८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गोवामा दाहाल–जिनपिङ भेटवार्ता हुने


0
Shares

काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ ।

ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल असोज २९ गते गोवा जाँदैछन् । त्यही दिन चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता तय भएको हो ।

प्रधानमन्त्री भएपछि दाहालको चिनियाँ राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो ।

‘प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोवामा २९ असोजमा साइडलाइन वार्ता हुने तय भएको छ,’ परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार सञ्चारकर्मीसँग भने, ‘दुईपक्षीय हितको विषयमा छलफल हुनेछ ।’

चीनका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणका बारेमा कुटनीतिक च्यानलमा छलफल चलिरहेको छ । ब्रिक्स र बिमस्टेकको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहालसहितको टोली गोवा जानेछ ।

त्यहाँ अन्य मुलुकका उच्चस्तरीय नेतृत्वसँग पनि भेटवार्ताका लागि पहल भइरहेको परराष्ट्र श्रोतले बताएको छ । –नयाँ पत्रिका दैनिकबाट