
काठमाडौं, असोज ३० । केही व्यवसायी एवं व्यक्तिलाई आफू विभिन्न सशस्त्र समूहको कमान्डर भएको भनी धम्क्याउँदै रकम असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
भूमिगत समूह ‘अलकायदा’ विश्व संगठन (दक्षिण एसिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमान्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, सिद्दारा गाविस घर भइ हाल काठमाडौं, मनमैंजुका बैकुण्ठ बेल्वासेलाई प्रहरीले केही दिनअगाडि पक्राउ गरेको हो ।
बेल्वासेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मनमैंजुबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पठाएको छ ।
उनले विभिन्न मोबाइल नम्बरबाट फोन गरी तथा चिठीपत्र पठाइ रकम असुल्ने गरेको महाशाखाले आइतबार जनाएको छ ।
यसअघि, राजकुमार ढुंगानालाई संगठितरुपमा हतियार देखाइ अपहरण गरेको अभियोगमा वि.सं. २०७० जेठ १३ गते निज बेल्वासेसहित चारजनालाई पक्राउ परी अपहरण तथा शरीर बन्धक र संगठित अपराधमा साउन १० गते काठमाडौं जिल्ला अदालतको फैसलाले सजाय भइ २७ महिना जेल भुक्तान गरी बेल्वासे वि.सं. २०७२ भदौ २७ गते जेलमुक्त भएकोे अनुसन्धानकाक्रममा खुलेको प्रहरीले जनाएको छ ।
उनको साथबाट धम्की दिन प्रयोग गरेको सिमकार्ड, अलकायदा विश्व संगठन (दक्षिण एसिया, नेपाल)का नाममा रु १३ लाख सहयोग भन्ने व्यहोरामा लेखेको पत्र, सशस्त्र डिफेन्स आर्मी फोर्सका नाममा आर्थिक सहयोग गर्ने सम्बन्धमा लेखेको पत्र, सशस्त्र अग्निज्वालाका नाममा बैठक बस्ने भन्ने व्यहोरामा लेखेको पत्र, टाइगर मुक्ति मोर्चाका नाममा आर्थिक सहयोगको पत्र, खोजखबर न्यूजका नाममा सहयोगका लागि लेखिएको पत्र र नगद रु एक लाख ५० हजार बरामद गरेको महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्