
वासिंगटन, कात्तिक ५ । अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गैरहेको राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारद्वय हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले चुनावी प्रचार–प्रसारमा खर्चको खोलो बगाएका छन् ।
प्रचार–प्रसारकोक्रममा विभिन्न स्थानका आमसभा वा प्रत्यक्ष टेलिभिजन बहसमा बारुलाले चिलेझैं तीखो र आक्रामकरुपमा प्रस्तुत् भएपछि ट्रम्पले आफ्नो बचाऊ गर्नका लागि प्रचार–प्रसार खर्चमा गतः महिनाको तुलनामा दुईगुणाभन्दा बढी बृद्धि गरेका छन् भने हिलारीको खर्च पनि कम छैन ।
उम्मेदवारी दर्ता भएदेखियता हालसम्म ट्रम्पले मोटामोटी सात करोड अमेरिकी डलर सिध्याइसकेका छन् ।
त्यसैगरी, हिलारी पनि खर्च गर्नमा कम छैनन् । उनले पनि हालसम्म ट्रम्पको भन्दा बढ्तै मोटामोटी ८ करोड ३० लाख अमेरिकी डलर सिध्याइसकेकी छन् ।
ह्वाइट हाउस प्रवेश गर्ने दौडबाजीमा के–केमा के–कति खर्च भए भनी संघीय चुनाव आयोग (फेडरल इलेक्सन कमिसन)लाई बुझाइएको पछिल्लो आर्थिक विवरण प्रतिवेदनमा दुबै उम्मेदवारको खर्चमा नाटकीय बृद्धि भएको देखिएको छ ।
क्लिन्टनले विज्ञापन र सन्चारमाध्यमको खरिदमा करिब ६ करोड ६० लाख डलर खन्याएको तुलनामा यस धनराशीको केही अंशमात्र ट्रम्पले विज्ञापनमा खर्च गरेको देखाइएको छ ।
त्यस्तै, आफ्नो प्रचार–प्रसारकाक्रममा शिविर, कार्यालय सन्चालन तथा अरु प्रयोजनका लागि क्लिन्टनले ८०० कार्यकर्ता, कर्मचारीलाई काममा लगाएकी छन् । उनीहरुको पारिश्रमिक तथा अरु सम्बन्धित खर्चले उनको समग्र मासिक खर्चमा दोस्रो स्थान ओगटेको छ ।
ट्रम्पपट्टि भने परामर्शदाता वा सल्लाहकारसहित ३५० जनामात्र कर्मचारी छन् । उनले आफूप्रति समर्पित स्थानीय रिपब्लिकन मतदाताहरुलाई नै कार्यकर्ता नियुक्त गरेका छन् ।
न्यूयोर्कका घर–जग्गा व्यवसायी धनाढ्य ट्रम्प गतः सेप्टेम्बर महिनाअघिसम्म अलि न्यून खर्चमा प्रचार–प्रसार गर्दै आएका थिए भने सेप्टेम्बर महिनाको व्यापारिक विज्ञापन शुल्कमामात्र यिनले दुई करोड ३० लाख डलर भुक्तानी गरे ।
साथै, निर्वाचन मैदानमा उत्रेका अरु पार्टीका र स्वतन्त्र उम्मेदवारहरुको खर्च पनि बढेको जनाइएको छ ।
फेडरल इलेक्सन कमिसनलाई बुझाइएको आर्थिक विवरण प्रतिवेदनमा उम्मेदवारहरुले गरेका खर्चको स्रोत पनि खुलाइएको छ ।
रिपब्लिकन पार्टीबाट प्राप्त आर्थिक सहयोग, आफ्नो कमाइ र पहिला–पहिला सन्चालन गरिएको निवार्चन खर्च जुटाउने अभियानबाट प्राप्त रकमलाई ट्रम्पले खर्चको स्रोत उल्लेख गरेका छन् ।
क्लिन्टनले पनि डेमोक्र्याटिक पार्टीबाट प्राप्त आर्थिक सहयोग, विभिन्न स्थानमा आफ्ना समर्थकहरुले पहिला–पहिला सन्चालन गरेका निवार्चन खर्च जुटाउने अभियानबाट उठेको रकम र खर्बपति व्यापारी डोनाल्ड सुसम्यानले दिएको चन्दा सहयोगलाई खर्चको स्रोत उल्लेख गरेकी छन् ।
यसैबीच, गतः बुधबार साँझ सम्पन्न प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रममा ट्रम्पलाई सोधिएको एक प्रश्नको उत्तर दिनेक्रममा आवेशमा आइ ट्रम्पले ‘यस निर्वाचनमा आफ्नो विजय नभइ क्लिन्टनको विजय भएमा निर्वाचन परिणाम स्वीकार नगर्ने’ भनी दिएको अभिव्यक्तिलाई राष्ट्रपति बाराक ओबामाले ‘खतराजन्य’ र ‘प्रजातान्त्रिक मूल्य र मान्यताविपरीतको’ भन्ने टिप्पणी गरेका छन् । रासस/एपी
प्रतिक्रिया दिनुहोस्