
लस भेगास (नेभादा), कात्तिक ४ । अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका दुई सशक्त उम्मेदवारः हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पकाबीच फेरि एकपटक चर्को बहस भएको छ ।
चुनावी प्रचार–प्रसारकाक्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको जनाइएको छ ।
नेभादा राज्यको लस भेगासस्थित एक विश्वविद्यालयमा स्थानीय समयानुसार बुधबार साँझ ६ः०० बजेदेखि सुरु भएको टेलिभिजन बहस करिब दुई घन्टासम्म चलेको थियो ।
प्रत्यक्ष प्रसारण गरिएको सो बहसमा मुख्य–मुख्य १० विषयः कर प्रणाली, रोजगारीका अवसर सिर्जना, आप्रवासीसम्बन्धित समस्या, वैदेशिक नीति, वाणिज्य तथा वैदेशिक व्यापार, नियम–कानुनको परिपालना, बालबालिका संरक्षण, बन्दुकको स्वामित्वसम्बन्धी ऐनलगायत अरु धेरै आन्तरिक तथा बाह्य मामिलामा दुबै उम्मेदवारले आ–आफ्नो धारणा प्रस्तुत् गरे ।
बहस र बादविवादकाक्रममा दुबै उम्मेदवार आ–आफ्नो पार्टीको नीतिगत भिन्नता पुष्टि गरी स्रोताको मन जित्न खोज्नुभन्दा आ–आफ्नै अडानमा रही व्यक्तित्वको टक्कर वा जुँगाको लडाइँमा भुलेका प्रतित हुन्थ्यो ।
आप्रवासी समस्याबारे ट्रम्पले एकपटक स्पेनी भाषाको शव्दबाट ‘कु–मनसाय लिएका खराब मानिन (ब्याड होम्बर्स)लाई अमेरिकाबाट धपाउनुपर्छ भन्ने सम्बोधन गर्दा ‘होम्बर्स’ शब्द मेक्सिकाली आप्रवासीलाई लक्षित गरिएको हो भन्ने अर्थ लाग्न गइ तत्कालै यसको विश्वव्यापी तीव्र प्रतिक्रिया र विरोध भयो ।
लाखौं व्यक्तिले अनलाइन र ट्वीटरबाट यसको विरोध साथ आक्रोस पनि पोखेका छन् ।
उम्मेदवारी दिनासाथै ट्रम्पले आप्रवासी मामिलालाई अमेरिकाको मुख्य समस्या बताएको र हरेक सम्बोधन, भाषणमा वर्तमान आप्रवासी नीतिको तीव्र आलोचना गर्दै यसमा आमूल परिवर्तन ल्याउनुपर्ने वकालत गर्दै आएका छन् ।
आप्रवासी मामिलामा ट्रम्पको सम्बोधन निकै आक्रामक रहेकाले धेरै स्रोतावर्गले रुचाएको पाइएन ।
अझ मेक्सिकोसँगको सीमाक्षेत्रको दुई हजार माइलभन्दा बढी अमेरिकी भूमिमा बलियो पर्खाल निर्माण गर्ने रिपब्लिकन पार्टीको योजनालाई जोडदार शब्दमा घोषणा गरे ।
अरु देशबाट अमेरिका बसाइँसराइ गर्नेहरुलाई निरुत्साहित गरिने र अमेरिका आफैंले पनि आप्रवासी आमन्त्रण नगर्ने भन्दै ट्रम्पले यस्ता मामिलामा कुनैपनि सम्झौता नगरिने बताए ।
क्लिन्टन भने आप्रवासी मामिलामा त्यक्ति गम्भीर भइनन् । सीमा सुरक्षालाई चुस्त बनाइने, वर्षौंदेखि अमेरिकामा बसोबास गर्दै आएका तर कागजपत्र दुरुस्त नभएका आप्रवासीहरुलाई कानुनी मान्यता दिइ आप्रवासी कानुनको शर्त पूरा गर्नेहरुलाई अमेरिकी नागरिकतासमेत दिइने क्लिन्टनको भनाइ रह्यो ।
बहसकैक्रममा ट्रम्पले क्लिन्टन र राष्ट्रपति बाराक ओबामालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘कठपुतली’ भन्ने संज्ञा दिँदा स्रोतामाझ निकै हाँसो पैदा भएको थियो ।
त्यस्तै, अमेरिकामा रोजगारीका अवसर सिर्जनाका सम्बन्धमा ट्रम्पले ‘आगामी १० वर्षमा थप दुई करोड ५० लाखजनालाई रोजगारी दिने ग्यारेन्टी गर्छु’ भने भने हिलारीले कुनै समय सीमा नतोकी, आफूले तयार पारेको आर्थिक योजना लागू भएमा एक करोड थप रोजगारीका अवसर उपलब्ध हुने दाबी गरिन् ।
व्यक्तिगत गाली–गलौज भने अत्यन्त न्यून रहेको सो बहस कार्यक्रम समग्रमा पहिले पहिले सन्चालित यस्तै कार्यक्रमहरुभन्दा खासै भिन्न नभएतापनि यस अन्तिम प्रत्यक्ष बहसले क्लिन्टनलाई थोरै लाभ र ट्रम्पलाई धेरै हानि पुर्याउनेखालको रह्यो भन्ने निष्कर्ष निकालिएको छ । रासस/एपी
प्रतिक्रिया दिनुहोस्