
पेशल आचार्य –
गत असोज ९, २०७३ को एक साप्ताहिकमा लेखक केशव दहालको विचारोत्तेजक ‘अब समुन्नत समाजवाद’ नामको लेख प्रकाशित छ । लेखले नेपालको सामयिक परिवेश सटिक शैलीमा विश्लेषण गर्दै भनेको छ –‘काँग्रेसको खैरो र उदास समाजवाद । कम्युनिष्टहरूको रातो र उदण्ड समाजवाद । यी दुवैको विकल्पमा समाजवादको चौथो धार, नीलो र समुन्नत समाजवाद ।’ नेपालमा अब यही आवश्यक छ ।अतिवादहरूको बिस्कुनमा समन्वयवादी चिन्तन भएको सो लेख कम्तिमा सबै सचेत नेपालीले एकफेर पढिदिए देशको बास्तविक झलक मिल्नेथ्यो ।
गगन थापा जुन हप्ता स्वाथ्य मन्त्री भए उनले पूर्व राष्ट्रपति रामवरण यादवलाई प्रोष्टेट गन्थ्रिको क्यान्सर उपचारका लागि अमेरिका जान पेस्की स्वरुप ६० लाख निकासा गरिदिए । त्यही हप्ता ‘दोलखा मालु गाविसका एक खड्का थरका युवाले दुवै मिर्गौला खराबी भएर उपचार गराउन उनकी आमाले सिरीखुरी जमिन बेच्ने निर्णय गरिन् । त्यो सुनेर रोगी शिक्षण अस्पतालको तेस्रो तलाबाट हाम्फालेर आत्महत्या गरे ।’ पूर्व राष्ट्रपति आफैँ विदेश जान उनीसँग स्रोत थियो । सन्तान काविल थिए तर देशसँग हात थापेरै मागे । उता एउटा होनहार युवा भने उपचार नपाएर म¥यो । कस्तो विडम्बना ?
केहीअघि दक्षिण भारतमा एक गरिबले अस्पतालमा मरेकी आफ्नी श्रीमतिको लाश घरसम्म लैजान अस्पताललाई हारगुहार गर्दा सहयोग नपाएपछि पचास किलोमिटर हिँडेरै यात्रा तय ग¥यो । समाचारमा जब ऊ छायो अनि स्थानीय प्रशासनले एघार किलोमिटरका लागि गाडी उपलब्ध गरायो । ‘मोदी’ राजमा यसले एक खम्भीर प्रश्न उठाउँदै भारतीय लोकतन्त्रको ‘थोपडा’ मा कालो पोती दियो । यु ट्युबमा करोडौं भिउवरले हेरे । लाखौले कमेन्ट र सेयर गरे । भलै गान्धीको ‘बपौति’ खाने मोदीलाई यसले कुरीकुरी लगाएन ।
सबाल मिर्गौला उपचार र शव वाहनको होइन । हामी ‘घुर्मैलो’ रङ्को लोकतन्त्ररूपि ढोंगको खोल ओढेर दक्षिण एसियामा कस्तो गणतन्त्रलाई आमन्त्रण गर्दैछौं भन्नेसम्म हो ? गरिबहरू सेटिङ्का आवरणमा चलेको गणतन्त्रबाटै आहत छन् । नेपालका केही परिघटनाहरूले सो निर्देशन गर्दैछन् । लोकमान र पुष्पकमलको कुरो त्यसै मिलेको होइन । मिलीभगत भएको हो ।
माथिका यी दुई घटनाले नेपाल र भारतको ‘सिण्डीकेटमय गणतन्त्र’ कुन शक्तिले कतातिर डोर्याउँदैछ भन्ने सपाट चित्र प्रस्तुत गर्दछ । तिनै गगन थापा हुन् जसले कुनै भाषणका सिलसिलामा ‘नेपाली काँग्रेसको अन्तिम लक्ष्य भनेको सत्ता प्राप्ति हो’ भनेका थिए । विश्लेषक केशव दहालको आलेखले सोही डरलाग्दो दृष्टान्त दिन्छ –‘नेपाली काँग्रेसको समाजवादको रङ खैरो र उदास छ ।’ काँग्रेसले भएभरको सबै काम ग¥यो तर बीपी बिस्र्यौ ।
काँग्रेस मात्र नभएर अहिले मुलुकका सबै (१३२ वटा जति) पार्टीहरूको अन्तिम लक्ष्य भनकै ‘सत्ता सुन्दरीको अकण्टक भोग हो । जनताका प्राथमिक आवश्यकताहरू भाँडमा जाऊन् ।’ यो लेख तयार पार्दाताक नेपालका दुई छिमेकी मुलुक भारत र पाकिस्तान युद्धका लागि आमनेसामने भएका छन् । पाकिस्तानका भूपू राष्ट्रपति परवेज मुसर्रफले त भारतका सामु मुहतोड जवाफ दिए –‘भारतले यो नसोचे हुन्छ कि पाकिस्तान नेपाल र भुटानजस्तो लाचार देश होइन । भारतसँग हामी जुनसुकै बेला युद्ध गर्न तयार छौं ।’
‘गतवर्ष दसैँताका नेपालले अन्त्यहीन सकसको नाकाबन्दी परेड’ खेल्यो । जसको ह्विसिल भारतको हातमा थियो । ऊ मदारी अभिनयमा र मधेशवादी दलहरू ‘बाँदर मुद्रा’ मा थिए । जेजे जस्तो भए पनि ओलीको बोली र अडानकै कारण नेपालको हल्लामय राष्ट्रवादले नेपालीलाई समग्र भारतको विपक्षमा एक ढिक्का भएर उभ्याएकै हो । भलै ओली शासनका अनेक गलत फेहरिस्त थिए । छन् ।’ नेपाली राजनीतिलाई मिहीन ढङ्गमा विश्लेषण गर्ने एक विश्लेषकको तीक्तमत छ ।
काँग्रेस प्रतिपक्ष हुँदा पनि नाकाबन्दीको सशक्त विरोध गर्न नसक्नु, एमालेले स्पष्ट वैदेशिक कूटनीतिक रणनीति अख्तियार गर्न नसक्नु, जनताले सत्तापक्ष र प्रतिपक्षका चरम लापर्वाहीलाई सडकमा ओर्लिएर विरोध गर्न नसक्नु र शनैःशनैः भारतकै स्वार्थमा मधेशी नेताहरूलाई बिरालोले मुसो खेलाएँझैँ खेलाएपछि नाकाबन्दी आफैँ खुकुलिँदै जानुले नेपालीलाई त्राण मिलेको थियो । अहिले गत वर्षको नाकाबन्दीको क्षतिपूर्ति गर्ने गरी कुनै आर्थिक सूचकाङ्कहरू वृद्धि भएका छैनन् । देश झन्झन् भास र अराजकतातिर जाँदैछ ।
नेपालले विगत् पच्चीस वर्षदेखि ‘लाचार कूटनीति’ को अभ्यास ग¥यो । यसमा नेपालका सानाठूला दलका सबै हाँचका नेताहरूलाई उसले कठपुतली बनाएको छ । मनमोहन सिँहको अल्पमतको सरकार र अर्को गठबन्धन सरकार उसकहाँ दस वर्षसम्म टिक्दा हामी कहाँ कहिले निर्वाचनका नाटकबाट, कहिले राजाका टीके प्रधानमन्त्रीको नाटकबाट दसौँ प्रधानमन्त्रीहरू फेरिए । ‘गाइडेड डेमोक्रेसी’ को रिहर्शलमा नेपाली नेता मख्ख मात्र भएनन् मुठ्ठीका माखा भए । त्यो हेक्का नेपाली इतिहासले आफ्नो सन्दुसमा राखेको हुनुपर्छ ।
नेपालको अर्को खराब चाल भनेको जहिल्यै पनि यो वा त्यो बहानामा कहिले आम चुनाव र कहिले स्थानीय चुनाव टार्ने काम मात्रै भयो । २०५४ सालदेखि अहिलेसम्म १९ वर्ष त्यतिकै भुत्लिए । स्थानीय निकायमा जननिर्वाचित प्रतिनिधिहरू चुनिएनन् । मिलीभगतले राज्य चलेकाले कसैलाई खाँचो पनि छैन । कर्मचारीले स्थानीय निकाय अकण्टक चलाइरहेका छन् । यतिखेरको आवश्यकता नयाँ संविधानको कार्यान्वयन र राज्यको पुनर्संरचना नै तौवातौवा भएको छ । भारत यो वा त्यो बहानामा संविधान कार्यान्वयनमा भाँजो हालिरहेको छ । देखावटी रूपमा भारतीय इच्छा मुताविक ‘काठमाडौँ निजगढ फाष्ट ट्रयाक’ देखिए पनि भारतका भित्री इच्छा अनेक छन् । ऊ नेपालका सबैखाले नदीमा आफू अनुकूल बाँध बाँधी नेपाललाई देखावटी रूपमा केही पानी र केही हिस्सा बिजुली दिएर बाँकी सबै लैजान चाहन्छ । बढ्दो आवादी र विकासको खाँचोका लागि भारत यतिखेर काकाकुल बनेको छ । जसका लागि ऊ आफ्ना छिमेकीहरूमा भित्रीबाहिरी दुवै रूपमा खेल्न चाहन्छ ।
उसलाई अबको आउँदो २ दसकभित्र करिब ४० हजार मेगावाट विद्युत्को खाँचो बिहार, युपी र अन्य प्रदेशमा भएको छ । यसका लागि ऊ नेपालमा भएका सबै पार्टीहरूमा सानोठूलो लगानी गरी कहिले पार्टीहरू फुटाउने, कहिले जुटाउने, सरकारलाई नौ महिना र वर्षदिनमा गिराउने खेल खेलिरहेको छ । नेपाली नेताहरूले कुरोको चुरो नबुझेसम्म वा बुझेर पनि बुझ पचाइरहेसम्म जनताले सुख पाउने निश्चित छैन । युवापुस्ता पढेको र काबिल छ । उसको सुनवाइ नै छैन । पुराना ढर्राका नेताहरू जबसम्म ‘बूढो गोरुले कोरली’ ओगटेझैँ सत्ता क्रीडाकेली गर्दै सम्भोगरत हुनेछन् तबसम्म नेपालमा संसारकै अब्बल भनिएको संविधान भए पनि देश बन्नेवाला छैन । व्यक्ति जोसुकै होस् जनतालाई मतलव छैन मात्र प्रवृत्ति फेरिनुप¥यो । झट्टै त्यो हुनेवाला छैन ।
माओवादी जनतालाई ‘जातीयताका ललिपप’ चटाएर सत्तामा पुगी ढलीमली गर्दैछ । काँग्रेसको चाहिँ सुदूर सपना छैन । उसले उसका महामानव बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई बीपीको अस्तुसँगै उहिल्यै बाग्मतीमा बगाइसक्यो । एमालेको लक्ष्यै स्पष्ट छैन । बाबुराम भट्टराईले त विगत्मा एमालेलाई ‘लिङ्ग पहिचान नभएको’ भन्ने आरोप लगाएका थिए ।
हरेक क्षेत्रमा ‘सिण्डीकेटिजम्’ व्याप्त छ । प्रशासनमा अदक्ष र चन्द्र शमशेरकैै पालाका मानसिकता भएका मानिसहरू विराजमान छन् । तिनका हुक्के, बैठके र ढोकेहरूको काम गराइको ताल तीन र तेह्रको देखिन्छ । शिक्षित हुन् या अशिक्षित मानिस दिन दुगुना रात चौगुना नेपालबाट पलायन भैरहेका छन् । नेपाल अब बूढाबूढी र केटाकेटीहरूको आश्रित देशमा परिणत भयो । कृषि प्रधान मुलुक रेमिट्यान्स प्रधान हुनुु, रेमिट्यान्सको पनि धेरै हिस्सा खानेपिउने, मोजमस्ती गर्ने र घरजग्गा तथा सुनाचाँदीमै लगानी हुनुुले भविष्यमा कुनै राष्ट्रिय स्तरका महाविपत्तीहरू नेपाललाई आइलागे भने नेपाल झिरिप्प भएर मक्किएको घर ढलेझैँ नढल्ला भन्न सकिन्नँ । प्रकोप व्यवस्थापनमा ‘हनुमानजी’ गुहार्नुबाहेक हामीसँग केही छैन ।
संविधान कार्यान्वयन साथै नेपालले अब वृहत् राजनीतिक सहमतिका माध्यमबाट दस, बीस, तीस र पचास वर्षका विकासे गोलहरूको ‘अर्जुनदृष्टि’ तय गरेर नहिँडे भविष्यका पिँढीले नेपाल भन्ने देश यस्तै सग्लो रूपमा देख्न पाउलान् भनेर नचिताए हुन्छ । अहिले फेसबुकमा एउटा स्टाटस भाइरल भैरहेको छ –‘काँग्रेस र प्रचण्डजस्ता शासकहरूले पाँच वर्ष नेपाल चलाउने अख्तियार पाउने हो भने नेपाल भन्ने शब्द विश्व मानचित्रबाट नभएर गुगलमा सर्च गर्दा पनि नभेटिन सक्छ ।’ जसले पोष्ट गरेको भए पनि यसले भावी नेपालको सम्भावना र वर्तमानका ‘लेण्डुप प्रवृत्ति’ का नेताहरूको रवैयालाई सटिक व्यङ्ग्य गरेको छ । माथि उद्धरण गरिएको केशव दहालको लेखको मजबुन पनि त्यही हो । सत्ताको राप र तापमा सेकिएका पावरवाला जुँगाहरूलाई तातो लागोस् । देश ओरोलोमा द्रूतत्तर गतिले झर्दैछ । कहाँ पुगेर रोकिन्छ या रोकिँदैन ? के ठेगान् !
प्रतिक्रिया दिनुहोस्