८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘तरकारीवाली’, मुखर्जी र नेपाली मूर्खजीहरू


0
Shares

पेशल आचार्य – नेपालमा हिट हुन कुनै गहन विषयवस्तु नै नचाहिने भयो । पत्रकारिता अब सामाजिक उत्तरदायित्वबाट अघि बढेर मपाइँत्वको वर्णनखातिर ‘सेल्फी पत्रकारिता’ मा अनुवाद भयो । यसले हाम्रो पत्रकारिताको गन्तव्य कता जाला भन्ने यक्षप्रश्न जन्माएको छ ।

गत कार्तिक २० गतेको एक राष्ट्रिय दैनिकमा भारतका प्रसिद्ध पत्रकार तथा इन्डियन एक्सप्रेम दैनिकका प्रधानसम्पादक राजकमल झाको मन्तव्य नेपाली भावानुवादमा प्रकाशित छ । ‘सेल्फी पत्रकारिता युग !’ शीर्षकमा प्रकाशित सो सटिक विश्लेषणले के उजागर गर्दछ भने –राम्रा पत्रकार र राम्रो पत्रकारिताको अन्त्य भएको छैन । तर हामी अचेल यस्ता सेल्फी पत्रकारहरू देख्छौं, जो खालि म के सोच्छु, म कस्तो देखिन्छु र मेरो विचार के छ भन्ने कुरामा मात्रै केन्द्रित छन्’ भन्ने तर्कसहित सरकार नियन्त्रित पत्रकारहरूका बारे सूक्ष्मरूपले उछित्तो काढिएको छ । जसबाट के बुझिन्छ भने भारतमा पत्रकारहरू सरकारको गलत कार्यलाई ललकार्न माहिर छन् ।

यता नेपाली पत्रकारितामा भने अहिले ‘राम्रो होइन हाम्रो कन्टेन्ट’ छाप्ने काममा भरमार प्रयोग भइरहेको देखिन्छ । नेपालमा कुनै त्यस्तो सञ्चार माध्यम छैन् जसमा गीतकार, कवि, कथाकार, निबन्धकार, समालोचक र समीक्षक नभएको होस् । तीजो सञ्चार माध्यमबाहिर रहेर आफ्नो दृष्टि, समाज चेतना र समयलाई सम्बोधन गरी लेखिरहेका छन् –तिनीहरू किनारीकृत छन् । अझ काठमाडौँ केन्द्रित पत्रकारिताको त ‘हरिबिजोग’ देखिन्छ । गोरखापत्रमा पच्चीस वर्षदेखि पत्रकारिता गरेका एक पत्रकारका शब्दमा –‘यहाँ राजधानी केन्द्रित पत्रिकाका शनिवाशरीय परिशिष्टाङ्कहरूमा लेख, रचना, आख्यान, अनाख्यान र अन्य आर्टिकल छाप्नका लागि कि त तत्तत् शनिबार संयोजकलाई जाँड खुवाउनु पर्छ कि त तिनीहरूका ग्रुपमा पर्नुपर्छ । रूप र सारमा कम्पोजिसन मिलेका रचना भए पनि नेपालमा राम्रोलाई छापेर हाम्रोलाई नकार्ने सम्पादक छँदै छैनन् । कहीँकहीँ रानारूनी भए तिनीहरू पाश्र्वमा छन् । जसको बोली बिक्दैन ।’ सन्दर्भगत रूपमा भारतीय सम्पादक राजकमल झाले भारतका प्रधानमन्त्री मोदीको धर्मविरुद्धको रवैयालाई कटाक्ष गरेकाले यहाँ तिनी उद्धृत भए भने नेपालमा चाहिँ जुन बिग हाउसको होस् सम्वाददाता या समाचारदाता नै लेखक, कवि र कथाकार आदि सबै हुन खोज्ने ‘पण्डावृत्ति’ लाई चिर्न खोजिएको हो ।
    बेलायतमा एकपटक ‘मेन बुकर पुरस्कार’ कुनै बसको चालकले पाएको थियो । पेसा बस चालक भए पनि ऊ घघडान् लेखक थियो । अध्ययनले भन्छ –‘भारतमा पनि सबै साहित्यकार र सर्जक पत्रकारिता ग्रुपभित्रका छैनन् । सर्जक याने सरस्वतीका वरद्पुत्र जो कोही पनि र जहाँसुकै पनि हुन सक्छन् । आफ्नो समयलाई लेख्ने हक सबैलाई छ । डिजिटल मेडियाले गर्दा जस्तोसुकै बिग मिडिया हाउसका सम्पादकहरूको काम न्यूज सेलेक्सन, कम्पायलिङ् गर्ने भन्ने मात्र भयो । खासमा लेखकहरूले नै सबै सामग्री सेल्फराइटिङ्, प्रुफिङ् र इडिटिङ् गरेपछि साँचो अर्थमा सम्पादकहरूको ‘मृत्यु’ भैसकेको छ ।

‘सेल्फी पत्रकारहरू’ ले कुनै लेस कन्टेन्ट इसुलाई हटकेक बनाइदिने गरेको सन्दर्भ गोरखाकी सुमन श्रेष्ठउर्फ तरकारीवालीको समाचार हिट हुनु हो । जिम्मेवार पत्रकारिता गरिएको भए ती किशोरीलाई उनी भविष्यमा के बन्न चाहन्छिन् ? उनलाई जीवनमा अघि बढ्न केके बाधा अवरोधहरू छन् ? उनीजस्ता प्रतिभावान् मानिसहरूलाई राज्यले केके सुविधा दिएर आफ्नो प्रतिभा निखार्न लगाउन सक्छ ? भन्नेतर्फ सोच्ने खालका मानवीय रूचिभएका फिचर र समाचार लेख्न सक्थे ।न्यूज बे्रकिङ् कसले गर्ने भन्ने होड नै अहिले नेपालका छापा र अनलाइन पत्रकारिताले गरेका छन् । न्यूज ब्रेकिङ् गर्दा त्यो न्यूजको सेन्टरमा रहेको पात्र वा समाजलाई पछि गएर कस्तो असर पर्छ भन्ने आयाममा गहिरिएर सोच्दैनन् । आफ्नो समाचार बाइलाइन वा नयाँ स्कूपमा आए भयो । कुसुम श्रेष्ठका हकमा भयो पनि त्यस्तै । अर्धशिक्षित परिवारकी गरिखाने चेलीलाई अहिले बकम्फुसे टाइपका संस्था र सेल्फी पत्रकारहरूले झिँजोलीरहेका छन् । एक किशोरीका मानसिकतामा त्यस्ले कस्तो असर पुग्छ ? सोचिएको छैन । हामी तिनलाई किन गिजोलीरहेका छौं भन्ने पनि नजानीकन पत्रकारिताको नम्र्स एण्ड भ्यालुसमेत चटक्क बिर्सिएर समाचार लेखिरहेका छन् ।
    पत्रकारले समाजलाई गति दिने हो । अगति पक्कै होइन ।

सुमन श्रेष्ठ उर्फ ‘तरकारीवाली’ का फोटा फेसबुक र यु ट्युबमा भाइरल भइरहेका मात्र छैनन् । अनधिकृत रूपमा फोटा पोष्ट गरेर तिनै पत्रकारहरूले पाइरेसीको समेत उलङ्घन गरिरहेका छन् । यु ट्युबमा पोष्ट गरेका फोटाका निश्चित रकम तिनका पोल्टामा पर्नु पर्ने हो । जो तिनलाई पत्तै नदिई कुनै अनाम पोष्टवालाहरूले कुम्ल्याइरहेका छन् ! तिनका फोटा भाइरल भैरहेकाले अहिले फेरि नेपाली सञ्चारमाध्यममा खासगरी अनलाइनहरूमा कसैले भैँसी डो¥याएका, कसैले घाँसका भारी बोकेका, कसैले कोदालो बोकेका र कसैले हलोजुवा बोकेका फोटाहरू हालिरहेका छन् । यसबाट पनि के भेउ पाइन्छ भने हाम्रो समाजको पत्रकारिताको चेतना कति माथि छ ? कहाँको यात्रातय गर्दैछ ?

केही वर्षअघि एकजना सम्पादकले भनेको आवाज अझै कानमा घन्किरहेको छ –‘हामी कहाँ पत्रकार नै ‘निरक्षर’ छन् । केही हप्ताअघि एक अनलाइनका सम्पादक महोदयले व्यङ्ग्यात्मक शैलीमा आफूलगायत नेपाली पत्रकारहरू सबैलाई हुने गरी श्यामव्यङ्ग्य चेतमा ‘भर्जिन पत्रकार’ शीर्षकमा लेख लेखेका थिए । जसले बजार तताएको थियो र नयाँ बहसको शुरूआत गरेथ्यो । पत्रकारिताको मेखाला ओढेर कतिपय पत्रकारहरूले पेसाकारिता र पत्रुकारिता पनि गरिरहेका छन् । ‘राज्यसँग दलाली गर्दै वा समाचारसँग सम्बन्धित व्यक्ति वा संस्थासँग सेवा वा कोसेली नलिने पत्रकारहरू जन्मेकै छैनन्’ भन्ने उनको रायसँग सहमत हुन सकिन्छ ।

फरक सन्दर्भ भारतीय राष्ट्रपति प्रणव मुखर्जी आए । राजधानीको यातायात ३ दिनका लागि अस्तव्यस्त भयो । एक प्रकारले काठमाडौँमा क¥र्यू लागेजस्तै भएको थियो । सुत्केरी पनि बाटामा लुरूलुरू हिँडेको देखियो । रगत बोकेका बिरामीका आफन्तलाई पुलिसले बाटो हिँड्नसमेत रोकेको थियो । यातायात जामले प्रतीक अर्थमा नेपालका सबैजसो क्षेत्रहरू जाम छन् भन्ने अर्थ बोक्थ्यो । एकजना पाहुनाका लागि राजधानीका ५०÷६० लाख जनताले सास्ती झेल्नु प¥यो । लेमेनलाई सास्ती दिएर सरकारले अर्को एकपटक नेपाली जनतामा भएको भारतविरोधी मानसिकतालाई मुखसम्म ल्यायो र बाहिर निकाल्यो ।
    मुखर्जी आए । घुमे । पशुपति र जानकी मन्दिरमा पूजा गरे । पोखरा र सगरमाथाको माउन्टेन फ्ल्याइट इन्ज्वाय गरे । गए । तर नेपाली राजनीतिको सुकार्नो परेको गाँठो जहाँको त्यहीँ छ । मधेशवादी दलहरू टसमस गरेका छैनन् । सरकारको लम्पसारवाद र संविधान संशोधनका मुखमा लोकमान अङ्कलको मुद्दाले २०७४ मंसिरसम्म नेपालमा तीन तहका चुनावहरू सम्पन्न भएनन् भने नेपाली राजनीतिले अकल्पनीय क्षति भोग्नु पर्ने कुरा भूपू कार्यकारी प्रमुख खिलराज रेग्मीले पनि राजधानीको कुनै कार्यक्रममा सुझाएका छन् ।
    रह्यो मूर्खजीहरूको कुरा । नेपाली मूर्खजीहरूले गणतन्त्रका नाममा, संविधानका नाममा र भूकम्पका नाममा नेपाली गरिब र निमुखा जनतालाई दिन सम्मका दुःख दिए । जनउत्तरदायी सरकारै नभएको परिस्थितिमा नेपालमा उत्तर र दक्षिण जतासुकै तिरका राष्ट्रपति या प्रधानमन्त्री आए पनि केही हुनेवाला छैन । यो कुरा बच्चाबच्चा नेपालीलाई राम्ररी थाहा भैसकेको छ । सरकार किन थाहा नभएको नाटक गर्छ ?

प्रश्न यहाँनेर उठाउन सकिन्छ । फेरि सरकारी रवैयाकै बचकाना प्रवृत्तिका रूपमा बाहिर ‘लिक’ भई आएको भनिएको ‘अङ्गीकृत नागरिकतावालाले प्रमुख पदहरूमा जानसक्ने गरी संविधान संशोधन हुँदैछ’ भन्ने हौवा ‘बेला न कुबेला बजिनयेला’ उखानलाई सम्झाउने मेसो भैरहेको छ । यस्ता कुराहरूले सच्चा हिमाल, पहाड र मधेशवासी सम्पूर्ण नेपालीलाई फेरि झस्काएको छ । कुराहरूको पहाड आरोहण गर्नुभन्दा कामका चाङ्लाई घटाउनु राम्रो हो भन्ने जान्दाजान्दै दसौं ‘लोकमान’ भन्दा नेपालमा एकै ‘कुलमान’ काफी भएका दृष्टान्त गत २ हप्तादेखि राजधानीमा लोडसेडिङ् नभएबाटै पत्तो पाइन्छ । पावर किङ्हरूमा जानकारी होस् –देश भिजन र मिसनले बन्छ । जनता अल्मल्याउने कुराले पटक्कै हुँदै होइन ।