
चितवन, कात्तिक १७ । चितवनको भरतपुर र रत्ननगरको बजार क्षेत्रमा ८०२ घर डेंगु पोजेटिभ पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चलाएको डेंगु रोग लगाउने लामखुट्टेको बासस्थान खोजेर लार्भा नस्ट गर्ने अभियानका क्रममा गरेको स्थलगत अनुगमनमा यस्तो पाइएको हो ।
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २० हजार २६७ ओटा घरमा गरिएको अनुगमनमा ८०२ घरको एक हजार २५२ कन्टेर र भाँडामा डेंगु सार्ने लामखुट्टेका लार्भा भेटिएको हो ।
गएको असोज १६ गतेदेखि १८ गतेसम्म यहाँ गरिएको अनुगमन प्रतिवेदनबारे बुधबार जानकारी दिँदै उहाँले रत्ननगर र भरतपुरका बजार क्षेत्रमा डेंगु सार्ने लामखुट्टे रहेकाले यस्ता लामखुट्टेबाट बच्न सर्वसाधारणलाई अपिल गरेका छन् ।
खोजी अभियान तथा स्थलगत अनुगमनमा स्वास्थ्यकर्मीसहित १५० जना स्वयंसेवक परिचालन गररिएको थियो । फेलापरेका लामखुट्टेका लार्भा नस्ट भएको कार्यालयले जनाएको छ ।
चितवनको भरतपुर उपमहानगर क्षेत्रमा १६ हजार ४८५ घरमा गरिएको अनुगमनमा ५४९ घर तथा रत्ननगरका तीन हजार ७८२ घरमा गरिएको परीक्षणमा २५३ घर डेंगु पोजेटिभ फेलापरेको निरीक्षक केसीले जानकारी दिए ।
एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ ।
लामखुट्टेको टोकाइबाट बच्ने र भाँडामा एक हप्तासम्म पानी जन्म नदिए यो रोग लाग्नबाट बच्न सकिने चिकित्सक डा. विजय पौडेलले बताए ।
चितवनमा भदौदेखि अहिलेसम्म ४५० भन्दा बढीमा डेंगु रोग देखिइसकेको छ । रासस
प्रतिक्रिया दिनुहोस्