
काठमाडौं, कात्तिक ४ । अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवारबीच आज(बिहीबार) तेस्रो तथा अन्तिम टेलिभिजन बहस भएको छ ।
रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनबीच लस भेगासमा प्रेसिडेन्सिल बहस भएको हो ।
बहसका क्रममा डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प देशको राष्ट्रपति निर्वाचित भएमा त्यो रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको कठपुतली हुने आरोप लगाएकी छन् ।
उनले पुटिनले ट्रम्पलाई समर्थन गर्नुमा रुसले अमेरिकामा कठपुतली राष्ट्रपति चाहेको र उक्त उद्देश्य ट्रम्पबाट पुरा हुने आरोप लगाइन् । उनले ट्रम्पलाई अमेरिकी सेना तथा इन्टेलिजेन्स बिज्ञभन्दा पनि रसियन राष्ट्रपति पुटिनको पक्ष लिएको आरोप लगाइन् ।
तर ट्रम्पले भने रसियन राष्ट्रपतिसँग आफ्नो सम्बन्ध भएको भन्ने आरोप अस्वीकार गर्दै रसियाले अमेरिकाको राष्ट्रपति चुनावमा दखल गर्न खोजेको भन्ने अमेरिकी इन्टेलिजेन्स र सरकारको आरोपलाई पनि अस्वीकार गरेका छन् ।
बहसमा दुई उमेदवारहरुले इमिग्रेसन, महिला अधिकार, बन्दुक नियन्त्रणलगायत विषयमा पनि छलफल भएको थियो ।
संसारभरका करोडौं दर्शकले हरेको भनिएको बहसमा क्लिन्टनले ट्रम्पमाथि यौन उत्पीडनको आरोप लाग्नु ठूलो मुद्दा भएको भन्दै ट्रम्पले माफी नमाग्नु गम्भीर विषय भएको बताइन् । तर, ट्रम्पले महिलाहरुले लगाएको आरोपको खण्डन गरेका थिए ।
दुई उम्मेदवारबीच आप्रवासनको मुद्दामा पनि विचार बाझिएको थियो । हिलारीले बहसका क्रममा ट्रम्पलाई उनले अमेरिकाको रसियासँग भएको परमाणु अप्रसार सन्धि रद्द गर्न सक्ने आरोप लगाएकी थिइन् ।
ट्रम्पले सिरिया तथा परमाणु मिसाइलको सन्दर्भमा रसियन राष्ट्रपति पुटिन हिलारी र राष्ट्रपति ओबामाभन्दा बढी स्मार्ट प्रमाणित भएको बताए ।
उनले आफू राष्ट्रपतिमा निर्वाचित भए अमेरिका र मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने तथा अमेरिकामा बस्ने अवैध आप्रवासीलाई माफी नदिने पक्षमा रहेको बताए ।
तर हिलारीले भने आफू निर्वाचित भएको १०० दिनभित्र व्यापक इमिग्रेसन योजना सार्वजनिक गर्ने बताएकी छन् ।
अमेरिकाको लास भेगासस्थित युनिभर्सिटी अफ नेवादामा भएको तेस्रो तथा अन्तिम टेलिभिजन बहसमा दुई उमेदबारले आ–आफ्नो धारणा राखेका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्