१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


क्लिन्टन–ट्रम्पको अन्तिम बहस, अमेरिकी राजनीतिका लागि ‘महत्वपूर्ण’ रात


0
Shares

वासिङटन, कात्तिक ३ । अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पकाबीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ ।

मतदान हुनुभन्दा २० दिन अगाडि उनीको अन्तिम संयुक्त बहस हुन लागेको हो । त्यो रात अमेरिकी राजनीतिका लागि एउटा महत्वपूर्ण रात पनि मानिने छ ।

स्थानीय समयअनुसार साँझ ६ः०० बजे सुरु हुने बहस ९० मिनेटको हुनेछ । बहस लस भेगसमा रहेको नेभादा विश्वविद्यालयमा हुनेछ ।

बहसका लागि दुबै उम्मेदवारलाई पहिले बहसमा जस्तैगरी राखिनेछ । लामो समयदेखि राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका ६९ वर्षीय क्रिस वाल्सले सन्चालन गर्ने सो कार्यक्रम अमेरिकाका अधिकांश टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि, पहिलो बहस २६ सेक्टेम्बरमा भएको थियो भने दोस्रो बहस अक्टोबर ९ मा भएको थियो ।

ती दुबै बहसपछि हिलारी थप लोकप्रिय देखिँदै गएकी छन् । पछिल्लोपटक गत सोमबार गरिएको मत सर्वेक्षणमा पनि हिलारी क्लिनटन नै अगाडि देखिएकी छन् ।

महिलाविरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्ताले जनाएका छन् ।

करिब एक हप्ताअगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रोपटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रव्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो । रासस/एएफपी/एपी