आभाष मिल्छ । गाउँमा मान्छे भेट्न कि चुनावको माहौल हुनुपर्छ, कि राजनीतिक पार्टीको कुनै अपरिहार्य कार्यक्रम चलेको हुनुपर्छ ,कि दशैँ तिहार नै कुर्नु पर्छ ।

पहिले पहिले जस्तो नभए पनि दशैँ तिहारको रौनक र आत्मीयता भने अरुबेलाको भन्दा भिन्न र अलि बढि मोहक हुन्छ, देखिन्छ ,भोगिन्छ । गाउँमा पहिले बिजुलीबत्ती थिएन । मोटर बाटो थिएन स्वास्थ्यचौकी र सबै ठाउँमा स्कुलहरु थिएनन् तर मान्छेहरु थिए । असुविधा नभए पनि मान्छेहरु आफ्नो भाग्य र भबिस्य गाउँ नै हो भनेर त्यँही आफ्नो पाखुरी बजार्थे । दश नंग्रा खियाउथे श्रम र पसिना पोख्थे, रमाउथे । रंगिन सपना बुन्थे गाउँले जीवनमा रंग भर्थे । गाउँ रमाइलो थियो । गाउँ गाउँ जस्तो थियो तर आजकल गाउँको रौनकता कता छुट्यो छुट्यो ?

गाउँमा स्कुलहरु छन् जताततै कति त् अनावश्यक ठाउँमा पनि खोलिए मास्टरहरु पनि छन तर पढ्ने बिद्यार्थी छैनन् अति कम छन् । शिक्षक शिक्षिकाहरु राजनीतिक पार्टी तिनका भरिया हुन् कि शिक्षक नै हुन् ठम्याउन गार्हो छ । यो रोग त् हिजो पनि थियो आज पनि कम भएको छैन । शिक्षक शिक्षिकाहरुलाई आफुले अध्ययन अध्यापन गराउने बिषय भन्दा राजनीतिक पार्टीको कार्यक्रम बारेमा बढी चासो र सरोकार छ । सरकारी स्कुलका शिक्षक शिक्षिकाका छोरा छोरी बिद्यालय ब्यबस्थापन गर्नेका छोराछोरी सरकारी स्कुलमा पढ्दैनन पढाईदैनन् । किनकी सरकारी स्कुल प्रति उनीहरुको भरोशा छैन । सरकारी स्कुल पढेका बिधार्थी प्रतिभावान हुन्छन । मार्केटमा यिनीहरुको डिमाण्ड हुन्छ बनाउनुपर्छ भन्ने सोचाई छैन यसको कारण उनीहरुलाई आफुले पढाउने अनि आफ्नो खुबीमा विश्वास छैन ।

अब प्रश्न उठ्छ आफ्नो खुबीमा विस्वास नभएका शिक्षक शिक्षिका हरुलाई सरकारले किन पाल्ने ? उनीहरुको योग्यता परिक्षण हुनुपर्छ पर्दैन ? यहाँ शिक्षक शिक्षिका हुनलाई सर्टिफिकेट भएर कुनै पार्टीको बफादार भए पुग्यो ? पार्टीप्रति बफादार मान्छे नै पहिलो रोजाइ हुन्छन । हरेक पार्टीको उसको योग्यता, क्षमता उसको पार्टी प्रतिको लगाव , निरन्तरता अनि आशक्ति नै मुख्य र पहिलो शर्त हुन्छ । स्कुलमा पढाउन हैन आफ्नो अनुकुल राजनीति गतिबिधि गर्न शिक्षक नियुक्ति गरिन्छ हिजो पनि गरिन्थ्यो आज पनि त्यो क्रमभंग भएको छैन । अयोग्य शिक्षक शिक्षिका हटाउन शिक्षा कार्यलय सक्दैन किनकी संघ संघटन ले उसलाई कसैलाई पनि कार्यबाही नगर्न बाध्य पार्ने तागत राख्छन । शिक्षा छ गाउँमा धेरै सर्टिफिकेट बैधानिक तबरले बाँडिएको छ तर सर्टिफिकेट सिरानी हालेर सुत्न , मैले यति पढेको छु भनेर देखाउन अनि कहिं आबेदन दिनको लागि योग्य छन । त्यहाँ छानीन अनि आफ्नो क्षमता देखाउन काम लाग्दैनन् । अधिकांस नेपालका गाउँ र ठाउमा यो स्थिति छ ।

क्षमता अभिवृद्धि गर्ने रोगजारी सिर्जना गर्ने अनि कामलाई सानो ठुलो र हेला र होचो गर्ने काम प्रति सम्मान गर्न नसक्ने शिक्षा लिनु र दिनु अनि त्यस्तो ठाउमा लगानी गर्नु शिक्षालय खोल्नु भन्दा नखोल्नु नै जाति हो । स्कुल क्याम्पसहरु खोलिनु पर्छ तर गुणस्तर दिन सकिदैन भने बरु केहि ढिला खोल्दा हुन्छ तर अधकल्चो शिक्षा दिएर शिक्षित बेरोजगार बनाउनु बढाउनु उचित होइन छैन । यो अपराध कर्म नै हो । जहाँ र जता पनि स्कुल, क्याम्पस खुल्नु भन्दा भएकाको उचित ब्यबस्थापन र शैक्षिक अनि ब्यबसायिक र रोजगार उन्मुख अनि स्वार्जनमुखी हुनुपर्छ ।

गाउँ ,गाउँमा मोटर बाटो पुगेको छ तर मोटर बाटो जानु पर्ने ठाउँमा नपुगेर नजानु पर्ने ठाउमा पनि पुगेको छ । बिना प्राबिधिक ज्ञान, बिना भौगोलिक अध्यन अनुसन्धान, निर्ममतापूर्वक डोजर चलाएर बाटो खनिएको छ । केहि राजनीतिककर्मी र तिनको लहडमा बाटो बनेको छ । बिना बैज्ञानिक अनुसन्धान अव्यवस्थित अव्यवहारिक दक्ष प्राविधिकको सर्वे डिजाइन बेगर लठीभद्र तालले बाटो बनाएर ठाउँ कुठाँउ मृत्यु बोलाउने धराप थापिएको छ । जे होस् गाउँमा बाटो पुग्यो मोटर पुग्यो । मोटर पुगेपछि चढ्ने मान्छे ,मोटर पुगेपछि त्यसबाट फाइदा लिने मान्छे कम छन्आ । आफ्नो क्षमता अनुसार सानो ठुलो रोजगारीको लागि बैदिशिक रोजगारलाई धेरैले आफ्नो गन्तब्य बनाएका छन । सिमित पढे लेखेका मान्छे पढाई र बिभिन्न अवसरको शिलशिलामा संसारको जुनसुकै कुनामा पुगेका छन । गाउँका मान्छे अबसर खोज्दै शहरी बस्तीमा त्यहा पनि नभए सदरमुकाममा त्यहाँ पनि नभए काठमाडौंमा छन तर गाउँ बस्ती रित्तो छ । मोटर पुगेर पनि त्यसबाट अतिरिक्त लाभ लिने जनशक्ति गाउँमा छैन । खेतीयोग्य भुमि बाँझा र निष्काम भएका छन । ब्यबसायिक खेति त् टाढाको कुरा भयो परम्परागत खेति किसानी गर्ने मान्छे पनि गाउँमा छैनन् । मोटर बाटो पुगेको ठाउँमा खितियोग्य जमिन प्लाटिंग गरेर घडेरीमा बिक्रि हुन् थालेको छ ।

कृषि यति अपहेलित र अमर्यादित बनेको छ कि हिलो धुलोसंग गाउँका मान्छेको ठुलो बितृष्णा छ । आलु, लसुन प्याज, साग फलाएर खान भन्दा किनेर खान सस्तो र गर्वको कुरा हुने संस्कृतिको विकास भयो । कृषि कर्म गर्ने मजदुर ज्यालादारी खेताला अर्म पर्म गर्ने मान्छे पाउन नसकिने भयो । कृषि कार्य र लगानी महँगो भयो प्रतिफल नगन्य तसर्थ मान्छेहरु कृषि बाट अपेक्षित लाभ लिन नसकी सो पेशा नै परित्याग गर्ने परिस्थितिमा पुगे । पर निर्भरताको दुश्चक्र मौलाउँदै गयो । एउटा गाई भैंसी दूना प्रायः को घरमा टुट्दैन थियो अब खेतीपाती न गर्ने भए पछि गाईभैंसी पाल्ने लेठो मान्छेले नगर्ने भए बरु पाउडरको दुध किन्ने होर्लिक्स किन्ने गाई भैंसी पालेर सुद्द दुध दहि घ्यु महि नखाने यो कस्तो संस्कार र संस्कृति भित्रियो । मोही नखाने , सर्वत् नबनाउने तर त्यसको सट्टामा कोक फेन्टा पेप्सी घरघरमा पुगेको भेटिन्छ । सुद्ध आफ्नो घरको गाई भैंसीको घ्यु भन्दा शहरमा रामदेवको घ्यु राम्रो हुन्छरे पाइन्छरे त्यो यता । गाउँमै पठाई दे है छोरा भन्ने आमा बाबु गाउँमा छन । शहर हुँदै रामदेवको उत्पादन गाउमा पुगिसक्यो हामी नारामा स्वाबलम्बी , स्वार्जनमुखी , आत्मनिर्भर अनि रास्ट्रबादी छौ तर हाम्रो चुलोचौको शहरका कुरा छाडौ गाउमा समेत परदेशको । विदेशी उत्पादन पाक्ने भैसक्यो । गाउँको अर्गानिक र मौलिक संस्कृति बिस्तारै पर संस्कृति ग्रहण र परनिर्भरता तिर लाग्दैछ तर हाम्रो सरकार आँखा देख्दैन । हामी फलाउने भन्दा अर्काकै किनेर खाने र किन्ने वृति र प्रवृति लाई मलजल गर्दैछौ  

सूचना र संचारमा भने सहर जस्तै गाउँले पनि ठुलो फड्को मारेको छ । कुनै घरमा मोबाइल नभएको छैन । धेरै घरमा त् परिवारका सबै सदस्य बयस्क जति । अझ कति घरमा त ८ कक्षा पढ्ने बालबालिका समेत यसको सजिलो पहुँचमा छन । इमेल, इन्टनेट ,फेसबुक ट्वीटर को कारणले संसार आफ्नै घर आँगन बाट विचरण गर्न समर्थ भएका छन । सूचना र संचारमा भने अपूर्व क्रान्तिकारी छलांग नै मारेको छ सम्पूर्ण देशले जस्तै मेरो गाउँले पनि । गाउँलाई पुनः हराभरा र जागरुक ,शक्तिशाली , गतिशील अनि प्रगतिशील बनाउन सकिन्छ त्यसको लागि सरकारसंग केहि अपेक्षा छन् ।

जसले बिदेशी भूमिमा श्रम शिप पसिना र समय बेच्ने झन्डै ४० लाख युवालाई आकर्षित गर्ने कार्यक्रम र युवा नीति , देशभक्ति ,स्वाबलम्बी ,स्वाभिमानी आत्मनिर्भरता लाई पुरस्कृत गर्ने कृषिलाई ब्यबसायिक आधुनिकीकरण बजारीकरण, विविधिकरण करण औधोगीकरण ,सर्भ सुलभ मल बिउ बिजन प्रबिधि ब्यबसायिक सफ्ट लोन र मर्यादित अनि ब्यबस्थितित गर्ने । राजनीति र पेशा ब्यबसाय लाई नितान्त फरक ढंगले हेर्ने र ब्यबहार गर्ने प्रस्ट दुरगामी नीति र निर्णय गर्नुपर्छ देश बन्न धेरै समय लाग्दैन । कृषि पेशा हीनताबोध गर्ने पेशा नभई गौरब गर्ने र मान्छेको प्राणलाई बचाउन सहयोग पुग्ने संसारकै उत्कृस्ट पेशा र ब्यावसाय हो । जसमा लाग्नु जोडिन पाउनु अनि कर्म गर्न पाउनु मेरो अहोभाग्य को कुरा हो । म यसमा लाग्छु यसमा कर्म गर्ने सबै प्रति सम्मान र आदर गर्छु म कृषि व्यवसायी हुनु मेरो गर्बको बिषय हो भन्ने वातावरण र धारणा विकास गर्नु पर्छ । यो देश बन्न बेर लाग्दैन गाउँको विकास लाई प्राथमिकतामा राखेर सोच्ने कार्य योजना बनाउने अनि कार्यान्वन गर्ने र अनुगमन गर्ने हो भने परिवर्तन कुनै अलौकिक कुरा हैन हाम्रै खेतबारी बाट सम्भव छ । सरकार हामी आफ्नो गाउँ आफै बनाउछौ, गाउँ बनाउन होस्टे गर सरकार हामीले हैंसे गरेपछि देश नबन्ने कुरै छैन ।