
हरिविनोद अधिकारी –
भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमण सम्पन्न हुँदैछ । मुखर्जीको तीन दिने भ्रमणका दिनहरु बढी व्यस्त रहे । तर यो राजकीय भ्रमणले दुई देशका बिचमा देखिएको चिसो पनलाई हटाउन सक्छ कि सक्दैन , राजनीतिक विश्लेषकहरु र कूटनीतिक क्षेत्रमा त्यसैको चासो बढी देखिएको छ। अहिलेका एसियाका राजनेताहरुमध्ये बढी अनुभवी र प्राज्ञिक व्यक्तित्वका रुपमा मानिएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा पनि आफ्नो प्राज्ञिक छवि त देखाए , तर भारत र नेपालको जेलिएको सम्बन्धका वारेमा भने स्पष्ट केही नभनी कूटनीतिक भाषाको नै प्रयोग गरेका छन् । नेपालका वारेमा प्रशंसा पनि गरे, एक स्वाधीन राष्ट्र पनि भने , संविधान घोषणालाई वधाइ पनि दिए जबकि संविधान घोषणा भएको एक वर्ष पनि बितिसकेको छ ।
संंविधानका वारेमा भारतले अनावश्यक झमेला निकालेको कुरा जगजाहेर छ । राष्ट्रपति मुखर्जीलाई पनि थाहा नहुने कुरै भएन । संविधानका वारेमा रहेको तिक्ततालाई मेटाउन नै संविधान सभाको प्रसङ्गसहित वधाइ दिइएको होला । स्वभावतः नरम स्वभावका मुखर्जी भारतका विदेश मन्त्री भइसकेका नेता हुन् र नेपालका मामिलामा जानकार पनि मानिन्छन् । अल जजिरालाई जानकारी दिएर माओबादीका वारेमा खुलासा गर्ने मान्छेलाई नेपालको शान्ति प्रक्रियाको वारेमा सबै जानकारी छ र नेपाली जनयुद्धको अन्तर्यसमेत थाहा छ । इतिहासदेखिको नेपाल भारत सम्बन्धको लेखाजोखामात्र गरेर अहिलेको जटिल बनेको नेपाल भारत सम्बन्ध सुध्रिने अवस्थामा छैन र नेपालको सामाजिक, आर्थिक, राजनीतिक अवस्था नसुध्रिएसम्म नेपाल भारतको सम्बन्धले उध्र्व गति लिन सक्ने पनि देखिँदैन भन्ने कुरा मुखर्जीलाई थाहा छ ।
जहाँसम्म नेपाल र नेपालीको भारतसँगको सम्बन्धको कुरा छ, नेपालीको नियति कस्तो छ भने मुखर्जीको भ्रमणकै बेला परेर कस्मिरमा एकजना नेपाली युवा विमल तामाङको भारतीय सीमा सुरक्षाकै बेलामा वीरगति प्राप्त भएका छ । नेपालीहरु भारतको सीमा रक्षाका लागि लड्दैछन् र भारतमा नेपालीहरुको मात्र गोर्खा रेजिमेन्ट स्थापित छ । लाखौँ नेपालीको श्रमले भारतको विकास सम्भव भएको छ जस्तो कि लाखौँ नेपालीको रगतले भारतको स्वतन्त्रता प्राप्त भएको थियो । कृतज्ञ नेपालीहरु भारतलाई उसको स्वतन्त्रताको वधाइ ज्ञापन गर्दै आफ्नू देशबाट जहानियाँ राणा शासन हटाउन खटेका थिए र डुब्न लागेका राणासँग उसको भविष्यका वारेमा लेनदेन गर्दै १९५० को सन्धी भएको थियो । राणा त गए तर त्यो सन्धी आज पनि कायम छ र परिवर्तनको कुरा हुन्छ, सेलाउँछ ।
वास्तवमा आफ्नो अन्तिम चरणमा प्रवेश गरेको राष्ट्रपतीय कार्यकालमै राष्ट्रप्रमुखको हैसियतमा नेपालको राजकीय भ्रमणमै पशुपति नाथको दर्शन र नेपालीको न्यानो आतिथ्य पाउने अभिलाषाका लागि यो भ्रमण पक्कै भएको होइन किनभने यसभन्दा पहिले पनि अर्थमन्त्रीको रुपमा र विदेशमन्त्रीको रुपमा मुखर्जीको नेपाल भ्रमण भइसकेको थियो । कुनै बेला स्वर्गीय इन्दिरा गान्धीका विश्वास पात्र र दोस्रो वरीयताका मन्त्रीसमेत रहेका मुखर्जीका लागि नेपाललाई दिने केही संकेत होला भन्ने अनुमान थियो । तर त्यस्तो केही देखिएन ।त्यसैले यो उच्चस्तरीय सद्भावना भ्रमणले मात्र जेलिएको सम्बन्धमा सहजीकरण हुन सक्ने पनि देखिँदैन । भूकम्पपश्चात थिलथिलो भएको नेपालमा भारतको अघोषित नाकाबन्दीका कारणले नेपालमा बढेको भारतप्रतिको चिढाचिढाहटको अनुमान भने यो भ्रमणमा देखिएको छ ।
यो भ्रमण एउटा आलङ्कारिक राष्ट्रप्रमुखको हो र यसले संविधान घोषणालगत्तै भारतले गरेको व्यवहारलाई केही सहजीकरण गरे पनि , संविधान घोषणाका लागि वधाइ ज्ञापन गरे पनि सबैलाई समेटेर जानुपर्ने भन्ने प्रधानमन्त्री मोदीको भाषाको प्रतिध्वनि आएको छ र यसले भारतको विदेश नीतिको लयमा कुनै परिवर्तन नआएको सङ्केत दिएको छ जवकि नेपालको बुझाइमा सम्बन्ध सहजीकरणमात्र होइन, सम्बन्ध पुरानै अवस्थामा पुगेको छ । कोही भन्छन् भारतसँग सम्बन्ध बिग्रिएकै थिएन त कोही भन्छन् नेपाल भारत सम्बन्धले लय लिनै सकेको छैन । यही अन्यौलमा राष्ट्रपति मुखर्जीको भ्रमणका कार्यक्रम सुचारु भइरहेका छन् नेपालले त्यस्तो कुनै सङ्केत गरेको छैन जसले गर्दा सुध्रिन थालेको सम्बन्ध बिग्रियोस् । हुन त राजनीतिक विश्लेषकहरुले अनुमान गरेका थिए —भारतीय राष्ट्रपतिको कार्तिक १७ गतेदेखि सुरु भएको राजकीय भ्रमणले दुई देशका बिचको चिसो सम्बन्धलाई न्यानो गराउने छ र हिजोका दिनमा भारत सरकारले दिएका दबाबको प्रायश्चितको सङ्केत आउने छ । तर भारतको आधिकारिक धारणामा परिवर्तन आएको देखिँदैन।
एउटा विदेशमामिला विज्ञसमेत रहेका र भारत नेपालको सम्बन्धसेतु हुन सक्ने व्यक्तित्वले बोल्ने भाषामा केही सकारात्मकता भने पाइएको छ । यो कुरा पनि पक्कै हो कि अस्थिर नेपाल र अविकसित नेपाल भारतका लागि पनि सहयोगी हुन सक्दैन र नेपालको विकासका लागि भारतको भूमिका जहिले पनि अहम छ । राष्ट्रपति मुखर्जीलाई ठूलो मान सम्मान नेपालले दिएको छ । यसलाई यता केही वर्षदेखि नदेखिएको अभूतपूर्व सम्मान दिएकोमा मुखर्जीले पनि मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
नेपालको संविधान २०७२ को घोषणापछि नेपालका दुई दुई जना प्रधानमन्त्रीहरुले भारतको भ्रमण गरेका छन् र भारतका राष्ट्रपतिको भ्रमण चलिरहेको छ । दिल्ली फर्किएपछि हाम्रा राष्ट्रपति विद्यादेवी भण्डारीको स्थगित भारत भ्रमणको पनि तिथि छिट्ट तय हुनेछ । कूटनीतिक श्रोतले जनाएअनुसार सकेसम्म यही कार्तिकको अन्तसम्ममा नेपालका राष्ट्रपतिको भ्रमण हुनेछ किनकि मुखर्जीको चाहना पनि आफ्नो कार्यकालमा नै राष्ट्रपति भवनमा स्वागत गर्ने देखिएको छ । भारतको भ्रमणको मिति तय भइसकेपछि र राष्ट्रपति भण्डारीले भारत जाने निश्चित भएको भनेर पत्रकार सम्मेलन गरिसकेपछि भ्रमण एकाएक स्थगित भएको थियो सरकारका तर्फबाट । त्यसलाई भारतले अनौठो मानेको थियो । हुन पनि राष्ट्रपतिले स्वयम् पत्रकार सम्मेलन गरेर जाने तय भएको जानकारी दिएपछि स्थगित भएको भ्रमण लगत्तै राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको थियो । अब संयोग कस्तो परेको छ भने दीपकुमार उपाध्याय फेरि राजदूतमा नियुक्ति पाएर जाने बित्तिकै हाम्रा राष्ट्रपतिको भ्रमण हुने सम्भावना बढेको छ । मान्नुप¥यो कि हाम्रो कूटनीति जहाँ थियो , अब त्यहीँबाट सुरु हुन लाग्यो ।
यो भ्रमण पश्चात् के विश्वास गर्न सकिन्छ भने अनुभवी राजनेता मुखर्जीले नेपालको मनोविज्ञान नजिकैबाट राम्रैसँग अनुभूत गर्नसकेकोले भारत सरकारलाई नेपालीको चाहनाको वारेमा सकारात्मकरुपमा नेपालसँग प्रस्तुत हुने सल्लाह दिने सम्भावना बलियो छ । किनकि आफ्नो कार्यकालको पछिल्लो चरण र परिपक्व उमेरको कूटनीतिक व्यक्तित्व भएकाले नेपालसँगको सम्बन्धलाई कसरी सुमधुर र समानताको आधारभूमिा विकास गर्न सकिन्छ भन्ने थाहा छ।
१८ वर्ष ५ महिनापछि भएको यो उच्चस्तरीय भ्रमणले पक्कै नै नेपाल र भारतको सम्बन्धलाई न्यानो बनाउन मद्दत पु¥याउने र आगामी दिनमा भारतको सकारात्मक सहयोगको अपेक्षा गरेमा अत्युक्ति हुनेछैन । यसमा महामहिम राष्ट्रपति मुखर्जीको प्रयास रहने कुराको आशा , अपेक्षा र विश्वास गर्न सकिन्छ ।
भारतको चाहनामा सुरक्षाको चासो बढी छ । नेपालबाट भारतको सुरक्षामा कहिल्यै चुनौती छैन भन्ने कुरा त नेपालीहरु अहिले पनि भारतको सीमा सुरक्षामा तैनाथ छन् र आफ्नो दौत्य सम्बन्ध भएका देशहरुसँग भारतका लागि लड्दैछन् । बरु सबैको चिन्ताको विषय यो भएको हो कि त्यस्तो नेपालसँगको व्यवहारमा भारतले किन संवेदनशीलता नदेखाउन सकेको होला ?
प्रतिक्रिया दिनुहोस्