
महोत्तरी, कात्तिक १२ । जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडा–पखालाबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए ।
झाडा–पाखालाबाट सिकिस्त भएकी राधिकालाई उपचारका लागि विहीबार राति जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
झाडापाखालाबाट सो वडाको दलित बस्तीमा ५२ जना प्रभावित भएको पनि उनले जानकारी दिए ।
चार दिनदेखि धबौलीमा झाडा–पाखालाको प्रकोप देखिएको र त्यसबाट गम्भीररुपमा प्रभावित कमलेश सदा, उनकी आमा राजवती सदा, छोराहरु विवेक सदा र अमर सदाका साथै छिमेकी आलसी सदा, ज्ञानेन्द्र सदा, विकास सदा र विन्दिया सदालगायत ८ जनाको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ ।
सो बस्तीका बासिन्दाले पाँच दिनअघि घरनजिकै रहेको एउटै खाल्डोबाट दूषित माछा र घोँघी खाएपछि उनीहरु झाडा–पाखालाबाट प्रभावित भएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरको नेतृत्वमा गएको चिकित्सकको टोलीले सो क्षेत्रमा औषधिसमेत लगेर उपचार गरिरहेको र प्रभावितको अवस्था सामान्य भइरहेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्