११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाल प्रहरीको ६० वर्ष (भिडियो रिपोर्ट)


0
Shares

गृष्मा राजभण्डारी (इमेज)
काठमाडौं, असोज २० । नागरिकको सुरक्षाको जिम्मेवारी सम्हालेको नेपाल प्रहरीले ६१औं प्रहरी दिवस मनाइरहँदा एकातिर यसले इतिहासका विभिन्न कालखन्डमा पुर्‍याएको महत्वपूर्ण योगदानको चर्चा भैरहेको छ भने अर्कोतिर अनेकन कान्डका कारण गिर्दो साखको समीक्षा पनि ।

सत्य, सेवा, सुरक्षणम् । नेपाल प्रहरीको गुरुमन्त्र हो यो अनि पहिचान पनि । यही गुरुमन्त्रलाई आत्मसात् गर्दै नेपाली नागरिकको जीउधनको सुरक्षामा समर्पित प्रहरी सेवाले भव्यताका साथ ६१औं प्रहरी दिवस मनाएको छ ।

२०१२ सालमा सीमित संख्यामा स्थापित नेपाल प्रहरी अहिले संख्यात्मक र संगठन सञ्जालका हिसाबले व्यापक भएको छ ।

हाल ७२ हजार ७ सय २९ को संख्यामा रहेको प्रहरी जनशक्ति माओवादी जनयुद्धकालमा सबैभन्दा चर्को निशानामा परेको यो संगठनले अत्यन्तै प्रतिकूल अवस्थामा पनि आफ्नो दायित्व पालना गरेकोमा मूलतः यसको प्रशंसा नै हुने गर्दछ ।

त्यसक्रममासमेत गरेर कर्तव्य पालनाकाक्रममा एक हजार चार सयभन्दा बढी प्रहरीले जीवनको आहुतिसमेत दिएका छन्, जसको योगदानको सही मूल्यांकन नभएको ‘क्रन्दन’ अहिले पनि पीडित परिवारले गरिरहेका छन् ।

आपराधिक न्याय प्रणालीकै एक महत्वपूर्ण अंगकारुपमा स्थापित प्रहरी संगठनका मूलतः शान्ति–सुरक्षा, सवारी व्यवस्थापन, अपराध नियन्त्रण, महत्वपूर्ण प्रतिष्ठान तथा विशिष्ट व्यक्तिको सु्रक्षा, प्रकोप उद्धारजस्ता कुल १ सय ८३ ओटा महत्वपूर्ण जिम्मेवारीहरु छन् ।

सरकारको ‘औजार’कोरुपमा रहने यो संगठन कानुनीरुपमै नागरिक प्रशासनअन्तर्गत् स्थापना र सन्चालन हुने भएको कारण नागरिकसँग धेरै हदसम्म यो एकाकार पनि छ ।

तर, तस्वीर सकारात्मकमात्र छैन । खासगरी प्रहरी संगठनले प्रवाह गर्ने सेवाको स्तर र चरित्रका कारण पछिल्ला दिनमा यसको आलोचना झनै बढेको छ ।

उच्चतहका दर्जनौं अधिकारीहरु अहिले पनि ‘सुडानकान्ड’मा मुछिएर मुद्दा खेपिरहेका छन् । भ्रष्टाचारका अन्य अनगिन्ति मुद्दाहरु चलिरहेका छन् भने पाइलैपिच्छे घुसखोरीका कुरा हुने गर्दछन् । अपराध अनुसन्धान, दोषी पक्राउ र कारबाहीमा त झनै बढी गुनासाहरु छन् ।

केहीलाई छोडेर धेरैजसो अधिकारीहरु विवादमा छन् । तल्लो तहमा पनि अवस्था त्यही छ । आमरुपमा शान्ति–सुरक्षा कायम गर्ने मामिलामा पनि यो कमजोर भएको गुनासो सर्वत्र छ ।

राजनीतिकरणको चर्को मारमा रहेको यो संगठनको स्वायत्ततामात्र हैन, व्यावसायिक क्षमतामाथिसमेत गम्भीर प्रश्न छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्