
इटहरी, कात्तिक १६ । सुनसरीको तरहरास्थित भोजपुरे लजमा हतियारधारी समूहले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा धनकुटाका तोरन पौडेल र लज संचालक जंग राई छन् ।
मंगलबार बिहान चार जनाको समूहमा आएकाहरुले उनीहरुमाथि आक्रमण गरेका हुन् । लजमा सुतिरहेका पौडेलमाथि कोठामै गोली हानिएको थियो भने उनलाई बचाउन गएका राईमाथि पनि गोली हानिएको प्रहरीले जनाएको छ ।
पौडेलको दायाँ पाखुरा र दायाँ घुँडामा एक÷एक गोली लागेको छ भने राईको ढाडमा तीन गोली लागेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए ।
गोली हानेर चारैजना भागेका छन् । उनीहरुको पहिचान हुन नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइते दुबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते दुबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्