
महोत्तरी, कात्तिक १३ । महोत्तरीमा अपहृत युवक हात र आँखा बाँधेको अवस्थामा शनिबार बिहान खदैरबनीस्थित हरदीखोला पुलमुनि फेलापरेका छन् ।
महोत्तरी–सोनमा गाविस–२ का ३५ वर्षीय सिकिन्द्र यादव बिहीबार राति ९ बजे अपहरणमा परेका थिए ।
जिल्लाको पर्सा देवाड–२ स्थित आफ्नो ससुराली आएका यादव घरतर्फ आउनेक्रममा गौशाला–सम्सी सडकखन्डमा पर्ने पर्सा देवाड–१ बाट अपहरणमा परेका थिए ।
यादव अपहरणमा परेको सूचना शुक्रबार बिहान प्रहरीलाई प्राप्त हुनासाथ उनको खोजीकार्य तीव्र पारिएको थियो ।
सोहीक्रममा सशस्त्र र जनपद प्रहरीको टोलीले संयुक्तरुपमा चलाएको सर्च अभियानका क्रममा खोज्दै जाँदा खदैरबनीस्थित हरदीखोला पुलमुनि हात र आँखा बाँधेको अवस्थामा यादव सकुसल फेलापरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
प्रहरी उपरीक्षक भट्टराईले भने–‘हाम्रो मुख्य लक्ष्य भनेको यादवलाई सकुसल फिर्ता ल्याउनु हो, त्यसमा हामी सफल भयौं । अब भने उनीसँग सोधपुछ गर्दा कसले र कुन प्रयोजनका लागि अपहरण गरेको हो भन्ने खुल्नेछ ।’ रासस
प्रतिक्रिया दिनुहोस्