११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


प्रहरीवृत्तमै तोडफोड, दुई प्रहरी घाइते


0
Shares

                                                                 फाइल फोटो

भक्तपुर, कात्तिक १२ । मोटरसाइकल ठक्करबाट मृत्यु भएको महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरीवृत्त थिमिमा शुक्रबार तोडफोड गरेका छन् ।

तीव्रगतिमा आएको बा८०प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुर थिमिमा विहीबार साँझ दोलखा–८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै शुक्रबार प्रहरीवृत्त थिमि घेराउ गरेका छन् ।

उनीहरुले मृतकका दुई छोरा–छोरीको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

प्रहरीवृत्त घेराउ गर्नेहरुले ढुंगा प्रहार गर्दा वृतमा कार्यरत् प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् । घाइते दुबैजनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

ढुंगा प्रहारबाट महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडिको सिसा फुटेको छ भने प्रहरीवृत्त थिमिको भवनको सिसा फुटेको छ ।

तोडफोडबाट करिब रु. एक लाख ५० हजारको क्षति भएको अनुमान प्रहरीको छ ।

तोडफोडमा संलग्न रहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस