१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


डोनाल्ड ट्रम्प पत्नी साइबर अभियानमा उत्रिइन्


0
Shares

बर्विन (पेन्सिल्भानिया), कात्तिक १९ । अमेरिकी राष्ट्रपति पदका प्रत्यासी डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले अमेरिकाको प्रथम महिला हुन अनलाइन साइबर अभियान थालेकी छन् ।

साथै, निर्वाचन प्रचारप्रसार अभियानमा विरलैमात्र देखिने गरेकी उनले अनलाइन साइबर अभियानमा भने ‘आफ्ना पति डोनाल्ड ह्वाइट हाउस पुगेमा अमेरिकी महिला तथा बालबालिकाका पक्षमा वकालती सेवामा लाग्ने’ पनि बताएकी छन् ।

मतदानको मिति आउनु एक हप्ताभन्दा कम समयअगाडि फिलाडेल्फियाको ग्रामीण क्षेत्रमा बिहीबार आयोजित मतयाचना कार्यक्रम (गेट–आउट–द–भोट)लाई सम्बोधन गर्दै उनले ‘विशेष गरी बालबालिका तथा किशोर–किशोरीप्रति हाम्रो संस्कार अनुदार रहेकाले यसलाई परिवर्तन गरी यस संस्कारलाई नै बालबालिका तथा किशोरकिशोरीमैत्री बनाउनु अपरिहार्य रहेको’ बताइन् ।

साथै, वर्तमान सरकारप्रति व्यंग्य कस्दै उनले ‘एउटी १२ वर्षकी निर्दोष किशोरी विद्यालय परिसरमै ख्यालठट्टा, धम्की वा दुर्व्यवहारको पात्र हुनुपर्ने क्रियाकलाप बारम्बार दोहोरिइरहेको’ भनिन् ।

निर्वाचन प्रचारप्रसार अभियानभर नै उनका पति ट्रम्पले दिएका बढ्तै आक्रामक र धम्कीपूर्ण अभिव्यक्तिलाई सामाजिक सन्जाल तथा सन्चारमाध्यमले राम्ररी उछालेका थिए ।

यस विषयलाई इंगित गर्दै उनले ‘सामाजिक सन्जाल तथा सन्चारमाध्यमले खतरा निम्त्याउने काम गर्ने हुन्’ भन्ने अभिव्यक्ति दिँदा धेरैलाई पचेन ।

अनलाइन साइबर अभियानमा सो सम्बोधनका क्रममा, ट्रम्पसँगको विवाह, आफ्ना छोराछोरीको गतिविधिबारे चर्चा, आफू अमेरिकामा आप्रवासी भइ बस्दाको अनुभवजस्ता नितान्त व्यक्तिगत मामिला पनि उनले खुलासा गरिन् ।

‘ट्रम्प महिलाप्रति अनुदार छन्, जहिले पनि महिलाहरुको न्यूनमूल्यांकन गर्छन् भन्ने आमजनधारणा पेन्सिल्भानिया तथा अरु मुख्यमुख्य राज्यहरुमा तीव्ररुपमा विकसित हुँदै ट्रम्प विजयी हुने आशा घट्दै गएको’ भनी डेमोक्र्याटले दाबी गरिरहेको छ ।

यसै सन्दर्भमा मेलानियाको सो सम्बोधन आफ्नो पतिको चरित्रबारे स्पष्टिकरण दिनेखालको रहेको भन्ने टिप्पणी गरिएको छ । रासस/एपी