
काठमाडौं, कात्तिक १९ । श्रमजीवी पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सन्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेको छ ।
उक्त व्यवस्थाको कार्यान्वयनका लागि सन्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
स्वास्थ्य मन्त्रालयले अर्थ र सन्चार मन्त्रालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघलगायत सरोकारवाला संघ–संस्था तथा व्यक्तिको सहभागितामा समिति गठन गर्ने गृहकार्य सुरु गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सचिव शालिग्राम दाहालले जानकारी दिए ।
‘सूचना तथा सन्चार मन्त्रालयबाट पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिनेबारे चिठी प्राप्त भएको छ’–उनले भने–‘त्यसको कार्यान्वयनका लागि मापदन्ड बनाएर सरोकारवाला निकायको सहभागितामा समिति बनाउने र छलफल अगाडि बढाउने गृहकार्यमा मन्त्रालय लागिपरेको छ ।’
त्यसैगरी, मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यबिमा कार्याक्रममा पनि पत्रकारलाई कसरी लाभान्वित गर्न सकिन्छ भन्नेबारेसमेत छलफल भइरहेको र त्यसबारे पत्रकार महासंघले पनि चासो देखाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले बजेट पारित भएसँगै पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन हुनुपर्नेमा अहिलेसम्म त्यो कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले ‘उक्त व्यवस्था कार्यान्वयनका लागि महासंघले सन्चार, अर्थ र स्वास्थ्य मन्त्रालयलाईसमेत पटक–पटक अपिल गर्दै आएको छ’–भने ।
महासंघकै पहलमा बजेटमा व्यवस्था गरिएको हुँदा यदि कार्यान्वयन नभएको खन्डमा महासंघले सकारात्मक दबाब दिने उनको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्