
नुवाकोट, कात्तिक ७ । पछिल्लो समय नेपाली भाषामा भइरहेको विवादको चाँडोभन्दा चाँडो अन्त्य गरिनुपर्ने माग नेपाली सहित्यिक पत्रकार सङ्घले गरेको छ ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शनिबार नुवाकोटमा सम्पन्न पहिलो बैठक सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा बसेको थियो ।
्
नेपाली भाषामा देखापरेको समस्याको उचित निकास गराउन सबै पक्ष लाग्नुपर्ने निर्णय बैठकले गरेको छ । सङ्घले भाषाको विवादका कारण हुन सक्ने समस्या र अहिले भइरहेको अन्योल चिर्नका लागि तत्काल सङ्घको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
बैठकले विभिन्न विभाग गठन गरी जिम्मेवारी बाँडफाँटसमेत गरेको छ । बैठकले भाषा, अन्तर्राष्ट्रिय साहित्य समन्वय, प्रकाशन र साहित्यिक पत्रकारिता इतिहास लेखन विभाग गठन गरेको छ ।
यस्तै शनिबार नै विदुरमा भएको भेलाले सुमित्रा सुमीका अध्यक्षतामा नेपाल साहित्यिक पत्रकार सङ्घ नुवाकोट शाखा गठन गरेको छ ।
शाखाका उपाध्यक्षमा दुर्गा पनेरु, सचिवमा रामकृष्ण गजुरेल र कोषाध्यक्षमा भगवती लामा तथा सदस्यमा रामहरि खनाल, गमला लामा र करण तामाङ घलान रहेका छन् । शाखा समितिका सल्लाहकारमा सङ्घका केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा दीक्षान्त सिटौलाद्वारा लिखित ‘सपना पाटी’ किशोर उपन्यास पनि विमोचन गरिएको थियो । उपन्यासमाथि साहित्यकार शिवसुन्दर पुडासैनीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा ‘नुवाकोटेली साहित्यिक पत्रकारिता स् विगत र वर्तमान’ शीर्षकको कार्यपत्र साहित्यकार आरएम डङ्गोलले प्रस्तुत गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्