७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चितवनमा ५१९ जनामा डेंगु


0
Shares

चितवन, कात्तिक २२ । चितवनमा प्रकोपका रुपमा फैलिएको डेंगु रोगको संक्रमण घट्दै गएको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार भदौ–असोजमाभन्दा अहिले संक्रमणदर घट्न थालेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले कात्तिकको दोस्रो सातादेखि संक्रमणदरमा न्यूनीकरण भएको बताए ।

‘तरपनि डेंगुका बिरामी भेटिनेक्रम रोकिएको छैन, सचेतनामा स्थानीयवासीले ध्यान दिन जरुरी छ’–केसीले भने ।

अहिले डेंगु फैलने मौसम पनि सकिन लागेको र लामो समयदेखि वर्षा रोकिएकाले भाँडामा पानी जम्नेक्रमसमेत रोकिँदा डेंगु घट्न थालेको हो । जाडो मौसममा डेंगु संक्रमण न्यून हुन्छ ।

मुख्यगरी भाँडामा जमेको सफा पानीमा लामखुट्टेका लार्भा हुर्कने गर्छन् । भाँडामा पानी जम्न नदिए डेंगु संक्रमणमा आफैं न्यूनीकरण हुने चिकित्सकले बताएका छन् ।

जिल्लामा भदौ महिनादेखि कात्तिकको अहिलेसम्म ५१९ जनामा डेंगु रोग लागेको जनस्वास्थ्य कार्यालय चितवनले पुष्टि गरेको छ । तीमध्ये ७० देखि ८० प्रतिशत संक्रमण रत्ननगर नगरपालिकामा छ ।

रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेलले विगतमाभन्दा अहिले अस्पतालमा डेंगुका बिरामी घटेको बताए ।

‘पहिले आएका बिरामीमध्ये अधिकांश डेंगुका हुन्थे’–डा. पौडेलले भने–‘अहिले बिरामी घटेका छन् । यसअघि भरतपुर र रत्ननगरको बजार क्षेत्रमा २० हजार घर अनुगमन गर्दा ८०२ घरमा डेंगु पोजेटिभ पाइएको थियो ।’

‘एडिस एजेप्टाई’ जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ ।

लामखुट्टेको टोकाइबाट बच्नसके रोग लाग्नबाट जोगिन सकिने छ । भाँडामा एक हप्तासम्म पानी जम्न नदिन चिकित्सकले स्थानीयवासीलाई सल्लाह दिएका छन् । ज्वरो देखिए चिकित्सकको सल्लाहमा औषधि लिनसमेत भनिएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा सचेतनामूलक कार्यक्रमलाईसमेत जोड दिएको सूचना अधिकारी नरहरि शर्मा बताउँछन् । यो वर्ष नेपालमा १३ जिल्लामा डेंगु देखिएको छ ।

यसको खास उपचार पत्ता नलागेकाले लक्षणका आधारमा औषधि दिने गरिएको छ । रासस