
काठमाडौं, कात्तिक २० । आगामी मंगलबार हुने अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिँदै गर्दा राष्ट्रपतिका दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प अन्तिम चुनावी प्रचार–प्रसारमा जुटेका छन् ।
अमेरिकाको पेन्सिलभेनिया, ओहायो, मिसिगन र पीट्सवर्गलगायतका राज्यमा भएको अन्तिम चुनावी प्रचारमा दुई प्रत्यासीबीच आरोप–प्रत्यारोप चलेको छ ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले पीट्सवर्गमा आयोजना गरिएको र्यालीलाई सम्बोधन गर्दै ‘रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई महिलाको अपमान गर्ने व्यक्तित्व’कोरुपमा चित्रित गर्दै उनले ‘आप्रवासी र मुस्लिमहरुको सम्मान गर्न नसक्ने’ बताएकी छन् ।
ट्रम्पले भने हैंपसेयरको र्यालीलाई सम्बोधन गर्नेक्रममा ‘हिलारी क्लिन्टनको चरित्र जान्न इमेल प्रकरण नै काफी’ रहेको प्रतिक्रिया दिँदै क्लिन्टनलाई ‘स्वार्थी महिला’को संज्ञा दिएका छन् ।
यता, पछिल्लो चुनावी सर्वेक्षणअनुसार हिलारी क्लिन्टनको पक्षमा ४७ प्रतिशत र ट्रम्पको पक्षमा ४४ प्रतिशत मतदाताहरुको समर्थन रहेको छ ।
यसअघिको सर्वेक्षणमा क्लिन्टनको पक्षमा ५० प्रतिशत मतदाताहरुको समर्थन रहेकोमा पछिल्लो समय ‘एफबीआई’ले इमेल प्रकरणमा फेरि छानबिन थालेपछि क्लिन्टनको लोकप्रियता घटेको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्