
गोरखा, कात्तिक १७ । तीन दिनदेखि सुत्केरीव्यथाले थलापरेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
सुत्केरीव्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह पुर्याइएको बिरामीका आफन्त सन्त गुरुङले बताए ।
आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट बुधबार दिउँसो काठमाडौं लगिएको हो ।
‘रु एक लाख ३० हजार भाडा तिरेर हेलिकोप्टर भाडामा लिएका हौं’–गुरुङले भने–‘छरछिमेक, आफन्तले पैसा जुटाएका हुन् ।’
आइतमायाको श्रीमान् माइला पदयात्रामा गएका छन् ।
स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकोप्टरमार्फत् काठमाडौैं लगिएको हो ।
गुम्दा गाउँसम्म सडकको ट्र्याक खुलेको भएपनि भनेका बेला जिप चल्दैनन् । सदरमुकामदेखि गुम्दा पुग्न करिब एक दिन जिपको यात्रा गर्नुपर्छ ।
दुर्गम क्षेत्रमा गतिलो स्वास्थ्य सेवा नहुँदा स्थानीयवासीले ऋण खोजेर हेलिकप्टोरमार्फत् सुत्केरी गराउन अन्यत्र लानुपर्ने बाध्यता छ । रासस
प्रतिक्रिया दिनुहोस्