८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


डा. गोविन्द केसीको अनशन स्थगित


0
Shares

                                                           फाइल फोटो

काठमाडौं, असोज २२ । चिकित्साशिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनरत् प्रा.डा. गोविन्द केसीले दसैं अवधिभर आफ्नो अनशन स्थगन गरेका छन् ।

अनशनरत् अवस्थामा शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गरी दसैं अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गरेका हुन् ।

विभिन्न माग राख्दै यही असोज १० गते प्रा.डा. केसीले नवौं आमरण अनशन सुरु गरेका थिए । सरकारले गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नुपरेको उनले बताएका थिए ।

यसअघि, यही असोज ३ गते नै अनशनको घोषणा गरेका उनले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक हप्ता सरकारलाई समय दिइ अनशन स्थगन गरेका थिए ।

डा. केसीले चिकित्साशिक्षा अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने, विचाराधीन विधेयक संसदबाट फिर्ता लिनुपर्ने र आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपर्ने, चिकित्साशिक्षामा सुधार गर्नुपर्नेजस्ता माग राख्दै आएका छन् । रासस