
बुटवल, कात्तिक १३ । रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी एक महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
सोहीअनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ ।
जिल्लाको देवदह नगरपालिका–२ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
दुई महिनाकी सुत्केरीसमेत रहेकी पाण्डेको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा शुक्रबार बिहान मृत्यु भएको हो ।
लुटपाटमा आएको समूहले उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा थप अनुसन्धानकार्यलाई अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
प्रहरीका अनुसार लुटेराको समूहले निज महिलाले शरीरमा लगाएका करिब पाँच तोला बराबरका विभिन्न गहनासमेत लुटेर लगेकाले सोहीअनुसार अनुसन्धान भइरहेको डीएसपी मरासिनीले बताए ।
उनले घटनाको थप अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट अनुसन्धानको प्राविधिक टोलीसमेत मगाइएको र छिट्टै नै अनुसन्धानमा सफलता मिल्ने दाबी गरे ।
मृतक पाण्डेका पति लामो समयदेखि वैदेशिक रोजगारीमा रहँदै आएका छन् । राति कोठामा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर हत्या गरी लुटपाट गरिएको थियो ।
घरमा अर्को कोठामा सुतिरहेका परिवारले बिहान करिब ३.३० बजेमात्र अत्याधिक रगत बगेको देखेर थाहा पाएका थिए ।
गम्भीर अवस्थामा रहेकी उनलाई उपचारार्थ अस्पताल पुर्याउँदा मृत्यु भएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्