
काठमाडौं । नेपाली संगीत दुनियाँमा कुनै कलाकार बर्षौ संघर्ष गर्दा पनि सफल बन्न सकिरहेका छैनन् । दरिलो इच्छाशक्ती, कठोर साधना र मिठो स्वर हुँदाहुँदै पनि कतिपय कलाकार गुमनाममै छन् ।
तर एक ‘फुच्ची’ गायिका जसले नेपाली सांगीतिक इतिहासमा स्टार बन्ने संकेत देखाएकी छिन् ।
सानो तर हसिलो अनुहार र स्लिम शरीरले सुहाउदिली देखिएकी एन्जिला रेग्मी (१८)ले सानो उमेरमै संगीत पारखीको मन जितिसकेकी छिन् ।
उनका स्टेज कार्यक्रमहरु विदेशमा समेत हुन थालिसकेका छन् । साच्चै भन्ने हो भने एन्जिला गुमनाम रुपमै चम्किरहेकी छिन् ।
नेपालमा मात्रै दर्जनौं स्टेज कार्यक्रममार्फत तन्नेरीलाई नचाइसकेकी उनी हालै मात्र थाइल्याण्डका विभिन्न स्थानमा कन्सर्ट गरेर फर्किसकेकी छिन् ।
बुटबलकी एन्जिला नेपाली रजतपटमा नयाँ अनुहार हो । कक्षा ४ मा पढ्दा देखि नै स्टेजमा देखिएकी एन्जिला असल र चर्चित गायिका बन्ने अभियानमा छिन् ।
‘म तडकभडक र उश्रृंखलतालाई रुचाउँदिन, नेपाली संगीतलाई सम्मानजनक रुपमा स्थापित गराउने योजनामा छु ।’ तारादेवी, कोइलीदेवीलाई आदर्श गायिकाका रुपमा स्विकार्ने उनी इन्दिरा जोशीको लयलाई पछ्याउन चाहन्छिन् ।
प्लसटु सिध्याएकी एन्जिलाले स्कुले जीवनमै गीतहरु रेकर्ड गराइसकेकी थिइन् ।
कक्षा ५ मा पढ्दा ‘समिश्रण’, कक्षा ७ मा पढदा ‘लुकिछिपी’ नौं मा पढ्दा ‘एन्जिला’ र प्लस टु मा ‘पिरतीको डोली’ लगायतका एल्बममा उनले स्वर भरिसकेकी छिन् ।
चलचित्र ‘सुश्री’समेत स्वर दिएकी एन्जिलाले १५ वटा जति गीत रेकर्ड गराइसकेकी छिन् । ‘पिरतीको गोली’,‘आज मैले मनको कुरा’, ‘मुटुको धड्कन’ बोलका गीतहरु चर्चित भएका छन् ।
म्यूजिक खबरबाट ‘वेस्ट पप सिंगर अवार्ड’को उपाधि पाइसकेकी उनी संगीतमा दुःख र रमाइलो दुवै रहेको बताउँछिन् ।
उनले स्वर भरेका गीतको भिडियोमा प्रियंका कार्की, पल शाह, किरण लाकौल, रिमा विश्वकर्मा, यसराज, सुप्रिया कटवाललगायले समेत मोडलिङ गरेका छन् ।
पारिवारिक सहयोगबाट संगीतमा लागेकी एन्जिलालाई बुबा र ममीको ‘स्टार कलाकार’ बनाउने सपनालाई पुरा गर्ने अठोट लिएकी छिन् ।
उनको स्वरमा सजिएको ‘क पुरी क’ बोलको गीतको म्यूजिक भिडियो समेत तयार भएको छ ।
–युवराज
प्रतिक्रिया दिनुहोस्