
वासिंटन, असोज २९ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प संकटमा परेका छन् ।
कथित रुपमा उनले यौन दुर्व्यवहार गरेका महिलाहरु एकपछि अर्को गर्दै घटना विवरणसहित सार्वजनिक हुन थालेपछि ट्रम्पको चुनावी अभियानमा नराम्रो धक्का लागेको छ ।
पछिल्लो पटक दुई महिलाले उनीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका छन् । अमेरिकी अखबार वासिंटन पोस्टका अनुसार ट्रम्पविरुद्ध ४६ वर्षीय क्रिस्टिना एन्डरसनले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । सन् १९९० मा न्यूयोर्कको एक क्लवमा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको उनको दाबी छ ।
वासिंटन पोस्टका अनुसार ट्रम्पबाट क्रिस्टिना पीडित भएको जानकारी पाएपछि उनीसँग घटनाबारे जानकारी माग्दा लामो समयसम्म उनी उक्त घटना सार्वजनिक गर्ने वा नगर्ने भन्ने द्विविधामा थिइन् । अन्ततः उनले उक्त घटना सार्वजनिक गर्ने निधो गर्दै अखबारका प्रतिनिधिसामू घटना विवरण सार्वजनिक गरेकी हुन् ।
त्यस्तै ४१ वर्षीय समर जोरभोसले पनि आफू ट्रम्पबाट यौन दुर्व्यवहारको शिकार बनेको आरोप लगाएकी छन् । ट्रम्पसँग सन् २००७ मा होटलमा भेट हुँदा आफूमाथि जबरजस्ती चुम्बन गरेको तथा शारीरिक शोषण गरेको उनको आरोप छ ।
ट्रम्पले टेलिभिजन बहसका क्रममा यौन दुर्व्यवहारको आरोपलाई ठाडै अस्वीकार गरेका कारण आफूले खुलेर ट्रम्पका करतुत बाहिर ल्याउने साहस जुटाएको उनले बताइन् ।
यसअघि ७४ वर्षीय जेसिका लिड्सले पनि ट्रम्पबाट आफू यौन शोषणको शिकार बनेको आरोप लगाएकी थिइन् ।
यता ट्रम्पले भने आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका छन् । उनले चुनाव अभियान प्रभावित तुल्याउन यस्ता अफवाह फैलाइएको जिकिर गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्