
बग्दाद, कात्तिक ५ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) विरुद्ध इराकको मोसुलमा भइरहेको निर्णायक सैन्य कारवाही प्रभावकारी हुँदै गएको बताइन्छ ।
इराकी सेना र संयुक्त गठबन्धनले गरेको कारवाही चौथो दिनसम्म पुग्दा सो क्षेत्रमा आईएसको पकड निकै कमजोर भइसकेको अधिकारीहरुको भनाइ छ ।
अधिकारीहरुका अनुसार आइएसका लडाकुहरु सैन्य कारवाहीबाट बच्नका लागि महिलाको पोशाक लगाएर सहरबाट बाहिरिन थालेका छन् । महिलाको पोशाकमा केही आईएस लडाकु पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।
महिलाको पोशाकमा बुर्का लगाएर अनुहार छोप्दै लडाकुहरु मोसुलबाट बाहिरिन थालेको अधिकारीहरुको भनाइ छ ।
कुर्दिस लडाकुहरुको समुहले मोसुल नजिकै दुई आईएस लडाकुलाई महिलाको भेषमा बाहिरिदैं गरेको अवस्थामा फेला पारेको छ ।
आइएसले मोसुलमा मानव ढाल बनाएर आत्मरक्षाका लागि अन्तिम प्रयास गरिरहेको पनि अधिकारीहरुको भनाइ छ । आइएसका लडाकुहरुले सैन्य कारवाही बढेपछि मोसुलमा रहेका तेलका खानीमा समेत आगजनी गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्