१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


रिपब्लिकनका लागि भोट मागेकी हिलारी कसरी बनिन् डेमोक्रेटिक !


0
Shares

वासिंटन, कात्तिक ११ । अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनले यतिबेला विश्वलाई नै प्रभावित पारेको छ । विभिन्न मुलुकले अमेरिकाको नयाँ नेतृत्वमा कसको जित हुने हो र त्यसले विश्वलाई कस्तो प्रभाव पार्दछ भन्नेबारे लेखाजोखा गरिरहेका छन् ।

पछिल्लो समय अमेरिकी राष्ट्रपतिको दौडमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको पकड बलियो देखिएको छ । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको कथित यौन शोषणका फेहरिस्तहरु प्रकाशमा आएपछि अमेरिकी महिलामाझ हिलारीको लोकप्रियता बढेको छ । यतिमात्र होइन, कालो वर्णका अमेरिकीहरु र युवामाझ पनि हिलारी लोकप्रिय देखिएकी छन् ।

हिलारीको पृष्ठभूमिका रुपमा धेरैलाई थाहा भएको विषय हो– उनी अमेरिकी प्रथम महिला भइसकेकी व्यक्तित्व हुन् । अर्थात् उनका पति बिल क्लिन्टन दुई कार्यकालसम्म अमेरिकाको राष्ट्रपति बने । हिलारी अमेरिकाको पूर्व विदेश मन्त्री पनि हुन् ।

यसबाहेक हिलारीको पृष्ठभूमि धेरैलाई थाहा नहुन सक्छ । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी हिलारीले कुनैबेला रिपलब्लिकन पार्टीका उम्मेदवारका लागि मत माग्दै चुनावी प्रचारमा उत्रिएको तथ्य त धेरैका लागि अपत्यारिलो नै लाग्न सक्छ ।

हिलारीको जन्म २६ अक्टोबर १९४७ मा अमेरिकाको शिकागो सहरमा भएको हो । उनका पिता ह्यु रोडहम अमेरिकी नौसेनामा थिए । हिलारीकी आमा डोरोथी सानैदेखि आमाबुवाको प्रेमबाट वञ्चित भएका कारण आफ्नो सन्तान (हिलारी)लाई असाध्यै माया गर्थिन् ।

सेनाको कडा अनुशासनमा बाँधिएका पिताले भने हिलारीलाई कामका लागि महिला र पुरुषबीच कुनै भिन्नता नहुने तर्कहरु सुनाउँथे । पुरुषले गर्न सक्ने काम महिलाले पनि गर्न सक्छन् भन्ने उनको मान्यता थियो ।

मध्यम परिवारमा सामान्यस्तरको बाल्यकाल बिताएकी हिलारीको जीवनमा १५ अप्रिल १९६२ को दिन खास रह्यो । त्यसदिन शिकागोमा कालो वर्णका अमेरिकीका लागि समान अधिकारका लागि आन्दोलन गर्दै आएका प्रख्यात नेता मार्टिन लुथर किंगले आफ्नो भाषणलगत्तै १५ वर्षकी हिलारीसँग हात मिलाएका थिए ।

गोराहरुको बस्तीमा एक कालो नेताले गोरी युवतीसँग हात मिलाउनु त्यतिबेलाको अमेरिकी समाजमा सानो घटना थिएन । हिलारीका अनुसार मार्टिन लुथर किंगसँगको त्यो भेटले उनको जीवनमा गहिरो छाप बनाएको छ ।

आज डेमोक्रेटिक पार्टीको उम्मेदवार बनेकी हिलारीको सुरुवाती राजनीतिक ज्ञान र झुकाव रिपब्लिकन पार्टीतर्फ मोडिएको थियो । सन् १९६४ मा हिलारीले रिपब्लिकन उम्मेदवार बेरी गोल्डवाटरका लागि मत माग्दै चुनाव प्रचारसमेत गरेकी थिइन्, यद्यपि उनी त्यतिबेला वालिग नभएका कारण मताधिकारबाट वञ्चित थिइन् ।

रिपब्लिकन पार्टीप्रतिको झुकाव उनमा धेरैदिन रहेन । कलेजको पढाइ सुरु गर्नासाथ उनको भेट बिल क्लिन्टनसँग भयो । यो भेटघाट प्रेममा परिवर्तन हुन धेरै समय लागेन । पढाइकै क्रममा बिल र हिलारीले सन् १९७२ मा डेमोक्रेटिक पार्टीका प्रत्यासी मेक्गवर्नको पक्षमा प्रचार गरे ।

सन् १९७४ अमेरिकी राजनीतिका लागि खास मानिन्छ । तत्कालिन राष्ट्रपति रिचर्ड निक्सन एउटा विवादमा तानिए । वाटरगेट स्क्यान्डल नामले चर्चित सो काण्डमा निक्सनमाथि डेमोक्रेटिक पार्टीको कार्यालयमा चोरी गराएको आरोप लगाइएको थियो ।

वकिलको एउटा समूहले निक्सनविरुद्ध प्रमाणहरु जुटाइरहेको थियो । हिलारीले पनि एक वकिलका रुपमा यो अभियानमा सक्रिय साथ दिएकी थिइन् । तर कानुनी लडाई अघि नै निक्सनले राजीनामा दिए ।

त्यसपछि हिलारीले अर्कान्ससमा कानुन विषयको अध्यापन गर्न थालिन् । उता बिल क्लिन्टन भने राजनीतिमा आफ्नो स्थान खोज्न थाले । सन् १९७४ मा बिल क्लिन्टनले अर्कान्ससको गभर्नरको चुनावमा करिब ६ हजार मतले पराजय व्यहोर्नु परेको थियो ।

अक्टोबर ११, सन् १९७५ मा बिल क्लिन्टन र हिलारीले बिहे गरे । दुबैको विवाह आफू बस्दै आएको घरकै एउटा कोठामा भएको थियो । पाँच वर्षपछि सन् १९८० मा छोरी चेल्सीको जन्म भयो ।

सन् १९९२ मा बिल क्लिन्टनले अमेरिकी राष्ट्रपति पदका लागि दाबी गरे । उनी भन्ने गर्दथे, ‘मलाई राष्ट्रपति चयन गर्दा एक जनामात्र होइन, दुईजना योग्य मानिस देशले पाउनेछ ।’ उनी आफूसँगै हिलारीको नाम पनि जोड्दथे ।

अन्ततः ३ नोभेम्बर १९९२ मा बिल बिल क्लिन्टनले राष्ट्रपति पदमा जित हासिल गरे । त्यसपछि दुई कार्यकाल हिलारीले अमेरिकी प्रथम महिलाको रुपमा बिल क्लिन्टनलाई सघाइन् । यसबीचमा बिल क्लिन्टन विभिन्न विवादमा तानिए पनि हिलारीले उनको साथ छोडिनन् ।

बिल क्लिन्टनको कार्यकाल सकिनु अघि नै हिलारीले राजनीतिमा सक्रियता बढाइसकेकी थिइन् । उनी न्यूयोर्कबाट सिनेटर चुनिइन् । सन् २००८ मा उनले डेमोक्रेटिक पार्टीभित्रै राष्ट्रपति पदको उम्मेदवारीका लागि बाराक ओबामासँग प्रतिश्पर्धा गरिन् । तर सफल भइनन् । पछि ओबामा प्रशासनमा उनले विदेश मन्त्रीको भूमिका निर्वाह गरिन् । दोस्रो प्रयासमा भने उनले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारी हासिल गरिन् । अहिले उनी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको तुलनामा बढी लोकप्रिय रहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । (एजेन्सी)