
काठमाडौं, कात्तिक ११ । सरकारले अब गाउँका स्वास्थ्यचौकीमा नै मिर्गाैलामा खराबी भए/नभएको पत्ता लगाउन सकिने व्यवस्था गर्ने तयारी गरेको छ ।
मिर्गाैला खराब भए/नभएको पत्ता लगाउन प्रयोग गरिने ‘डिपिस्टिक किट’ (औषधि उपकरणको पोका) देशभरका सबै स्वास्थ्यचौकीमै उपलब्ध गराइएपछि सो सेवा उपलब्ध हुने भएको हो ।
स्वास्थ्य मन्त्रालय, आपूर्ति व्यवस्थापन विभागले मनाङबाहेक ७४ जिल्लाका सबै स्वास्थ्यचौकीमा पहिलो चरणमा २० लाख किट पठाइसकेकोे छ ।
महाशाखाका निर्देशक डा. भीमसिंह तिनकरीले मनाङमा बाटोको समस्याका कारण कीट पठाउन नसकिएको बताउँदै एक सातामै त्यहाँ किट पठाउने जानकारी दिए ।
क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयलगायत गरी १३३ स्वास्थ्य संस्थामा पुग्ने गरी किट वितरण गरिएको महाशाखाले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा पठाउने बताइएको छ ।
निर्देशक तिनकरीले २० मिलिलिटर पिसाबले किट भिजाएपछि देखिने किटको रङका आधारमा मिर्गाैलाका अवस्थाकाबारेमा थाहा पाउन सकिने बताए ।
परीक्षणमा पहिलोपल्ट कुनै खराबी नदेखिएमा एक वर्षपछि पुनःअर्को परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्रालयले यसै वर्ष विद्यालयमा स्वास्थ्यकर्मीसहित किट पठाएर विद्यार्थीको मिर्गौला परीक्षण गर्ने तयारीसमेत गरेको छ ।
मन्त्रालयले सबै ठाउँमा पायकपर्ने स्वास्थ्य संस्थामा गइ आफ्नो मिर्गाैला जाँच गरी सेवा लिन सबैमा आग्रह गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्