
बुटवल, कात्तिक २१ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ ।
बुटवल उपमहानगरपालिका– ५ का अन्दाजी ३४ वर्षीय वीरबहादुर गुरुङको शव यही कात्तिक १४ गते राति बुटवल र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा फेला परेको थियो ।
बिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । निजको हत्यामा सैनामैना नगरपालिका– १२ का २५ वर्षीय सन्तोष थापा रहेको इलाका प्रहरी कार्यालय बुटवलले जिकिर गरेको छ ।
निजले आफूले लुकाएर ल्याएको हथौडाले पटक पटक प्रहार गरी बेहोस बनाएर लतार्दै पानीमा लगेर फालेको आरोप जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले लगाए ।
प्रहरीले अभियुक्तबाट एक थान हथौडा, चार थान मोबाइल टेलिफोन सिमकार्ड, कैँची लगायत सामग्री र मृतकका साथबाट पाँच थान इलेक्ट्रिक डेटोनेटर, हतियारमा प्रयोग हुने ११ थान छर्रा, रु पाँच लाख फिरौतीबारे लेखिएका कागजात र नक्सा बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट अभियुक्त र गुरुङ दुवै आपराधिक क्रियाकलापमा संलग्न रहेको र अभियुक्तले मृतकबाट अपराधको घटना सार्वजनिक हुने आशङ्कामा हत्या गरेको हुन सक्ने सम्भावना रहेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्