
बेइजिङ, कार्तिक १ । चीनले दुई यात्रीसहितको यान अन्तरिक्षमा पठाएको छ ।
सेनजु–११ नामको सो यान चीनको गोबी मरुभूमिस्थित जियोचुयान स्याटेलाइट लन्च सेन्टरबाट अन्तरिक्षमा पठाइएको हो ।
यो यान प्रक्षेपणसँगै अमेरिका र रुसपछि चीन अन्तरिक्ष यात्रीसहितको यान प्रक्षेपण गर्ने तेस्रो राष्ट्र बनेको छ । यो यानले चन्द्रमा र मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने सम्भावनाबारे अध्ययन र अनुसन्धान गर्नेछ ।
सो यानमा जाने अन्तरिक्ष यात्रीमा ४९ वर्षीय जिंग हैपेंग र ३७ वर्षका चेन डांग छन् । यीमध्ये जिंग हैपेंग यसअघि पनि दुई पटक अन्तरिक्षमा पुगिसकेका ब्यक्ति हुन् ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्षको खोजमा यो यानले सफलता हासिल गर्ने तथा चीनले अन्तरिक्षको क्षेत्रमा छलाङ मार्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।
चीनले तीन वर्ष पहिले रोबर मिसन, जेड रैबिट रोबोटलाई सफलतापूर्वक चन्द्रमामा प्रक्षेपण गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्