
वासिंटन, कात्तिक ७ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबाट कथित रुपमा यौन शोषण गरिएका वा प्रस्ताव गरिएका महिलाहरु विभिन्न काण्ड उजागर गर्दै एकपछि अर्को घटना सार्वजनिक गर्ने क्रम जारी छ ।
यसै क्रममा पछिल्लो पटक एक पोर्नस्टारले नयाँ घटना प्रकाशमा ल्याएकी छन् । पोर्नस्टार जेसिका ड्रेकले ट्रम्पमाथि नयाँ आरोप लगाएकी हुन् । जेसिकाका अनुसार उनलाई ट्रम्पले एउटा होटलमा एक्लै आउन प्रस्ताव गरेका थिए । बदलमा ट्रम्पले १० हजार अमेरिकी डलर दिने प्रलोभनसमेत देखाएको उनले बताइन् । तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ ।
लस एन्जलसमा पत्रकार सम्मेलन गर्दै जेसिकाले भनिन्, ‘त्यतिबेला म केही साथीहरुसँग ट्रम्पलाई भेट गर्न होटलमा पुगेकी थिएँ ।’ त्यतिबेला आफूसँगै गएका दुई युवतीलाई ट्रम्पले चुम्बन गरेको उनले बताइन् ।
‘मलाई ट्रम्प बसेको होटलको कोठामा एक्लै आउनका लागि १० हजार डलरको प्रस्ताव गरिएको थियो,’ उनले भनिन् । एक अपरिचित व्यक्तिले समेत फोन गरेर आफूलाई ट्रम्पका तर्फबाट सो प्रस्ताव दोहोर्याएको उनको भनाइ छ ।
यो समेत ट्रम्पमाथि कथित यौन शोषणका सम्बन्धमा आरोप लगाउने महिलाको संख्या ११ पुगेको छ ।
ट्रम्पले भने आफूविरुद्ध सुनियोजित रुपमा षडयन्त्र भइरहेको जिकिर गर्दै यस्ता कुनै पनि आरोपमा सत्यता नभएको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्